आशीर्वाद छ बाबु
पिर नगर बाबु,
जे छ हामीलाई नै छ
सायद हाम्रो पिरमाथि पिर थप्नका लागि होला
यो कुबेलामा पनि अन्नपात थन्काउने बेलामा
बादलले हामीलाई विनासकाे अभिषेक छर्कंदै छ
देशमा कतै महामारी त कतै भोकमारी खर्कंदै छ
आफूमाथि विश्वास नभएर होला
आजको मान्छे आफूबाट आफैं पर पर तर्कंदै छ
उत्तर दिन कसैले सक्या छैन
नारायणहिटी, दासढुङ्गा, भन्डारखालहरुबाट
अझसम्म पनि न्याय पाऊँ भन्ने
प्रतिध्वनि धर्कंदै छ
देशका तिमीजस्तै युवकहरुको अवशेष
बाक्साबन्दी भएर विमानबाट दिनहुँ फर्कंदै छ
खै के भनुँ र बाबु,
बेचिएका तिम्रा दिदी बैनीहरुको कम्मर
मुम्बई, कलकत्ता र दिल्लीका खोपीहरुमा मर्कंदै छ
तिमीहरुले देशको अर्थतन्त्रमा धोका दिन लाग्यौ अरे
यसैले यताको सरकार तिमीहरुसँग ततर्कंदै छ ।
अझ हाम्रो देशको गाँठी कुरा गर्ने हो भने ता बाबु
कहिले उत्तरतिर त कहिले दक्षिणतिर फर्कं्रदै छ
सुखशान्तिका दिन अझ पनि नेपालमा टाढै छन् बाबु,
तिमी अब अरुको मुलुकमा नबसी फर्कन्छु भन्छौ
तर मेरो भने छाती भने डरले चरक्क चर्कंदै छ
अझ कहाँ त्यति मात्र हो र
विमानस्थलमा ओर्लनासाथ लुटिन्छौ तिमी
यसले ता झन् मेरो मुटु थर्कंदैछ ।
छाती चर्कंदैछ, मुटु थर्कंदैछ ।
