Skip to content


धेरै समय पछि, लगभग पाँच वर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ । सुन्दरताले चकमन्न मेरो गाउँ । जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ । तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरू रोपेको थिएँ । त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु । त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जीविका चलाएका थिए मेरा पुर्खाहरुले ।

तिनै सुन्दर मेरा जन्मभूमिमा फर्कदै गर्दा मेरो मनमा छुटै उल्लासले भरिएको थियो । झन त्योभन्दा बढी त आमाबा र आफ्ना प्राण प्रियालाई भेट्न पाउने खुसीले मन प्रफुल्लित भएको थियो । गाउँलाई चिर्दै जाने मोटोर बाटो चौडा बनाउने काम हुँदै रहेछ त्यसैले मोटोर तल बजारसम्म मात्र जाँदो रहेछ । बजारसम्म मोटोरले पुर्याए पछि त्यहाँबाट घरसम्म हामी हिन्दै जाने भयौँ ।

वर्षायामको समय भएर होला । आकास धुम्मिएर पानी पर्ला जस्तो देखिन्थ्यो भने कामको ब्यस्तताले होला सधैं जस्तो मानिसको चापले भरिने बजार अलिका सुनसान जस्तै देखिन्थ्यो । बजारका पसलका ढोकाहरू पनि अधिकाम्सा बन्द देखिन्थे । हामी अलिका परा कुनाको होटलमा पसेर खाजा खायौँ र उकालो लाग्यौँ आफ्नै प्राण भूमितिर ।

मोटोर बाटो चौडा बनाउदा फालिएका ढुँगा, माटोले गोरेटो बाटोहरू अलि असहज र अपठ्यार बनाइदिएको रहेछ त्यसैले हामीले मोटोर बाटो हुँदै जाने भयौँ । मोटोर बाटो साँचै कति फराकिला र राम्रा बनाएछन् । त्यही मोटोर बाटो हुँदै जाँदै गर्दा मलाई बल्याबेलाको याद आयो ।

हामी मोटोर चढ्न भनेपछि हुरुकै हुन्थ्यौँ । मोटोरका मान्छेहरू पनि दयावान हुन्थे र हामीलाई मोटोरमा राखेर सधैं जसो बिदाका दिनहरुमा तल बजार ल्याएर छोडिदिन्थे र हामी अर्को मोटोरमा चढेर पुन: फर्कन्थ्यौँ । प्रया: स्कुल बिदाका दिनहरुमा । ती दिनहरुमा मोटोर बाटो त्यति राम्रो थिएन । मोटोरले हिनेर बनाएको लिगबाट वर्षमासमा पानीका भलहरू बगेर खोपिल्टा हुन्थे भने बाटो पनि धेरै बिग्रेको हुन्थ्यो । मोटोरमा चढ्दा त्यो बाटोकै कारण खुब उफार्थ्यो र हामी तिनै उफ्रिन पाउनुको मजाले मोटोर चढ्थ्यौँ र बजार आउथ्यौँ । अन्य यात्रुहरू भने सरकारलाई गाली गर्दै के के भट्याउथे । हामी भने झन खुब खुसीले चिच्याउथ्यौँ मोटोरले बजार्दा ‘आईया । ‘ सङ्गै हिनिरहेका साथीबाट थाहा पाएँ बिदेशी सरकारले बाटो बनाएको रहेछ । ऊ गाउकै स्कुलको शिक्षक हो । स्कुलको विशेष कामको कारण सहर गएको रहेछ सङ्गै फर्कदै थियौँ ।

लगभग आधा घन्टाको उकालो चढेपछि हामी हाम्रो गाउँमा प्रवेश गर्यौँ । ती समयभरी हामी बीच बल्याकाल देखि म बिदेश छिर्नु अघिसम्म र म बिदेश गए पछि अहिलेसम्मका सबै कुराहरू गर्यौँ । गाउँको सुरुमै हामीले प्रथामिक शिक्षासम्म पढेको स्कुल थियो । स्कुलमा आइपुग्ने बितिकै स्कुलका भवनहरू ढलिरहेको र स्कुलको स्थिति अस्तव्यस्त देखेँ । भूकम्पले स्कुलका भवनहरू सबै भत्काएका रहेछन् । बाँसका भाटा र बाताले बानेर बनाएको स्कुलको आगानैको टहरा पनि सबै ढल्न लागेको घर जस्तै देखिन्थ्यो । केही वाँसहरुले आढ्याएर ढल्नबाट जोगाएको थियो । सरकार तथा अन्य दातृ सँगठनले नदेखेको हो वा देखेर पनि नदेखे झैँ गरेकोले हो स्कुलको अवस्था दुखलाग्दो थियो । स्कुलको अवस्था देख्ने बितिकै आँखाले पीडा सहन सकेन र आँखाले आफ्नो पीडा खसाल्यो आसुको रुपमा । दुई गालाका डाँडाहुदै झरे ती थोपाहरू र बिलाए तिनै माटोमा । जहाँ हजारौको भबिष्य बिलाएको छ ।

