Skip to content

‘जोरायलका चण्डेश्वर, (शार्दूलविक्रीडित छन्द)

यो हो द्वापर कालको शिव शिला – फुट्लिङ्ग प्राकृतिक,
गर्थे प्राचिन चण्डकौशिक ऋषी – आफ्नो तपस्यादिक–
यी हुन् रक्षक लोकका सकलका – संहारकर्ता पनि,
छन् है साम्ब र पार्वती सहितका – ती सिद्घि दाता यिनी–
।।१।।
जोरायेल हुँदा जलाशय अघी – क्यै थ्यैन बस्ती जव,
खोले पाण्डवले जलाम्य नगरी – ठूलै गरी पौरख–
बस्ती योग्य भयो धरातल यहाँ – मारी जरासन्ध त्यो,
साँक्षी स्कन्द पुराण बोल्छ अघिको – घट्ना सवै सत्य हो–
।।२।।
चन्कट्टे निर खेत जोति रहँदा – फाली हलाको गड्यो,
जम्मै रक्त प्रवाहभै धरणिमा – राताम्यता झन् बढ्यो–
सोध्दा ज्योतिष देवताहरु सवै – भन्थे नि चण्डेश्वर,
यिन्को शक्ति अपारनै छ – यसमा शङ्का नमान्नू नर–
।।३।।
ज्वालादेवि बसेकि छिन् शिखरमा – दुर्गा भवानी यिनी,
श्री चण्डेश्वर छन् त्यही सतहमा – यी सौम्यताका धनी–
जोरायल सदाछ रक्षित यहाँ – चण्डेश्वरैका सित,
बग्छन् कर्म निकृष्ट मानव भने – यै कर्मनाशा सित–
।।४।।
– निर्मलकुमार भण्डारी
अत्तरिया, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *