Skip to content


बाहिर भीडभाड र प्रतीक्षा
भित्र गफगाफ र ठट्टा
ढोकामा टाँगेर व्यस्त
के गर्दैछन् यिनीहरू
काम बाँडफाँड प्रमाण जोडजाम
कानुनी छिद्र प्रक्रियागत आधार
सेवा प्रवाहमा अर्पित
राष्ट्र सेवामा समर्पित !

बेहिसाब हिसाब किताब
बहिखाताको अग्लो खात
नाफा कम वित्तीय घाटा
के गर्दैछन् यिनीहरू
कागजी बाघ गोटी चाल
सुविधामा हर्षित
राष्ट्र सेवामा समर्पित !

गालीगलौज धारेहात
हिलो छ्यापाछ्याप स्वार्थी जात
घोषणापत्र र विधान
लोचदार संविधान
के गर्दैछन् यिनीहरू
पार्टी सङ्गठन सत्तामोह
प्रजातन्त्रमा अनूदित
राष्ट्र सेवामा समर्पित !

चुक्ली चाकडी
ध्यानमग्न भजनगान
पुरस्कारको आवेदन
कथित कविता र स्तुतिगान
भूपिहरूलाई पुरेर कविताकै चाङमुनि
के गर्दैछन् यिनीहरू
ढाकछोप हेराफेरी
दिग्भ्रमित ठालु निर्देशित
राष्ट्र सेवामा समर्पित !

यिनीहरू सबै जुटिरहेछन्
थापेर माकुरे तान
जनता भैसके हैरान
कतिञ्जेल राख्ने हो प्रदर्शनीमा-
बादशाहको नयाँ परिधान ?

रचना समय र स्थान ︰ २०५९ माघ २३, बेनी, म्याग्दी
प्रकाशित ︰ अनमोल पुरस्कारहरु, कविता सङ्ग्रह, २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *