इन्द्रेणीको सातै रंग धरतीमा पोखिएको छ आज…
र त!
गाउँघरको आँगनीहरूमा
पाखाबारी अनि पँधेरीहरूमा
यौवनाको मादकता बगिरहेछ कुलो हालेर……
जस्को शक्ति उस्को भक्ति भन्दै
हान्दैछन लोला हो कि गोला ……
कलियुगको होलीवादीहरू
उहिले उहिले बाजे बराजु र बाले,
सद्भावको रंग छरेर
आत्मीयता साट्थे अरे
भाइचाराको बीजारोपण गर्थे अरे
शान्त समृद्धीको कामना गर्दै
सुन्दर समाजलाई रंगिन बनाउथे अरे
जसरी एक जोड़ी पंछीले बड़ो मेहनतले गुड बनाउँछ
हो त्यसरी नै ……
गाउँ बस्ती बसाउथे अरे
गुलाफका पत्रदल जसरी मिलेर बस्थे अरे
मानव समाज।
अचेल रंगहरूले धर्म छोडेको छ।
हरेक रंगहरूले बारुदको गन्ध बोकेर
आफ्नो सुरक्षा आफै गर्दैछन
होलिको नामले रंगहरू लज्जित भएका छ्न
रंग दल्ने हातहरूमा सुकुमारी फूल होइन काँडा उम्रिएको छ
संस्कार र सभ्यताको चैतन्य हराएको यो बेला……
काकाकुल भएर बाँचेको शहर पनि
होलिको मुखुन्डो लगाएर गर्दैछ गाइजात्रा
लास होस कि सास हिड्नै हुन्न बाटो उँदी…
छ्यापी हाल्छन धारा निखारेर भरेको पानी
पानी नपाए ढलै उघाएर
खन्याउन पछि पर्दैनन बलिस्ट पाखुरीबिदहरू…
अर्थात,
नयाँ युगको होलीवादीहरू……
कालो मनको मुस्लो बोकेर
रातो रंग मुठ्ठी भरी कसेर
तरुणीको गाला मुसार्ने दाउमा हुन्छन
गल्लीकुच्ची र सडक पेटिहरूमा
कलियुगको होलीवादीहरू……
कसैलाई वास्ता छैन कसैको
रंगहरूसँग अराजकता मिसाएर दल्न पाए पुग्छ
लोला भित्र एसिड मिलाएर हान्न पाए पुग्छ
अरु त अरु………
ढल कै पानी छ्याप्न पाए पुग्छ
धन्य छौ,
कलियुगको होलीवादीहरू……
धरती कल्पना
दक्षिण कोरिया