एकदिन शहरमा बस्ने दिपकको बिहे गाउँकी एउटी केटीसँग भयो । एकदिन ऊ श्रीमतीसहित पहिलोपटक दशैंमा टीका थाप्न सासू ससुराकहाँ गयो । ऊ शहरको कोलाहल, प्रदुषणदेखि वाक्कदिक्क भएकाले गाउँमा औधी रमाइरहेको थियो । उनकी श्रीमती भने ऊ दङ्ग परेको देखेर रमाइरहेकी थिइन् । उसलाई देख्ने वित्तिक्कै उसलाई ससुराले सोध्यो :– हजुरलाई गाउँ त साह्रै नियास्रो लाग्यो होला ? केही सुविधा भएको होइन यहाँ ज्वाईंसाहेब ।
दिपकले भन्यो :– कहाँ र बुबा ! शहरको पीडा हजुरलाई के थाहा ? शहरमा सबैसँगै भएर पनि कसैको कसैलाई मतलबै हुँदैन । तर गाउँमा त गाउँका सबै एकै परिवार । शहरमा त प्रदुषणै प्रदुषण, हल्ला पनि त्यत्तिक्कै । गाउँमा त हरियाली नै हरियाली, सबै ठाउँमा शान्त र मनोरम वातावरण । अनि बुबा गाउँमा त सबै खाद्यान्नहरू केमिकलरहित, अर्गानिक र ताजा पाइने । शहरमा भने सबै खाद्यान्नहरू केमिकल भएको जङ्क टाइपको हुने, जेमा पनि साइडइफेक्ट हुने । जुनसुकै कुरा पनि शहरभन्दा मलाई गाउँकै मनपर्यो । गाउँ त स्वर्गै रहेछ हगी बुबा ?
गाउँमा गाउँका जसले पनि “शहरका मान्छे ! गाउँ नियास्रो लाग्दो हो ?” भनी सोध्थे । ससुरासँग जस्तै दिपक गाउँका जोसँग पनि गाउँको वयान गर्दै गाउँसँग रमाएर दशैंको बिदा मनाएर आफ्नो घर फक्र्यो । गाउँको बयान गर्दा ऊ कहिल्यै थाकेन ।
फेरि अर्को साल श्रीमतीसहित टीका थाप्न उनीहरू गाउँ पुगे । ससुरालीकाहरुले गाउँको सबै सम्पत्ति बेची शहरतिर बसाइँ सरिसकेका थिए । खोज्दै-खोज्दै धेरैे लखतरान भएर थकानपछि आखिर शहरमा आफ्ना सासूससुराहरुलाई भेट्टाए । थकाइ लागेकाले दिपक आरामले सुस्ताइरेहका थिए । पल्लो कोठामा यसरी सासूससुराहरू साउती मारिरहेको उसले सुन्यो
सासू :–आम्मामामा पोहोर साल आउने वितिक्कै हाम्रा नयाँ ज्वाईंले हामीलाई कति साह्रो व्यङ्ग्य गरेका । हामीले त शहरमा घर नै बनाउन नसक्ने जस्तो गरेका । अब त देखे होलान नि उनले हामीले पनि शहरमा घर बनाउन सक्छौं भनेर ।
ससुरा :–अब त छोरीको पनि इज्जत बच्यो । यसपाली मात्रै पोहोर ज्वाईंसँग भेटेका हाम्रा कुटुम्बहरू तथा गाउँलेदाजुभाइहरू गरी ८–१० गाउँका परिवारहरुले गाउँबाट शहर बसाइँ सरिसके । अब त झनै हाम्रो इज्जत हुने भयो ।
२०७४ असोज २८ शनिवार
बिजु सुवेदी “विजय”
भकतजनमार्ग, काठमाण्डौं
bijusubedi@gmail.com
