Skip to content

हाइकुको संक्षिप्त परिचय …

हाइकु लेखन जापानी लघु काव्यविद्या हो। हाइकु कविताको आदिकवि भनेर कवि मात्सुओ बासोलाई भनिन्छ। प्रकृति र ऋतुहरुको सन्दर्भ एवं संकेतहरु उल्लेख गर्दै जीवन दर्शनको चेतनामुलक सन्देशहरु दिन ५-७-५ को संरचनामा १७ अक्षरमा हाइकु लेखिन्छ । थोरै शब्दमा लेखिए पनि त्यसको अर्थ खोज्दै जाने हो भने एउटा उपन्यास बराबर नै हुन्छ।

नेपाली हाइकु लेखन साहित्यमा कलम चलाउँन इच्छुक, कलम चलाइरहनु भएका अग्रजहरु साथै साहित्यलाई माया गर्ने हामी सबै साहित्यप्रेमीहरुलाई लक्षित गरेर हाइकु आयातित विद्या भएपनि नेपाली भाषामा पनि शुद्ध हाइकुहरु सिर्जना गर्न सकियोस् भन्ने इरादाले हाइकु सम्बन्धी यो छोटो लेख तयार गरेको छु । आसा छ, पाठक वर्ग साथै चिन्तनशिल जमातको निम्ति यो लेखले हाइकु सम्बन्धी खोज र अनुसन्धान गर्नलाई केही न केहि सहयोग गर्नेछ ।

हाइकु लेख्ने तरिका:

१) तीन हरफमा रच्नु पर्दछ ।
२) पहिलो हरफ ५, दोस्रो ७ र तेस्रो ५ अक्षरयुक्त शब्द/ शब्दहरुको चयन गरि जम्मा १७ अक्षरमा लेखिन्छ।
३) ऋतु (किगो) बोधक शब्द चयन गर्नु पर्दछ,।हाइकुमा प्रकृति स्पन्दन हुनु जरुरी छ। प्रकृति स्पन्दन नभएको रचनालाई हाइकु नभनी सेन्र्यु भनिन्छ।
४) हाइकु ओझिलो र बोझिलो हुनुपर्छ । ५, ७, ५ को संरचनामा अक्षरहरुको शब्दजाल बुन्दैमा गहकिलो एवं सुन्दर हाइकु बन्न सक्दैन । त्यसैले अध्ययन र चिन्तन अति नै जरुरी कुराहरु हुन ।
५) हाइकु थोरै शब्दहरुको माध्यमले धेरै भाव प्रकट गर्ने विद्या भएकोले हाइकुमा जीवन दर्शनको अथाह खालिपना हुनुपर्दछ । जहाँ पाठकले सम्भावनाको फराकिलो क्षितिजहरु नियाल्न सकुन् ।

उदाहरणको लागि एक दर्जन हाइकु:

आरुले फुल्न
पैयुँले सिकाएन
अस्तित्व आफ्नै

चिसो मौसम
च्याब्रुङको आवाज
गुन्जिदिन्छ झन्

भीरको बाटो
पानीले नरोजे त
झर्ना हुँदैन

आरुको फूल
ओइलेर नझरे
आरु फल्दैन

तमोर नदी
कन्चनजङ्घा हाँस्दा
सलल बग्यो

चित्रोको घर
रात बल्ल सकियो
उस्तै छ दिन

माटोमा फेरी
मान्छेको रगतले
पप्पी नफुलोस्

शीतको थोपा
ढुक्कै लज्जावतीमा
जमेर हाँस्छ

अगौटे धान
दशैं अघि नै सुकोस्
नपरोस् ऋण

काँडा बोकेर
सुक्खा मरुभूमिमा
क्याक्टस फुल्छ

मिलेर फुल्दा
गुराँसको नि बन्छ
रातो हिमाल

पुर्नु हुँदैन
हाइकुको निहुँमा
तिलिचो ताल

धन्यवाद !

चाँगेः ५, ताप्लेजुङ
हालः सिङ्गापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *