संविधान लेखिदिनू है !

  • by


कहिल्यै, कहिल्यै पनि
अभावबिनाको जीवन नदेखेका
मेरा पुर्खाहरू जिजुबाजे र बराजुहरू
जो सधँै
तिम्रै हलो जोत्दाजोत्दै
रगत छादेर मरे वा गानो दुखेर मरे
त्यसैले पनि गुनको बदला गुन
मुखिया हाम्रा छोरानातिले
सुख पाउने संविधान लेखिदिनू है !

हाम्रा अबोध जीवनमा
कहिल्यै भारी हटेन
कहिल्यै कहिल्यै पनि
हामीले पसिना नगन्हाएको
शरीर बोकेर हिँड्न पाएनौँ
सधैँ तिम्रै घरको सेवा गर्दागर्दै
कतै गाईगोठाला गर्दै
कतै खेतबारी र मलभकाराहरूमा
मेलापातहरूमा
हाम्रा जिजुआमा, बजै र आमाहरू
पाठेघर खसेर मरे
वा महिनौँ थला परेर मरे
त्यसैले पनि गुनको बदला गुन
अब हाम्री छोरीहरूलाई पनि
पढ्न पाउने संविधान लेखिदिनू है !

इतिहास भनेर कहाँ सकिन्छ र विष्ट !
इतिहास लेखेर पनि त नसकिने रै’छ
खोतल्दै जाँदा
तिम्रा बाउद्वारा बलात्कृत
मेरी आमाको सन्तान त हुँ म
त्यस्तै तिमीले पेट
बोकाएकी जुठी सर्किनीको छोरो
जसले तिम्रो छोरोको झैँ हैसियत
पाउन सकेन
तर, हाम्रो नाता प्रमाणित गर्ने कानुन छैन
त्यसैले बल गरेर भने पनि
त्यस्तो कानुन बनाउनु है !

सन्तान दरसन्तान
तिम्रै भोगविलासका साधन भए
हाम्रा भाउजू आमाहरू
पुस्तौँपुस्ता
तिम्रै खेताला भरिया र हली भए
हाम्रा बाबु र दाजुहरू
तिमीले सबै सबै लियौ
हामीले पनि सबै दियौँ
त्यसैले त विष्ट गुनको बदला गुन
तिमीलाई आनमासी बुझाउँछौँ
ढ्याके ब्याज पनि तिर्दै रहुँला
तर, यसपालि चाहिँ
हाम्रो घरमा हाम्रै हक लाग्ने
संविधान लेखिदिनू है !

नेपाल साप्ताहिक ३२८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *