सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन् । यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन् । जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ ।
यी कथा कुनै पनि शिक्षितपठित जनगलाबाट विकसित भएका हैनन् । यी त प्रकृतिमा सहज र सुकुमार अशिक्षित सामान्य जनगलाबाट निर्मित र सम्बन्धित हुन् । यसैले यहाँ कुनै बौद्धिक तीव्रता र जनचेतनाको चिन्तात्मकता पाइँदैन । जति भनाइ छ, भावना छ, त्यो सहज र सरस मानव हृदयलाई खिच्न सक्ने खालको पाइन्छ, यसैले ती अशिक्षित सारा दर्शकवर्ग मख्ख भई यी कथाका लोकनाचहरू हेर्छन् र रमाइलो लिन्छन् । यसमा दुर्वोधता पाइँदैन, दिक्क लाग्दो र उराठिलो भावना जाग्दैन । यही नै यसको विशेषता हो ।
सोरठीमा प्रयोग हुने भाषा गेयात्मक रूपको मिठास र रसमय पाइन्छ । यद्यपि यो लोकगीत चाहिँ तुकबन्दी र चुड्किलो रूपमा बान्किलो पाइँदैन तर पनि गद्यझैँ ठर्ठराउँदो पनि होइन । लोक गलाको सौकुमार्यबाट मिश्रति यो भाषा सहज र सरलरूपको गङ्गा प्रवाहझैँ स्वच्छ भएर बगेको गेयात्मक छ । यहाँको संस्कृतिको शब्द र आगन्तुक दुर्वोध पदावलीले स्थान पाएका हुँदैनन् । गाउँघरका देवी, देउराली र पुराण कथा वा राम, सीता र राधाकृष्ण यहाँ हुन्छन् । लेख्य साहित्यमा नाटकहरूका पात्र-पात्राले पाठ घोकेको लवजझैँ क्रमशः पदावली यहाँका पात्रको गलाबाट निस्कने हैनन् । यी कति पदावली त उनीहरू मिठोरूपले स्वयं नै सुवोध तरिकाले भन्छन्, हँसाउँछन्, मख्ख पार्छन् ।
यी लोककथा नाट्यहरूको वा अर्को विशेषता हो पात्र-पात्राहरूमा पाइने वातचितका संवादात्मकरूप । वस्तुतः यो वैशिष्ट्य कुनै पनि लोकविधाको महìवपूर्ण चिज हो । मञ्चमा खडा भएका पात्र-पात्राहरूले आपसमा वातचित र कुराकानी, तर्क र हाँस्य प्रस्तुत गरेर नै दर्शकलाई रुचि र मिठास प्रदान गर्दछन् । पात्र-पात्रामा भएको कथोकथनले दर्शकमा उत्सुकता, खुल्दुलीले सुरुचिपूर्ण उत्कण्ठा बढ्दै जान्छ । रमाइलो वातावरण पैदा हुन्छ । कुनै कुनै लोक कथाको नाटकमा त एउटा जोकर पात्र पनि हुन्छ-जसको काम स्वाँग झिक्नु-हँस्यौली ठट्यौलीबाट दर्शकवर्गमा रमाइलो मिठास र मनोरञ्जन पैदा गराउनु हुन्छ । यसलाई ‘ख्याली’ पनि भनिन्छ । यसले कतिखेर पात्र-पात्रालाई उडाई छेडपेच गरी दर्शकलाई हँसाउँछ तर कतिखेर स्वयं आफूले नै उटुङ्गो-पुटुङ्गो गरी दर्शकलाई मख्ख पार्छ ।
जोकरको काम आˆनो समाजमा चिरपरिचित नैतिकहीन वर्ग जस्तै घुस्याहा कर्मचारी, मख्खीचुस व्यापारी, लिडेढिपी गर्ने मानिस, सुकुलगुण्डा, वेश्या, जँड्याहा विभिन्न प्रकारको नक्कल गरी चरित्र उतारी दर्शकलाई अनौठो मजा दिन्छ । यहाँ यसको भूमिका खानामा तिहुन तरकारीबीच स्वादिलो चटनीको आस्वादझैँ ट्वाक्कको अनुभव हुन्छ, गढिलो प्रकारले ।
