Skip to content


विदेशी जिन्दगी, दिनभरिको भारी बोकाइबाट थकित भएर घर आईपुगे। भोको पेट, एक्लो जिन्दगी, अनि भीडभित्र हराएको म! हरेक दिन नयाँ सपनाको महल बनाउदै, बागहरूको कल्पना गर्दै ढल्किन्छु। सदा झैं सात समुद्रपारिबाट मायालुले मेसेज पठाउछिन्: “आइपुग्नु भो?”

“आइपुगेँ”, छोटो उत्तर दिन्छु।

मेरो कथा मेरो गाथा बुझाउन थाले भने उसलाई पीर पर्छ भन्ने सोच छ। किनभने जिन्दगीका कति वेदनाहरू उसलाई खुलेर भन्न सक्दिन म। खुलेर भने भने पनि उसले त्यो बुझ्न सक्दिन, मलाई थाहा छ। किनभने कति कुराहरू भोगाईले मात्र बुझाउछ। विदेश: मान्छेको कल्पनामा ठुला ठुला महल, सुन्दर ठाऊहरू, सुबिधा र मस्ती, यही छ सायद। तर, वास्तविक्ता अर्कै छ। दु:ख, एक्लोपन, र यो खडेरी। कस्तो खडेरी म आफै बुझ्न सक्दिन। सायद हरेक कुराको। मायाको, अपनत्वको, पैसाको। यहाँ वाच्ने आधार सपना हो, त्यही सपनालाई सजाउदै दिन कटाउदैछु।

“सुन्नु न!”, उसले लेखी। “अँह भन”, मैले फेरि छोटो उत्तर दिए। “एउटा कुरो सोध्नु थियो, फेरि रिसाउनुहुन्छ होला?”। कुरै नबुझी रिसाउने कुरो पनि भएन। “के कुरो हो?” सोधे मैले। “कतारबाट एउटा साथी आएको छ, थोरै थोरै मन पराउछ, कफी खान बोलाउदैछ, जाऊँ कि नजाउँ”? “जाऊ भनौ भने”, कसरी जाऊ भन्नु, लोग्ने मान्छेको मन। “नजाऊ भनौ भने”, कसरी नजाऊ भन्नु, साथी भेट्न। प्रश्न सोध्नु नै किन?

“तिम्रो जे मर्जी छ गर, भेटने इच्छा भए भेट, नभए नभेट”, यही लेखे। जिन्दगीमा सबै कुरा सोधेर र भनेर साध्य पनि हुदैन, किनभने मान्छे अनुसारको विचार र सोच फरक पर्छ। उसले लेखी “म चही बिहे गर्ने मान्छेलाई भनेर सबै कुरा सोध्छु, के काम गरौ भनेर सोध्छु, के गर्दा राम्रो हुन्छ भनेर सल्लाह गर्छू, उसकै सपना देख्छु, ऊ चही “तिम्रो जे मर्जी गर” पो भन्छ”। भोको पेट र खाली दिमागका शिरा र धमनीहरू सल्बलाए। “के यस्तै यस्तै भोग्न प्रेम गरे त मैले?” दिमाग फिनिनी घुम्यो। “जसरी तिमीलाई के खाने र के लाउने भनेर मलाई सोधी राख्नु पर्दैन, त्यसरीनै आफ्नो जिन्दगीमा के गर्ने, कोसँग भेट्ने, आफै निर्णय गर”। उसलाई पुगी गयो!

हरेक दिनको खडेरी त तुसारापात माथि, अर्को खडेरी थपियो! लोग्ने मान्छे र स्वास्नी मान्छेको मन, र सोच सायद हामी दुई बीचको दुरीझै निकै फराकिलो छ सायद। यस्तै यस्तै सोचमा, पेट हुडलियो, दिमाग घुम्यो, र ग्रसित मन लिएर म, मुढोझै लडे! भोलिको दु:ख र वेदना त फेरि आफ्नै हो! मन सम्हालन गार्हो छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *