Skip to content

थाहा छैन कुन दिनदेखि गाईको मासु खान प्रतिवन्ध लाग्यो, हाम्रो बाजेले भनेको अनुसार पहिले नियमित चल्ने गाईगोरुको मासु खाने प्रयोजनमा प्रयोग हुँदै आएकोमा प्रजातन्त्र आएसँगै विस्तारै वन्द हुँदै गयो । पछि खै कुन कानुन बन्यो रे त्यसपछि त झन् गाई राष्ट्रिय जनावर भयो रे हिन्दुको गौ माता रे भनेर सबै नेपाली हिन्दु भ’का कारण पूजा गर्नुपर्ने भयो काट्नेलाई त डोर आएर लगिहाल्ने, मुद्धा चल्ने, जेल हाल्ने काम हुन थाल्यो । यति थाहा छ गाउँघरमा किसानी गर्ने रत्न बहादुर तथा उसका गाउँलेलाई ।
खै कति सालतिर हो, लगभग २०५७ सालतिर होला, हाम्रो खम्बुसत्ता लिन्छौँ लिन्छौँको नारा आयो । त्यस आन्दोलनको धेरै प्राबधानमध्ये गाईगोरु काट्ने पनि एक थियो । मान्छेहरु प्रहरी प्रशासनभन्दा केही माइल टाडा खेतबारी गारोमुनी काट्ने, भाग लगाउने र त्यहाँबाट गोप्य तरिकाले आफ्नो घरसम्म ढुवानी गर्ने कार्य हुनथाल्यो । गाउँघरको स्थानीय भाषामा गारोमुनीको सिकार भन्ने कोडभाषा अत्यन्तै प्रचलित थियो । यस्ता कार्यमा अर्धभूमिगत क्रान्तिकर्मीका सक्रिय भूमिका हुन्थ्यो । प्रहरी प्रशासन खुम्चीन बाध्य भएको थियो, किनकि त्यतिबेला शसस्त्र द्वन्द्वको सुरुवात भएको पनि ५ वर्ष वितिसकेको र द्वन्द्व ऊत्कर्षमा पूग्दै गरेको अवस्था थियो । जनताका मुक्ति खोज्ने सेनाको संख्या बढ्दै जाँदा देशमा लगभग द्वैध शासन सुरु भइसकेको थियो, औपचारिक र अनौपचारिक । रत्न बहादुरलाई यतिमात्र थाहा हून्थ्यो, यो गाउँमा एउटा नयाँ परिकार चाख्न पाइएको छ, जसको स्वाद अरुभन्दा वेग्लै छ । यो घरमा भएका एक जवान छोरी र दुई हुर्कदैँ गरेका छोराहरुका लागि पनि राम्रो परिकार हो । उसले सुनेको थियो, यस कार्यमा गोपाल भन्ने मान्छेको हात छ, तर देखेको नहुँदो हो । उसलाई यो भने थाहा थिएन कि गोपालको शाब्दिक अर्थ गाईपालक हो, जसले गौवध गर्दैन ।
विस्तारै गाउँगाउँका प्रहरीचौकी खाली या ध्वस्त हुन थाले । सदरमुकाम वा सहर केन्द्रित हरिया वस्त्रधारी शस्त्र सुसज्जित सुरक्षा समयसमयमा गाउँ आउँथे र धुम मचाएर फर्कन्थे । अनि बेलुकी सात वजे रेडियोमा बज्थ्यो जसको रिपोर्ट । गाउँघरमा बस्ने उस्तै हरिया वस्त्रधारी शस्त्रसेनाले धावा बोल्थ्यो, सहर या सदरमुकाम मुटुमै, समाचार बज्थ्यो उही समय बेलुकी सात बजे, तर कुनै कुनै स्थानीय रेडियो भने हराउँथ्यो थुप्रै समय, या गीत बजाउनमा सिमित हुन्थ्यो । गाउँ गाउँमा नयाँ सरकार गठन हुन थाल्यो । सानातिना छिनोफानो तथा स्थानीय विकासका केह िकाम त्यही नयाँ स्थानीय सरकारबाट हुन थाल्यो । ठूला समस्यामा ती सरकार निर्माणकर्ता नै आउँथे र मिलाउथे । रत्न बहादुर यी सब घट्नाका दर्शी बने । यसै बिच उनकी विद्यालयको नाममा विहानी कक्षामात्र पढ्न पाएकी, जेठी छोरीले १५ वर्षको उमेरमै ज्वाँई ल्याइदिइन् । खुसीसाथ स्वीकारे परिवारले ज्वाँईलाई र छोरीलाई विदा गरे । दुख थियो, ऋण थियो र त थियो अशिक्षा, अचेतना र त थियो मुक्तिवादी आन्दोलन ।