हाम्रो नेपाली लोक सौन्दर्यको महिमा नेपालकै वन-पथ छहराहरू तुल्य पुराना र मौलिक काव्यकै अर्चनाले यसै नेपाली जनजीवनकै मौलिक भाव जगत्लाई नै हरदिन हरसाँझ सिञ्चन गरेर सदा हरिलो र भरिलो पार्दै विश्व साहित्य सङ्गीतकै हाराहारीमा राष्ट्र नेपालको सौन्दर्यलाई उभ्याइराख्ने सिर्जना गरिरहेका छन् ।
लोकगीत लोकहृदयकै मन मस्तिष्कदेखि कल्पनाप्रधान हुँदै अति नै छोटो र मीठो सरल ढङ्गको कारुणिक र वीर शृङ्गारिक र वैराग्यहरूकै उद्गार हो । जुन स्वाभाविक छन्द मिलेर जातिजातिकै फूलबारीको यौटै मालातुल्य नेपालमा विजयगानकै रूपमा गाइन्छ । आमा यसैमा मुस्कुराउछिन् । दिदी र बहिनी यसै छन्दमा नृत्य गर्दछन् । दाजु र भाइ गाउँछन्, ठिटाठिटी यसैका ताल र सुरमा लिङ्गेपिङ, चर्खेपिङ मच्चाउँछन् । गाइनेहरूको गीत यही नै प्राणतुल्य बनेको छ भने खेतालाखेताली र ज्यामी, भरिया, सिपाही र लाहुरेहरू पनि यिनै लोकगीतका सहाराबाट आ-आˆनु मनोरञ्जनले आˆना जीवनका कर्तव्यहरूलाई पालन गरिरहेकै छन् । यिनै लोकगीतका अलिखित ग्रन्थहरूभित्रै हाम्रा अनेकौँ ऐतिहासिक लोककथा, वीरगाथा, चरित्र र नाटक लुकेका छन् । जस्तै ‘सोरठी’ पनि हाम्रो नेपालको एउटा रोचक कथायुक्त गाउँदै नाच्दै आएको लोकसङ्गीतको एउटा अमर काव्यको कहिल्यै नओइलिने फूल हो ।
सोरठी नाच, सोह्रै शृङ्गारले अलङ्कृत हुँदै हाम्रा लेकलेकका गुरुङ, मधेस, तराईका कुमाले, दरै, किराँत र मगरहरूकै कुलदेवताका झाङझाडीहरूदेखि पवित्र निर्मल अलौकिक नृत्य र सङ्गीत तथा वाद्यहरूकै तालको प्रवाहमय गतिले उधैँउधैँ बग्दै झरिरहेको इन्द्रधनुषी-नागबेली चुलठीतुल्य त्यही पूर्वजको हाम्रै आत्मीय कण्ठको कालीलेकको मूल छहरो हो । जुन कहिल्यै पनि नदेखिने गरी अस्ताउँदैन र पहिराहरू चले पनि यो अविरल गतिले छल्कामारी बगी नै रहन्छ ।
मादी र मस्र्याङ्दी, चेपे र दरौंदी, सेती र काली, भेरी, कोशी र कणर्ाली गङ्गाका लेकाली हिमालहरूका काँधकाँधदेखि यो सोरठीले जोरजोर मादल पूर्व र पश्चिमदेखि नै बन्न लागेका रिमरिमे जुनेली साँझकै आँगनमा आफैँले आफैँलाई सरस्वती जगाएकी घाँटुकी -सरस्वती)का सोह्र शृङ्गारकै अभिनय कलामा मुग्ध पारी नृत्य गर्दै आएकी छ । सोरठीको सिरानघर तिनै हाम्रा अन्नपूर्ण र माछापुच्छ््रे हिमालयका ‘सिकलेक’, ‘खिलाङ’ र ‘घनपोखरा’ गाउँहरू नै हुन् । त्यसो त सगरमाथाको काँधतिरबाट झरेको दूधकोशी पनि लोकसंस्कृतिकै कथाले भुमरी पर्दै फुटेको पाइन्छ । तल मधेसतिर वयलीका जामा फिजाउँदै नृत्य गर्छ ।
