गोठालाहरुले लगेर वनमा गाई चराए हुनन्
खेतालाहरुले यता लय झिकी गाइरहेका हुनन्
मायालुहरू स्वच्छ प्रेम मुटुको पाइरहेका हुनन्
बैंसालुहरू मुस्कुराई पिरती लाइरहेका हुनन् ।।५५।।
मेरो चित्रसँगै मलाई अहिले छोइरहेकी हुनन्
पोको मात्र अभावको दिनदिनै फोइरहेकी हुनन्
झारी आँसु र दुर्दशा छिनछिनै धोइरहेकी हुनन्
मेरो जीवन मार्गकी सहचरी रोइरहेकी हुनन् ।।५६।।
धेरै कारणले विदेशतिरको ध्याउन्न भो देशमा
देखिन्छन् सुकिला नयाँ चहकिला नेता सफा भेषमा ।
भाषा जाति र द्वन्द्वको बिख यता यैे देशमा सल्कियो
मेसै बस्न नपाई यो मुलुकको अस्तित्व गुम्ने भयो ।।५७।।।
उर्लन्छन् कुँडुली परेर मनमा खोल्सा र छाँगाहरू
टल्कन्छन् भुमरी परेर रुखका टुप्पा र हाँगाहरू
चम्कन्छन् मन भित्र भित्र पहरा बस्ती र पाँगाहरू
उफ्रन्छन् तर देशको जमिनमा उन्मत्त डाँडाहरू ।।५८।।
आमा बाबु खसाली आँसु अहिले झोक्राउँदा हुन् उता
खेतालाहरू झैं विदशतिरका हामी भएछौं यता
आँखा भिज्दछ सम्झियो कि मनले टप्कन्छ आँसु खसी
माया मात्र भएर हुन्न मनमा के गर्नु भोकै बसी ।।५९।।
निम्ता पाई फिरे युवा खुसी हुँदै बन्दै बडो चञ्चल
कामै गर्न नपाई फर्कन पुग्यो धेरै युवाको दल
आफ्नै बान्धव मार्नलाई तिनले गर्दा रहेछन् छल
अर्काको भरियाहरू जगतमा हुन्छन् कहाँ निर्मल ? ।।६०।।
भो भो भो अति धेर भो अति भयो काम्लो भिरायौ किन
आफ्नो देश अखण्ड राख्नु छ म ता बाँकी कुरो जान्दिन
हाम्रो देश दुहेर खान यिनको कुख्यात भाँडो भयो
लैजाऊ गणतन्त्र यो मुलुकमा चाहिन्न घाँडो भयो ।।६१।।
यौटै गीत सुनिन्न भित्र मनमा छाती छचल्काउने
नेपाली पनमा मिठास धुनको माया झझल्काउने
के भो के सब बुल्किँदै अघि सरे सङ्गित बल्झाउने
भो भो भो अरु चाहिएन तिमी नै छौ एक अल्झाउने ।।६२।।
हुन्थ्यो सभ्य र शिष्ट गायन कला अश्लीलमा जाकियो
झ्याम्लेका बहुरङ्गी झाँकीहरुले त्यो साधना ढाकियो
केही मत्लब नै रहेनछ यहाँ अर्ती दिन्दै थाकियो
बेर्थेमा अमिलो भएछ मन यो काँचो हुँदै पाकियो ।।६३।।
भोकैले बरु मर्छ बाघ दुधिलाको घाँस के खान्छ र
कालो दाग कलङ्कको हुन पुगे मेटेर के जान्छ र
पालेका घरभित्रको कुकुरले स्यालै कहाँ मार्छ र
बल्छी खेल्न सिपालु हुन्न जसले माछा कहाँ पार्छ र ।।६४।।
यस्ता धेर विचारपूर्ण रचना पढ्दै छु चारैतिर
भाषा धर्म र जातिको कलह यो झोस्छन् सबै आखिर
कोही छैन निभाउने बरु यहाँ झोस्नेहरू मात्र छन्
अर्काको मुखको बुझो पनि यहाँ खोस्नेहरू मात्र छन् ।।६५।।
हाम्रो देश लुटेर लान कति छन् धेरै सिपालुहरू
हामी चाहिंं विदेशको ढुकुटीमा भर्छौं खजानाहरू
उर्जाको सब स्रोत हामीहरुको बग्दैछ अर्कैतिर
आफैं भित्र विराज देवहरू छन् खोज्नु कता मन्दिर ।।६६।।
टल्कन्छन् घर छेउछाउतिरका खोल्सा र पाखाहरू
अल्झन्छन् मनभित्र भित्र किन हो आलोक भाकाहरू
बल्झछन् प्रतिविम्बमा रहरिला नौला तरेलीहरू
सारै आउँछ सम्झना विगतको भिज्छन् परेलीहरू ।।६७।।
गाई वस्तु चराउँदा वन गई घङ्काउँथ्यौं जङ्गल
गोठालाहरू हामी हामीहरुको माया थियो निर्मल
कस्ले सक्तछ भुल्न त्यो सब गयो खोजेर भेटिन्छ र
जस्ले मेट्न प्रयास गर्छ त्यसले मेटेर मेटिन्छ र ? ।।६८।।
‘ख्वाऊ पोस र पाल’कै भुमरीमा फस्तै गयो जिन्दगी
नानाकै अनिकालको भुमरीमा पस्तै गयो जिन्दगी
आफू चाहिं निमित्त मात्र अरुको जस्तै भयो जिन्दगी
मेरो लक्ष्य थियो उँभो तर उँधो खस्तै गयो जिन्दगी ।।६९।।
हाम्रो सोच थिएन केही नगरी बस्ने सधैं राडीमा
आफ्दै देश सपार्नलाई जब कि पस्थ्यौ कतै झाडीमा
हाम्रा भाव समस्त अल्पिन पुगे हामी बग्यौं बाढीमा
लाखौं लाख लुकाउँदै पिरहरू हामी पस्यौं खाडीमा ।।७०।।