स्कुलको अलि पर बुद्धका मूर्तिहरुले भरिएका गुम्बा थियो । गुम्बाको पनि स्थिति उस्तै थियो । भूकम्पले गुम्बालाई पनि छोडेन रहेछ । भूकम्पले ढालेको गुम्बाको भवनले बुद्धका मूर्तिहरू पनि सबै पुरिएका रहेछन् । खण्डहर भित्र पुरिएका बुद्धलाई देखेर मन झनै बढी अमिलियो । एक्पटक आमाले फोनमा भनेको कुरा जस्ताको त्यस्तै देखेर मन बढिनै अमलियो । विकासले सधैं पछि पर्ने मेरो गाउँको स्थिति देखेर मन सारै पिरोलियो । तर मैले के नै पो गर्न सक्थेँ र? अमिलो मन र गरुँगो पाईला अघि बढाउदै म आफ्नो घरको बाटोतिर मोडिएँ । शिक्षक साथी त्यहीबाटै उस्को आफ्नो घर जाने बाटोतिर मोडियो । पुन: भोलि भेट्ने बाचा गरेर ।

साँझ परिसकेको थियो । बिस्तारै उज्यालोले आफूलाई दहमा डुबाउदै लाँदै थियो भने रातले हतारिदै पाईला अघि बाढाँउदै थियो । म पनि आफ्ना परिवारसँग भेट्न हतारिरहेको थिएँ । त्यसैले पाईला अलि छिटो चलाउदै थिएँ ।

तर पनि घर पुग्न अँझै केही मिनट हिन्नु पर्ने थियो । झरिले रसिएका माटोहरू मलाई चिप्लाउदै लडाउन खुब तम्सिएको जस्तो अभास गरेँ घरीघरी चिप्लिने पाईलाबाट । चिप्लिदै हिँड्दा हिँड्दै अलि परको पिपलको बोटको चौतारीमा सुस्ताउन चाहेँ र एकै छिन आफूलाई त्यहाँ बिसाएँ । त्यहाँ पिपलबोट बाहेक केही थिएन । पिपलबोटै मुनि बनाएको घुमाउरो चौतारी पनि आधा भत्केको थियो । अनि छेवैमा उभिएको चिया पसल पनि थिएन् । तिनै चिया पसल, जहाँ पुसको जाडोमा न्यानो घाम ताप्दै बुढापाकाहरू आफ्ना यौवनका कथाहरू सुनाउथे । गोर्खे पल्टनेहरू युद्ध र बिराताका कथाहरू सुनाउथे । जनयुद्धमा होमिएका युवाहरू सान्ती पछि तिनै चिया पसलमा उभिएर बिगतका क्रान्ती र युद्धका व्यथाहरू सुनाउथे । गोठालाहरू तिनै चौतारीमा सुसाउदै बासुँरीका धुन सङ्गै वसन्तलाई डाक्दथे । हामी युवाहरू तिनै चौतारीमा बसेर औँलाले इसारा गर्दै गाउँभरी विकासका खाका कोर्थ्यौँ । खाने पानीका धाराहरु, बिजुलीका खम्बाहरु, मोटोरबाटो र पार्किङ स्थलहरू सबै औँलाका इसारामा गाउँ भरी बनाँउथ्यौँ । किसोरहरू तिनै भन्ज्याँङ्बाट साउने पँधेरीबाट कम्मरमा घैँटिबोक्दै उकाला लागेका तरुनीहरुका लाम हेर्थे । वर्षमासमा गैरिका गरागराहरुमा बाउसे ठिटटाहरू सङ्गै रोपारे किसोरिहरू हिलो छ्याप्दै असारे गीतमा रमेका रमझम हेर्दै आफ्ना किसोरबेलालाई सम्झन्थे बुढापाकाहरु । त्यै चिया पसल र भन्ज्याङको यो अवस्था देखेर मन झन बढी नै कुँडियो । कुँडेको मन सङ्गै अमिलिदै म घरतिर लागेँ ।

घर पुग्दा अँध्यारोले छोपिसकेको थियो । आमाबा अनि अरु सदस्यहरू म आउने खबरले खुसीहुदै आगानैमा कुरिरहेका रहेछन् । म आइपुगेको सँकेत कालो कुकुरले भुकेर गरिहाल्यो । काले कुकुर म बिदेश गएपछि ल्याउनु भएछ बाबाले त्यसैले मलाई राम्रो सँग चिनेन र नौला मान्छे देखेर धेरै बेर म घरकै आगान टेक्दासम्म भुकिरह्यो । बाबाले हकार्दै ‘तेरो मालिक हो यै घरको मेरो छोरो’ भनेपछि भने बुझे झैँ गरी स्वागतमा आफ्नो पुछर हल्लायो ।

धेरै समय पछि । हामी परिवारहरू भेटिएका थियौँ । मनैबाट प्रेमको ज्वाला दन्किएर आयो र आँखाबाट खुसीका वर्षाको रुपमा सबैका आँसुहरू बहन थाले । आँसु पनि कस्तो अचम्मको हुदो रहेछ । खुसीमा पनि बहिदिने अनि दुखमा पनि । ठिक पाँच वर्ष अघि दुखका आँसुहरू यसरी नै खसेका थिए । मन भरी बिछोडिनुको पीडा भरेर । ठिक आज त्यही आँसु मन भरी खुसी र उमङ्ग भरेर खसी दियो । एकै छिनको भलाकुसरी पछि हामी घरभित्र छिर्यौँ । यतिबेलासम्म रातले पनि आफ्नो पाईला धर्तीमाथि टेकिसकेको थियो ।

आमाले आगेनामा खाना बसाल्दै मतिर हेर्दै मुस्काउदै खबर सोध्नु भो । मैले आमाको मुहारलाई प्रष्टै देखेँ । चाउरिएको मुहारभरी खोल्सा खोल्सा पार्दै उहाँको उमेर दौडिरहेको रहेछ । कति धेरै धर्काहरू खिचिदिएछ मेरी आमाको मुहारभरी समयले । उहाँका मुहारभरी खिचिएका बुढेसकालको नक्साले मेरी आमा अब वृद्ध हुँदै गईराखेको प्रष्टै देखिन्थ्यो । हाँस्दा पनि नखुल्ने भैसकेछ मेरी आमाको मुहार । मलाई मेरी आमाको मुहार देखेर ज्यादै दुख लाग्यो र आफू प्रति ग्लानि पनि । तिनै दुख र ग्लानि आँखाहुदै बग्न खोज्दै थियो तर भित्रभित्रै दबाएँ । बाबाको पनि मुहार आमाको जस्तै भइसकेछ । मुहारैभरी धर्साकोर्दै दौडिरहेछ समयहरु । बिचरा मेरा बा आमा जस्ले कहिल्यै सुख र खुसी हुन पाउनु भएन । जतिबेला सुख र खुसीमा जीवन काट्नु पर्थ्यो त्यो समय सन्त्तानको जन्म, स्याहार, सुसारमा काट्नु पर्यो । जब सन्तानहरू हुर्के बढे तब कोही पराईको घर सजाउन गए त छोराहरू अरुको राष्ट्रलाई धनी बनाउन । मलाई म प्रति नै ग्लानि लाग्यो । अँझ भनौँ जतिबेला मैले मेरा बाआमालाई खुसी र सुखमा राख्नु पर्ने थियो त्यही समयमा अभाव र दुखलाई पार गर्ने बहानामा परदेशिएँ । आखिर मैले के पाएँ? मैले आफूले बगाएको पसिना र श्रमभन्दा धेरै नै कम कमाएँ । तर पनि के त्यो धनले मेरा बाआमाको त्यो समयलाई पुन: फर्काउन सकिन्छ?