राई, लिम्बू र गुरुङका गुरुबाहरूले चार जातिदेखि सोह्र जातमा सरस्वतीलाई जगाएर मादलको र कण्ठ स्वरदेखि गर्रा
-टोली) बाँधेर छाडिदिएका छन् । यसको थालनी पनि घटस्थापनाका दिनदेखि भएको हो । मङ्सिर उभौलीदेखि उठेकोलाई उँधौलीसम्म अर्थात् वैशाखको चण्डीपूणिर्मामा पुगेर थन्काइन्छ- ‘मुन्धुम’ जस्तै गाउँदै र नाच्दै ढोल झाम्टा र झ्यालीहरूमा ।
घाँटु सोरठी र मुन्धुमहरू उभौली र उँधौलीभित्रै पर्दछन् । यी दुवै नाचका आ-आˆनै लोकशास्त्रोतक्त पाराले हातका खुट्टाका अँगुली र अङ्गअङ्गको अभिनय प्रदर्शन गर्नुपर्दछ । मुन्धुममा ढोल र झ्याम्टा, ढलकी, दमाहहरू ठोक्किन्छन् भने घाँटु र सोरठीमा केवल जोरजोर मादलहरूकै ताल गुञ्जिएको हुन्छ । झ्याउरे र ख्याली -कथा) तालकै थम्काहरूबाट ।
रतनपुर भन्ने गाउँमा एउटा जैसिङ्गे भन्ने राजाले आˆना पन्ध्रौँ रानीबाट पनि सन्तान नहुँदा उनका जीवनमा एउटा रोमाञ्चकारी दुःखपूर्ण घटना हुन गएको छ । पन्ध्रौँ रानीकी कान्छी रानीबाट एउटी ‘रूपकेशरा’ कन्याले जन्म लिइन् । ती नवजात बालिकालाई उनैका सौताने मुमाहरूका षड्यन्त्रले मूल परेकी छन् भन्ने ज्योतिषबाट विघ्न पार्न लगाई गङ्गा किनारमा लगेर बगाइदिए । पछि गङ्गामा जाल खेलिरहेका मलाहारे -माझी) र कुमालेले पाए । मलाहारेले सुनको लोभमा फसेकाले दौलत फेला पार्यो । मधुस भित्रकी ‘सुवर्ण मालती’ कुमालेले भेट्टाई आˆना झोपडीमा लगेर पालन-पोषण गरेर हुर्कायो । रतनपुरका राजा जैसिङ्गेकी छोरी नदी-गङ्गाका एकान्त किनार कुमालेकै आँगनमा फूलफूलका पुतलीतुल्य खेल्दै र नाच्दै किशोरी हुँदै आइरहेकी थिइन्, उनको अङ्गअङ्ग यौवनले फुट्न र कोपिलामा बैँस चढाउन लागिरहेका थिए ।
सन्तान नभएका अपुतोजस्तै जैसिङ्गे राजाका मनमा शिकार खेल्न जाने तरङ्गहरू उठ्छन् । शिकार खेल्न रतनपुरदेखि उधैँ गङ्गाका किनारहरूसम्म पनि घुमे । यस्तै संयोगमा कुमालेका छानाभित्र एउटी रूपवती उनै सौन्दर्यले धपक्क बलेकी किशोरीसँग चार नजर हुन्छन् । राजा जैसिङ्गे उनैको मोहनी आँखाकै जादूगरीमा-बन्धनमा बाँधिन पुग्छन् । किशोरीलाई देखेर राजा मोहित हुनु स्वाभाविकै थियो किनभने उनले आˆनो भन्नु सन्तानको मुख देख्न अझसम्म पाएका थिएनन् । ‘सास रहेसम्म आस’ भनेझैँ उनलाई अझै सन्तान जन्मिने छन् भन्ने उनको हरघडी ईश्वरसित प्रार्थना छँदैथियो । अब जीवनको पछिल्लो खेप यिनैलाई विवाह गरेर सन्तानको मुख हेर्नेछु भन्ने पछिल्लो धोकोले राजा जैसिङ्गेलाई एउटा आँटले खेदो खन्न थाल्यो ।