गाउँघरमा गारोमुनीको सिकार अव सार्वजनिक हुन थाल्यो । रोक्नेछेक्ने कोही नभएपछि किन हुन्नथ्यो र । यस्तैमा एक वाजी एक दिन आयो । रेडियो नेपालमा आन्दोलनका समाचार बज्न थाल्यो । बुझ्नेले बुझे, सुन्नेले सुने काठमाण्डौमा जनसागर उर्लेको छ । १९ दिनको दिन देशमा पृथ्वीनारायण शाहका शालिक ढले, उनका सन्तानका शालिक ढले । गाउँगाउँमा खबर पुग्यो, देशको मूहार फेरियो ।
यलम्वरका पुराना लडाका सन्तान हराए, झोला बोक्ने नयाँ सन्तान जन्मिए । कुनै एउटा जातीय संघ थियो त्यो नयाँ सन्तान, अनि थियो त्यो एक आन्दोलन । एकदिन त्यो संस्था रत्न बहादुरको गाउँ आयो र त्यहाँ सभा राख्यो । ऐतिहासिक पिल्मो गाउँ जहाँ हाम्रा पुर्खाको उदय भयो भन्दै भाषण नि गरे । तिनीहरुले, फेंगा लाउनुपर्छ, दोङगम (विनायो) बजाउनुर्छ आफ्नो मातृभाषा जोगाउनुपर्छ, बचाउनुपर्छ…. आदि आदि भन्दै । एक कुनामा बसेर माइक पड्कीने चर्को आवाजको भाषण सुनिरहेका रत्न बहादुर अकमक्क परे । उनले देखे जो मान्छेले फेंगा लाउने, दोङ्गम बजाउने र आफ्नै भाषा बोल्ने शिक्षा दिँदै थियो, त्यो मान्छेले सहरिया लुगा लगाएको थियो, त्यो लुगामा छातिनिर पारेर भूmण्ड्याइने विनायो थिएन, अनि अर्को अचम्म, ऊ नेपाली खास नबुझ्ने र सबै स्थानीय मातृभाषी भएको हूलमा नेपाली भाषामा भाषण गर्दै थियो । रत्नबहादुरको चेतनाको गाग्री हल्लियो तर टिलपिल टिलपिल होइन । उनीहरुले बोलेका कुराहरु मनमा सुझ्ने खालकै थिए । एउटा कुरा समझमा थियो, त्यो पनि बोले उनीहरुले, हाम्रो संस्कार अनुसार चल्ने, पितृ बुझाउँदा अनिवार्य चाहिने मासु त गाई गोरुको हो । हिजोको सत्ताले छेकेको, अव त्यस्तो हुँदैन, चलाउनुहोला, कानून लाग्दैन ।
रत्न बहादुरले आफ्ना छोराहरुलाई विद्यालय पठाउन थाल्यो । नपढी नहुने चेतना सिंचित भयो, यो उसको दिमागको, चेतनाको ठूलो क्रान्ति थियो । देशमा पनि रत्न बहादुरको दिमागमा जस्तै नौलो परिवर्तन हुन थाल्यो । हिजो सिँगाने भन्दै मास्टरहरुले गाली गर्दै गरेका भतिजो नेपाल सरकारको सुब्बा भयो । कोही सडक बनाउने काममा गए, कोही आर्मी भए, कोही भने मास्टर बनेर गाउँ घरमै पढाउन थाले । सबैभन्दा धेरै भने खुम्बुतिर टे«किङ क्षेत्रमा काम गर्न जान थाले । रत्न बहादुरको कान्छो छोरो भने विद्यालयमा राम्रो भलिवल खेलाडी बने । यो देखेर रत्न बहादुर खिन्न भयो । खेलेर के हुन्छ? घरमा काम गर्दैनन्, पढाई बिगार्छन्, कहिलेकाँही खेलमा जाने भन्दै खर्च माग्छन् । रत्न बहादुरले पनि भारी बोकेर घरखर्च तथा छोराहरुको सुन्दर भविष्य कोर्ने खर्च जुटाउन थाले । कहिले साहुको भारी, कहिले ट्रेकिङमा विदेशीको भारी बोकेर नाम्चे लुक्ला देखि नौलेक सम्मका बाटाहरु छिचोलिसकेका थिए ।
एकदिन गाउँकै छिमेकी भतिजो गञ्जले भन्यो, ‘काका, मेरो भारी बोक्न हिड्नुहोस्, नाम्चेसम्म, जानुहुन्छ?’ कसरी नजाने भन्ने त हुन्छ र, परिवारको नुनतेल, छोराको पढाई र भलिबल सबैले जा जा भन्छन्, उनले सोधे, ‘के को भारी, कता जानुपर्ने?’ उत्तर आयो, ‘त्यही मासुको व्यपार हो, नाम्चे लानुपर्ने, सिकार बाटोमा छ, उतै काटेर लानुपर्ने, उतै पासाङ भन्ने मानछेसँग किनेको ।’ लौन त भनेर हिँडे दुई भाई । छोरी अव नाम्चे जाने बाटैको साहुनी भइसकेकीले उनीहरुको हिलो रात छोरीको होटलमा बसे । रत्नले त्यही दिन थाहा पाए कि मासु व्यापारीले किनेको सिकार त्यही गाउँघरमा प्रचलित गोरु रहेछ । कुरा भयो त्यही होटलमा, ‘साँचै यो चलन चाहीँ साह्रै राम्रो, थारा गाई, घाइते गोरु र दुख दिने, हान्न गाईगोरु व्यवस्थापन राम्रो भको छ ।’ गञ्जको यो कुरामा बुढाले थपे, ‘हैन कान्छा, यो हाम्रो चलनअनुसार त मर्दामा चाहीँ लाससँग गोरुको मासु अनिवार्य हाल्नुपर्छ नि, पछि पो यो काट्न वन्द भएपछि सिनोको सुकाको छालाले काम चलाउन थालिउको हो त ।’ वुवा र दाईलाई रक्सी एकएक कप हालिदिँदै छोरी बोले, ‘अस्ती यहाँ कुइरे लिएर आउने गाइडले भन्थे यो त काठमाण्डौका तारे होटलमा अनिवार्य हुन्छ रे, तर नेपालमा खुलमखुला काट्न नपाइने हुनाले भारततिरबाट यसको व्यापार आउँछ रे ।’ माध्यमिक तह छिचोलेका अली वुझक्कड ज्वाँईले भने, ‘अस्ती संविधान बनाउँदा पनि गाई राष्ट्रिय जनावर राख्नेमा कुरो मिलेको थिएन रे, कोहीले अरु जंगली जनावर राखौँ भने रे नमिले पछि हामी आदिवासीको केही समुदायमा सुस हुने (नचल्ने) बाख्रा राखौँ भन्ने सम्म भयो रे ।’ हा हा हा… । घरभित्र एक हाँसो छायो ।
एउटा गाई एउटा गोरु किने अनि मासु बनाएर नाम्चे लाँदै थिए, पासाङले भनेका थिए, ‘अहिले अलि गाह्रो हुनसक्छ, सक्दो छिटो भगाउनु ।’ बिचमा प्रहरीको एक टालीले पक्रिए, केही सोधीखोजी गरेपछि हठ्कडी लाग्यो दुवैका हातमा । केही घण्टा दुईजनालाई हिँडाएपछि पासाङलाई पनि मिसाइयो हुलमा । छक्क परे दुई भाई, तर छक्क परेको थिएन पासाङ, पछि बुझे, त्यो मासुको सिकार चोरीको थियो, पासाङले चोरेर बेचेको थियो । नखाको पनि लाग्दो रहेछ भन्दै पुर्पुरोमा हात र आँखामा आँशु पारेर बसे रत्न बहादुर ।
