छुटेकी प्रेमिका


मलाई निकै उकुश-मुकुश भइरहेको छ। तीस वर्षसम्म बिताएका स्वतन्त्र पलहरू अब हरण हुदैँछन्, बाटोमा कुनै सुन्दर युवती देख्दा मुस्कुराउँदै टोलाउनुको सट्टा आँखाहरू भुँईको धुलोमा गाडेर हिड्नुपर्ने लाचार विवशताले मलाई अंगाल्दै छ। हो…मेरो बिहे हुदैछ र म दुलहिको घरमा मण्डवरुपि जेलभित्र कैद छु।

“ल अब जुठो खाने!” – कोही बोल्दैछन्। पण्डितलेनै भने कि अरु कसैले भन्ने मैले भेऊ पाइन।

एउटी स्त्री घुम्टो ओढेर मेरो छेउमा निहुरिरहेकी छे । मलाई जवर्जस्ती बन्दनमा पार्ने त्यो युवतीको अनुहारसम्म पनि हेर्न मन छैन मलाई! यत्राको जुठो-चोखो!

“अब जमाना फेरिसक्यो! ल आज अस्मीले भेनालाई जुठो खुवाइदिने!”

बेहुलीकी कुनै नखरमाउली साथी होली! मैले लख काटेँ!

नभन्दै छेऊमा सजिएकी स्त्रीको हात मेरो मुखतिर सोजियो।

“आँ गर्!” – छेऊबाट दाइले घच्घचाए।

“बिहे पनि जवर्जस्ती गरिदिए अब गुलाम पनि बनाइदिनेभए!” म मनमनै मुर्मुरिए! तैपनि फिस्स हाँसे – “आ…!”
मैले टाउको उठाँए। मण्डपको पारिपट्टि सानो छोरा काखि च्यापेर रोजी मलाई हेर्दै जिस्काइरहेकि थिई।

छ्या कस्तो लाज लाग्यो! म फिस्स हाँसे!

***

“कुकुर्नीले फेरि आज ओक्ष्यानमा मुतिछ।”- रोजीकी आमाले छोरीलाई जिस्क्याउँदै बरण्डामा थाङ्ना सुकाइन्। रोजी छेवैमा घोसेमुन्टो लगाएर बसिरहेकि थिई बुढिका नरज पल्लो घरको छतमा हाँसिरहेको म’मा परे – “हेर त अभिले कहिल्यै बिस्तरामा पिशाव फेर्दैन।”… म गमक्क परे! मेरो अगाडि बेईज्जति भएपछि कट्टु नलगाउने केट्केटी भएतापनि रोजी लजाउँदै भित्र दगुरी!

खेल्न जाँदा छिमेकका अल्लि ठूला दाइ-दीदीहरूले हामीलाई जिस्क्याउदथे – “ओई अभी! तँ रोजीसँग बिहे गर्छस्?”

“नाई! गर्दिन त्यस्ती मुट्टुवाइसँग!”

“ल्याक्टो मिठाई दिन्छु नि बिहे गरिस भने! गर्छस्?”

म टाङ्गमुनि हात च्यापेर घोसेमुन्टो लगाउँदै सानो स्वर निकाल्थेँ – “अँSSS”

रोजी फेरि लाजले राति हुँन्थी।

तलाइँ छुचा भन्दै कसैन-कसैले मलाई ल्याक्टो दिन्थेँ। रोजीले पनि पाँउथी!

खेलेर फर्किने बेला रोजीले रुन्चे पारा देखाँउदथि – “म तसँग बिहे गर्दिन क्यारे!”

“तेसो भए आधा ल्याक्टो मलाई दे…” मैले फाईदा उठाउथेँ। पाँच-दश मिनेट मुखभित्र च्यापिराखेको चकलेट टोकेर ऊ आधा मलाई दिन्थी।

“ठूलो आधा दे!”

“अङ्ग!”

“तेसो भए खुवाईदे!” – म आँखाँ चिम्लेर मुख खोल्थेँ, उसले खुवाइदिन्थी।

***

आहाँ! त्यो बेलाको ल्याक्टो आजको कथित मिष्ठान्नभन्दा धेरै स्वादिष्ट थियो। लाग्न थाल्यो कि रोजीको त्यो जुठोले एउटा छुट्टै स्वाद थपिदिन्थ्यो अनि झनै पवित्र तुल्याइदिन्थ्यो। छि: आज बेहुलीले खुवाएको… मलाई बान्ता आउला जस्तो भो…!

“छोरा! रोजीसँग बिहे गर्! तलाई पनि मन पराऊँछे। राम्रोसँग चिनेकि केटी…अनि राम्री पनि छे। बाऊ-आमाले बिहे पनि गराइदिन खोजिरहेका छन्।“ – म चौबिस वर्ष पुग्दा-नपुग्दै आमा कर गरिरहनुहुन्थ्यो।

“गर्दिन त्यस्ती मुत्तुवाइसँग!” – तोते बोली ढोटे भइसकेको भएतापनि रोजी र मैले एकअर्कालाई सम्बोधन गर्ने शब्दहरू उस्तै नै थिए।

केही महिनामै रोजीको बिहे भयो। जन्तिले ल्याएको बाजामा मैपनि खुबै नाचेको थिँए।
म बल्ल झस्किँए जब जन्तिसँगै बेलुकि रोजी पनि गई। म सधैँ जिस्किने र हाँस्ने मेरी साथी अब मेरासामु थिइन। सबैको मिलेमतोमा उसको अपहरण भयो।

त्यसपछि पैसाको सपना पुरा गर्न म खाडी उडेँ। बिचमा एकफेर घर आएको थिएँ। बुबा-आमाले मेरो बिहे गरीदिन धुँईपत्ताल लगाएर केटी खोज्न निस्कनु भो! तर अँह… मैले टेरिन!

अब त उमेरलेनै नेटो काटिसक्यो, नाइनास्ति गर्न पनि कसै सकिएन। केटी पनि एउटै चित्त बुझ्ने होइन।

“अस्मीना भनेपछि दुनिँयाले मन पराएकी केटी हो। राम्री, खान्दानी अनि चुलो-चौको सबै जानेकी! आजकल को पाइन्छन यत्तिका?” – मलाई बिहे गर्न कर लगाउने हरेकका मुखबाट यस्तै सुन्ने गर्दथेँ म! हुन पनि राम्री नै थिई। तर खै… रोजीको बिहे भएदेखिनै मलाई बिहे-बन्धन भन्ने कुराहरू आँतदेखि नै मनपर्न छाडिसकेका थिए। तैपनि मैले बाध्य भएर भनेको थिए – “हुन्छ! म बिहे गर्छु!”

रोजी बच्चाको कपाल स्याहार्दै अँझै हाँसिरहेकी थिई।

आहाँ! कस्ति राम्री देखिएकी मुत्तुवाई!

म मनमनै सोँच्दैछु – मैले रोजीसँग बिहे गर्दिन भनेको बेला कोही आइदिएर सोधिदिएको भए हुने – “ल्याक्टो मिठाई दिन्छु नि बिहे गरिस भने! गर्छस्?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *