कुरो गतमाघ दोस्रो हप्ताको हो । जाडोको याम सकिएको थिएन । भर्खर जाडोको याम विस्तारै-विस्तारै फाट्ने क्रममा थियो । मान्छेलाई घाम प्यारो लाग्न छाडेको थिएन । यसैक्रममा एउटा साहित्यिक कार्यक्रममा प्रमुख अतिथि बनेर इटहरी र्झने मौका मिल्यो । हुन त त्यो सुनसरी जनसांस्कृतिक महासंघको जिल्ला सम्मेलन रहेछ । सबै प्रगतिशील स्रष्टा सर्जकहरूका साझा छाता संगठन भनिए तापनि त्यहाँ कुनै पार्टीविशेषका स्रष्टा सर्जकहरूलाई मात्र महत्त्व दिनुले यो संगठन त्यति बलियो बन्नसकेको छैन । एउटा स्वतन्त्र स्रष्टाको हैसियतमा गरिएको मूल्यांकन हो यो ।
आखिर सम्मानपूर्ण ढङ्गले बोलाइएको ठाउँमा उपस्थित हुन सक्दिन भन्न त सोभनीय कुरो थिएन । त्यसैले झमक घिमिरे साहित्य, कला प्रतिष्ठानका अध्यक्ष्ा गोपाल गुरागाईं, सदस्यद्वय देवीबहादुर श्रेष्ठ र मीना घिमिरेका साथमा गएकी थिएँ ।
हामी धनकुटाबाट मूलधार, भेडेटार हुँदै धरान, इटहरी झरेका थियौं । मलाई इटहरी धेरै आत्मीय लाग्छ । किनभने इटहरी झर्दा मलाई आफ्नै घरआँगनमा छु भन्ने भान हुन्छ । त्यसो त मलाई विराटनगर, काठमाडौं पुग्दा पनि त्यति खल्लोपनको आभास हुँदैन । किनभने म जहाँ जान्छु, जहाँ पुग्छु, त्यहींको माया र आफ्नोपन साट्छु र त्यहीं रमाउँछु । त्यस्तै इटहरीको आत्मीय स्वागत मैले धेरैपटक चाखिसकेको छु । यता झर्दा मैले दाजु बद्री विशाल पोख्रेल, मनु मञ्जिल, खेम नेपाली, कृष्ण विनोद लम्सालजस्ता अग्रज स्रष्टाहरूको मीठो साहित्यमा खेल्न पाउँछु ।
यसपालि इटहरी झर्दा स्वादिष्ट भोजन दिएर, आत्मीय व्यवहार गर्ने अंकल लेखनाथ घिमिरेलाई पनि मैले यहाँनेर सम्भिmनुपर्छ । जसको घरमा बसेर शीतल हावाको साथमा आत्मीय व्यवहारभित्र रमाएँ । म औपचारिकतामा भन्दा अनौपचारिकतामा रमाउने मान्छे । मान्छेको व्यवहार उसको रूपरङ्ग अनौपचारिकतामा नै छर्लङ्ग हुन्छ । त्यही मलाई मनपर्छ । त्यही कार्यक्रममा मिसाएर यो पंक्तिकारलाई पनि नेपाल बुद्धिजीवी परिषदले अभिनन्दन गर्ने योजना बनाएको रहेछ । कस्तो अचम्म थाहै थिएन । सायद सरप्राइज दिएको होला । एक किसिमको आनन्द लाग्यो । त्यही कार्यक्रममा मेरो भेट वियोग सापकोटासँग भयो । मैले धेरै नाम सुनेका व्यक्ति उनी हुन्, तर भेट भएको थिएन । उनी पनि त्यो कार्यक्रममा आएका रहेछन् । उनको शारीरिक अवस्था कमजोर थियो । उनी राम्ररी अडिएर बस्न पनि सक्दारहेनछन् । शरीरका कुनै अङ्ग पनि सन्तुलनमा राख्न सक्दारहेनछन् । उनलाई मञ्चमा बोलाइएपछि उनीसँग आएका साना भाइको सहयोगले मरितरी कुर्सीमा बसे ।
शरीरले कमजोर भए पनि उनी विचारले सशक्त, जीवनवादी विचारका दह्रा अनुयायी, सिर्जनामा सशक्त स्रष्टा । उनलाई देखेर गलल हाँसे । मैले मनमनै सोचेँ, उफ ! यो मान्छेको दुनियाँलाई हाडछालामात्र राम्रो भए पुग्दोरहेछ । हुन त मान्छेले बाहिरी हाडछाला नै त हेर्छ । उसको रूपरङ्गमात्र हेर्छ । दुनियाँ त्यसैको पछि लाग्छ । जसलाई सौन्दर्य भन्ने ठान्छ । त्यो वास्तवमा मान्छेको स्वरूपमात्र हो । सौन्दर्य होइन । सौन्दर्य त भित्र हुन्छ । जो मान्छेको व्यवहारले मात्र बुझिन्छ, देखिन्छ, जसलाई दुनियाँका मान्छेले हत्तपत्त बुझ्दैनन् । त्यसैले त वियोग सापकोटालाई देखेर मान्छेका अनुहार हाँसे, समाज हाँस्यो । दुनियाँ हाँस्यो । तर त्यही समाज र मान्छेका हितमा बोल्दैछन् । वियोग सापकोटाका सिर्जनाहरू चल्दैछन् कलमहरू । उनलाई मनमनै सलाम गर्दै फर्किएँ म धनकुटा । इटहरीले मलाई आत्मीय विदाइ गर्यो । फर्किंदा-फर्किंदै मनमनै भनेँ- ‘गुडवाइ इटहरी, फेरि भेटौंला ।’

झमक घिमिरे नेपालअकै हेलेन
झमक घिमिरे नेपालअकै हेलेन केलर हुन, उहाँको आत्माकथा आधाउधी भएपनि पढ्न पाएको छु, साह्रै दर्दनाक समयकी एउटा कहानी हुन झमक, हेलन केलर ले त शिक्षा पाईन, तर झमकको जिबनमा ,,,,, म उहाँको सदा सदा सम्मान गर्छु, उहाँको रचनाहरु कुनै काल्पनिक्ताको रेखाचित्र नभै वास्तविकताको पर्दाफास हो, मैले सक्दो खोज्दै उहाँको लेखरचनहरु पढ्छु सबै यथर्थ र बोझिलो कहानीको उपमा हुन्छन।