तर पनि मनलाई सम्हालेँ र बाँकी जीवनमा धेरै खुसी र सुख दिने प्रण गरेँ ।

अघ देखि नै मेरै छेवैमा खुसीले फुलेर गुलाफ भन्दापनि सुन्दर, जुन भन्दापनि चम्किएर लजाउदै लजावती झार जस्तै लाजाउदै घरिघरी मेरो मुहारमा हेर्दै आफ्ना मुस्कानका आधरमा टेकाउँदै स्वागत गरिराखेकीथि आफ्नो प्रेमको सँसारमा मेरो जिन्दगीको साथी -जीवन साथी । प्रेमको मुनाहरू भर्खरै उम्रिदै थिए । हृदयभरी प्रेमको वसन्त छाउदै थियो । त्यही समय मैले बिदेशिनु परेको थियो । विवाह गरेको दोस्रो महिना नै मैले दक्षिण कोरिया जानू परेको थियो । भाषा परीक्षामा उतिर्ण भएर बसेको म र उनी बीच थाहा नै नपाई प्रेमको बिरुवा उम्रिएछ । र हामीले प्रेमलाई लहलहाउनकै लागि विवाह गरेका थियौँ तर विवाह गरेको दोस्रो महिनामा नै मेरो भिषा लाग्यो र म कोरिया जानू पर्यो । कोरिया जानू नेपालीहरुका लागि चुनौतीकै कुरा थियो भने घरको ऋणले पनि जानै पर्थ्यो । त्यही ऋणकै कारण त भाषा पढ्नु परेको थियो मैले । HRD कोरियाबाट छनोट भएपछि मात्र मैले उनीलाई सबै कुरा भनेको थिएँ । म बिदेश आउने कुराले भने धेरै दुखी भएकीथि । रुँदैरुदैँ बिदा गरेकीथि जानेबेला ।

खाना खाएर एकैछिन् भालाकुसारी गर्यौँ । थाकेको कारण भोलि बातमार्ने भन्दै सबै जना सुत्न लाग्यौँ । म पनि धेरै थाकेको थिएँ । शरीरको सबै भागतिर दुखेको थियो । त्यसैले मैले नि सुत्नूनै उचित ठानेको थिएँ । बिछ्यौनामा पल्टियौँ………. । आज बिछ्यौना पनि अर्कै लाग्यो । कति कोमल बिछ्यौना, अनि सङ्गै आफ्नै जीवन साथी । उनी लाजाएर बिछ्यौनाको छेउतिर पल्टी म भित्ता तिर । के मान्थ्यो मन । अघिसम्मको सबै थकानहरुलाई बिर्साउँदै हृदयले वर्षौँदेखी साँचेको प्रेम साट्न आतुर गर्यो । बिस्तारै हातहरू बढाएर आफूतिर तानें छेउतिर पल्टेको उनको शरीर । आफ्नो छातीमा टाँस्दै प्रेमका बातहरू मार्यौँ । कति मीठो र कति प्यारो भएको रहेछ उनको स्वर । एकैछिन पछि हृदयले हातहरुलाई अरायो कि प्रेमलाई उनका शरीरको अङ्गअङ्ग पुराउ भनेर । बिस्तारै हातहरू उनका शरीरमा सल्बलाउन थाले । उनी चुपचाप प्रेमलाई सुइकार गर्दै थिई । ओठले आफ्नो प्रेम ओठकै माध्यामबाट साट्दै थियो । हातहरू उनका शरीरभरी चलमलाउदै थिए । सायद, हातहरुले लाज बिर्सेको हुनुपर्छ । बिस्तारै हातहरुले ……… स्पर्श गर्यो ।

एक्कासि, ठिक त्यहीबेला भूकम्प गयो । घरहरू जोड्जोडले हल्लिए । हामीलाई बोकिरहेको पलङ पनि जोड्ले हल्लियो । म त पलङ्बाट भुइँमा नै खसेँ र ठोकिएँ पलङकै खुट्टामा । अनि पो झसँग ब्यूँझिएँ । ब्यूँझिएर यता उति हेरेँ । त्यहाँ न बिछ्यौना थियो, न परि जस्ती जीवन साथी । न त हुनुहुन्थ्यो बुढेसकालको सँघारमा उभिएका मेरा वृद्ध बाआमा । केबल एउटा कोरियन मलाई घचघच्याइरहेको थियो । ऊ भन्दै थियो ” आलर्म बज्दा पनि नब्यूँझने, हैन तलाई के भो हँ?? काम गर्नु पर्दैन? रेष्ट समय त सकि सक्यो त । हिन्………… । ” मनभरी तिनै बुढा बाआमा परि जस्तै जीवन सङ्गिनी बोकेर गह्रुँगो पाईला चाल्दै थिङथलो शरीर घिसार्दै गएँ । उही छाप्रो जहाँ पचास किलोको फलामको धुलोको बोरा उचालेर मेसिनमा हाल्नु पर्छ । जुन म बिगत तीन वर्षदेखी हालिरहेछु ।

sntllmds@gmail.com

मझेरीमा पहिलो पटक प्रकाशित मिति 2016-12-31 09:45:45 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *