Skip to content


छोरी !
आज तिमीलाई,
मेरो जीवनको चौतारीबाट देखिने
निकै तल
डोलिएर बहेको नागवेली नदी,
नदी नजिकैको सुरुबुरे बेशी
हरियो गहुँ बारी
र,
आहराको खोजीमा
फुत्रुक्क आली र डिलबाट गर्हा छिर्ने
गोलसिमलको कथा सुनाउँछु।

आमाको गर्भबाट
तिमी पनि जन्म्यौ र म पनि
उस्तै जन्म हो तिम्रो र मेरो
उही धर्ती उही आकाश
मात्र समय फरक…..

तिमी जन्मिदा मेरो आङ्ले
थुप्रै हिउँदका सिरेटोहरू खेपिसकेका छन
पाइतलाले धेरै काँढाहरू टेकिसकेका छन
नङ्ग्राहरूले निकै खोरियाहरू खोस्रिसकेका छन
म,
समयको निकै खुड्किला पहिले जन्मेँ
अनि
तिमी, मेरो जन्मको तिथिमिति खोज भन्दिन
तर!
म जन्मिदा,मेरी आमा
सुरुबुरे बेशीमा खेताला गै
कोदालो खनेर फर्किदा
बाख्राको दुध खाइ
म कोक्रोमा हल्लिदै हुन्थेँ
त्यही बेला गोलसिमलको कथा सुनाउनु हुन्थ्यो
आज
तिम्रो जन्मको अस्तित्व र उद्गमस्थल ज्ञातको लागि
उही गोलसिमलको कथा सापटी लिएको छु ।

एकताका,
मंसिरमा ढालेको धान बिट्टा लगाउदा लगाउदै
खले गर्हाको पूर्वपट्टी सानो फोक्टामा
गोलसिमलसँग मेरो भेट भयो
सानो टाउको -तिम्रो जस्तै
सिन्के खुट्टा – ठ्याक्कै तिम्रो फरक नदेखिने
टाउकामा सिहुर – तिमीलाई आमाले लगाइ दिएको फुर्का जस्तै
टिलिली हेर्ने आँखा -तिम्रै चनाखो वाल नयन
एकैछिनपछि खले गर्हामा दँहेरे कुर्ले
गोलसिमल तर्स्यो,फुरुक्क पखेटा फिजायो
सालघारी पस्यो,एसेलु झ्याङ्मा बस्यो
चुत्थ्रोको रस चुस्यो,
खोल्सिको तिपतिपे धारोमा चुच्चो गाढ्यो
सायद मुटु ढुक ढुक भयो होला
सानो कुरामा तिमी तर्से जस्तै तिमी डराए जस्तै

मार्टिन लुथर मेमोरियल पार्क,
लिङ्कन मेमोरियल पार्क,
ह्वाइट हाउस नजिकैको मनोम्यान्टतिर
पुषको मध्यमा समुद्र माथि चिसिएको
एक भारी चिसो सिरेटो बहेर
शित जमी जन्मेको बाक्लो तुषारो,
एक दुई दिनमै विलाउने
हिउँ होइन..
त्यो नागवेली नदी हेर
माथि लेक,त्योभन्दा माथि सिद्धीमा
जुगौ देखी आफ्नै गाथा बोकेर
लहरै स्वाभिमानी शिरहरू मुस्कुराइरहेछन
स्वाभिमान र गौरवको बडेमान भारी बोक्दा
चुहेका र पग्लिएको
पहिचानको पसिना हो यो नदी
नदीको उद्गमस्थल त्यही हो
तिम्रो जन्मको उद्गमस्थल त्यही हो
समयसँगै गोलसिमल
आहाराको खोजीमा गर्हा गर्हा डुल्छ
मेरी आमा सुरुबुरे बेशीमा कोदालो खन्थिन

तिम्रो पिता पुर्खा भूगोलको हजारौ ठाउँ टेक्छन..
… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *