नारीले जलिने अँझै कति यहाँ बोक्सी हुने हो कति
खानै छैन, अभावका बगरमा बच्चा रुने हो कति
टेक्नै पाइन पाइलो शशिकला, जम्मै अरूका जिमी
न्यायाधीश भयौ, ठगैतिर गयौ, के न्याय दिन्छौ तिमी ।
जोत्ने मानिस क्वै भएन घरमा बाँझै छ बारी कतै
बाँझै खेत छ फाल्दिए पनि भयो रित्ता भकारी कतै
आफ्नो भूमि बँझ्याइयो र पसिना अन्तै बगाई गयौँ
दाता देश हुने महागुण थियो, हामी मगन्ते भयौँ ।
पैसा जान्न पुछारमा धनकुलो छिद्रै छ धेरै चुह्यो
कस्तो उन्नत बीज उम्रनु थियो फुट्नै नपाई कुह्यो
भान्छामा छ जुता, सियाहरू उता ओछ्यानमा थाल छन्
के भन्ने समचार यो मुलुकका बेरित बेहाल छन् ।
एक्लै हुन्छ विदेशमा पति उता एक्ली यता श्रीमती
केको शासन भन्नु खै अधमरो पारिन्छ ज्यूँने गति
तड्पन्छन् घरका जहान पहिरी बेछोडको हत्कडी
कैलेसम्म उजाडिने अरबका भुङ्ग्राहरूमा डढी ।
ठूला छन् धनका निमित्त मनका सम्बन्ध तोड्नेहरू
माया दिन्छु भनी लगेर वितरा पारेर छोड्नेहरू
मान्छेको मनको जमीन रुखियो के मोल हाल्ने अब
कायाकल्पक्रिया ढलेसरि भयो केल्ले उचाल्ने अब ।
धेरै भो झगडा कुटाकुट चल्यो सङ्घर्ष गर्ने कति
मान्छेबाट मनुष्य शोषित हुने मार्ने र मर्ने कति
धेरैपल्ट भयो छली छलिगयो छोएन ढाल्ने दुरी
साँच्चैको नचली हुँदैन अब ता युगान्तकारी हुरी ।
– मित्रलाल पंज्ञानी
