बाँडौँ प्रेमसुधा हिमाल हँसिलो मुस्कानले भन्दछ
रक्ताम्य वनका गुराँस भरिला शोभा यहाँ बन्दछ
सारा फाँट तराइका मन दुखे नेपाल दुख्दैन र ?
हाम्रो मेल र एकता पनि झुके नेपाल झुक्दैन र ?
खोला बग्छ हिमालबाट हिमको माया मिसाइकन
दौडिएर पहाडका वनवनै भारी बिसाइकन
त्यै हाम्रो हिमशृङ्खला पनि सुके त्यो फाँट सुक्दैन र ?
बाँझो भैदिए उर्वरा धरणी यो नेपाल झुक्दैन र ?
थुप्राका बलमा परेर विचरा झुप्राहरू मौन छन्
आस्था बेगरका निरीह जनता साँच्चै यहाँ गौण छन्
को हेर्ला दु:खमा गरिब जनको मारेर पुग्दैन र ?
ए जोगी छद्मी बने अब नयाँ नेपाल झुक्दैन र ?
कस्तो खेल भयो सधैँ नसकिने हार्ने र जित्ने यहाँ
राखी माग गराई पूर्ण बलले के मेल गर्छौं नयाँ
पासाका बलमा परेर अबको कानून चुक्दैन र ?
सारा विकृत भैदिएर जनता नेपाल झुक्दैन र ?
हामी एक भयौ भनेर जनता जागे किन भुल्दछन्
जस्तै दु:ख परे कडा श्रमसँगै यै वागमा फुल्दछन्
हामी आपसमा लडे अब नयाँ यात्रा नि रुक्दैन र ?
नाराकै गणतन्त्र मात्र भैदिए नयाँ नेपाल झुक्दैन र ?
नेपाली जनको नयाँ उपजको सङ्घीयता सान हो
लाखौं वीर शहीदका रगतको साँच्चै यो सम्मान हो
आँटौ देश बनाउने समरमा के चित्त फुक्दैन र ?
मार्यौं आँट भने हिमाल भनिने नेपाल झुक्दैन र ?
दामु फर्सिफुल
रोल्पा