उनीहरुलाई जिल्ला ल्याइयो । कारागार चलान गरियो र सरकार वादी भएको गौवध र गाईधनी वादी भएको चोरीको मुद्धा लगाइयो तीनै जना विरुद्ध । जेलको छिँडीभित्र सोच्दै बसे रत्नबहादुर, त्यो गाउँघरको चलन, त्यो ०५७ को आन्दोलन, त्यो फेंगावाला भाषण गर्ने संस्थाको कुरा, ऊ भरिया मात्र भएर गको ऊ चोर नभएको, अनि घरपरिवार र छोराहरको पढाई… सबै सोचेपछि आश केही जाग्यो । ‘यो नेपालको कानून अन्धो छैन भने, वास्तविक कसुरदारलाई मात्र सजाय हुने भए, पक्षपात हुँदैन भने कतै यो चार दिवारबाछ उन्मुक्ति मिल्ला । अनि ती यलम्बरका वन्दुक बोक्ने र नबोक्ने सन्तानहरु पनि त आउँलान् गुहारमा… किनकि यो गर्ने गराउने त उनै हुन् । धेरैमा चोरीमा सघाको जस्तो देखिदाँ सानो सजाय होला । भोगौँला भाग्य त्यति त ।’ यसै बिच उसले सुनेको थियो, ५७ सालमा लडाईँ मचाउनेहरु त अहिलेका सरकार हुन् । यो भन्दा आशा लाग्दो कुरा के हुन सक्थो र?
एकवर्ष वित्यो जेल जीवन, नयाँ संविधान आको जेलभित्रैबाट थाहा पाइयो, त्यो दिन दीपावली भएको थियो । त्यो दीपावलीको दियोको तेलसँगै रत्नबहादुरका सपना विलाएको थियो जो रत्नबहादुरले बुझ्न सकेन । आश थियो नयाँ संविधानले उनलाई उन्मुक्ति दिनेछ । तर संविधानले भनेको थियो, ‘राष्ट्रिय जनावर गाई’ भनेर ।
पैmसला भयो, श्रीमान्को पैmसला सुन्न जाँदा रत्नबहादुरले बाहिर भनेका थिए, ‘मुद्धा नै लाउने हो भने त हाम्रा गाउँका प्रत्येक व्यक्ति मासु खाको निहुमा जेल पर्ने रहेछन् ।’ फर्किदा भने, ‘म त १२ वर्षको लागि जेल परेँ, मेरो कसुर के हो मलाई अभैm थाहा छैन, मेरा बाउबाजेले कुनै अपराध गरेका होलान् त्यसको सजाय म भोग्दैछु । म जेलबाट फर्केर आउँदा मेरो कपाल पूmलेको हुनेछ । यदि तिमी प्रगति गर्छौ भने म फर्केर आउँदा तिम्रो बच्चा भएर पनि ठूलो बच्चाले ५ कक्षा पढेको हुनेछ । तिमी र तिम्रो श्रीमतीले थोरै मात्र बचायौ भने पनि तिमीहरुसँग घर बनाउने बचत हुनेछ । अनि म त्यतिखेर शून्यमा हुनेछु, शून्यबाट सुरु गर्दा गर्दै मेरो लीला पुरा हुनेछ, यसमा मेरो के दोष थियो म कहिल्यै बुझ्ने छुइनँ । सारा अधुरा सपना छोराहरुले पुरा गरुन् ।’ देखिए तीनजनाका हातमा हठ्कडी र देखिए जेलतिर जाँदै गरेका एक लाम मानिस र मानिसका बिचमा रुँदै गरेका रत्न र रत्नका छोराछारी । तर देखिएनन् कतै, ती १५ वर्ष अघिका हरिया बन्दुकेका ताँती र देखिएनन् आदिवासीका माइक पूmट्ने भाषणका वक्ता… । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *