Skip to content


आकाशको सीमा कसले तोक्ला?
यति परिधिभित्र घाम लाग्नु
यति सीमामा पानी पर्नु
यतिसम्म उज्यालोमा रमाउनु वा,
यतिकाले अँध्यारोमा घोत्लिएर बस्नु!
आधा बाटोको आकाश कोइलाको खानी जस्तो
कतै भने अहँको घ्याम्पो भरेर
अरुलाई चोट दिन तयार जस्तो
दाँज्दै जान्छु तिम्रो जिन्दगी
हरेक मान्छेको पृथक गाथा जस्तो
बनिरहेको चिता देखेँ
मनैमन त्यसको साइज नापेँ
चिता तिम्रो गन्तव्य होइन भने
ठिक छ तिमी बाकस मै बस,
त्योपनि त्यति विशाल कहाँ हुन्छ र?
फेरि हेरेँ आकाशतिरै,
आकाश भएकै कारणले
तिमीलाई बेमौसममा पनि वर्षिने हक छ
तर बीचरो यो मानव,
फुकिफुकी पाइला चाल्छ
कसैलाई चोट पुग्ला भनेर
तरबारको धारमा हिँड्छ,
आफू हिँड्ने बाटाभरि
रगतको छाप बनिसकेछ!
तर तिम्रो त्यो घमन्ड
उसलाई बाहेक कसलाई था’छ?
मुखुन्डो लाएको त्यो अनुहार
यसले बाहेक कसले देख्छ?
अनि त्यो तिम्रो झुन्ड,
वाहवाहीमा ताली पिट्छ
आफ्नो अनुहार लुकाउन अभ्यस्त समाजले
अरुको छद्म अनुहार कहाँ देख्छ?
आकाश अलिकति हिम्मत देऊ
वर्षन सक्ने शक्ति देउ!
तिम्रो लयमा हाँस्ने, रुने
जीवन जिउने लय देऊ
धर्ती रुझाउने पीडा होइन
झलमल्ल उज्यालो देउ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *