Skip to content


दियो सास्ती यस्ले सबजन त्यहीँ ताडित थिए ।
हुने छैनन् खुल्ला दिनदिन सधैं आकुल भए ।।
उठी हुन्थ्यो कैल्यै सुख ? न त बसी नै हुनगयो ।
कुजो भै बस्ता झैं हल न चलको आसन भयो ।। १।।

भयो बन्दा बन्दी सडक सब नौलो हुन गयो ।
न गुड्दैथे गाडी न त लहर मान्छे हुल अहो
कतै बोक्थे झण्डा अझ त कति डण्डा पनि थिए ।
अहो ! सल्क्यो आगो, सडक भर पुल्ठा पनि बले ।। २।।

मधेशीको कैले नियमित पहाडी पनि कति ।
सुदुर् पश्चिम् कैले सहज छ त यो जीवन गति ?
उता कर्णालीको सहज सब बन्दै हुन गयो ।
यता लिम्बूवान्को असर सबमा बन्द थपियो ।। ३।।

सबैको आ—आफ्नै तय र लयमा बन्द हुन गो ।
गरेका हुन् यस्तो अतिसकस बन्दा किन अहो !
भए स्वार्थी नेता गजब सित ती कुर्लिन पुगे ।
अहो ! तिन्ले यस्तो सकस सबमा यो किन दिए ? ।।४।।

२०७२ । ४ । २३
काठमाण्डू
छन्द :- शिखरिणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *