Skip to content

डुबेको मधेशका गढेका दर्दहरू


कलैयाबाट गाडी चढ्दा मध्यान्ह टलिसके पनि टल्किरहेथ्यो शारदीय चमक आँखाभरि, मनभरि ।

तेलकुवाको चोकबाट अघि बढ्दा मधेशका केही भूभाग हेर्नपाउने उत्साहले उचालिइरहेथ्यो मन । चालक विजेश पटेलले हाँकिरहेको गाडीमा थियौँ वरिष्ठ गीतकार प्रमोद ढुङ्गाना र म ।

बाटोमा नाङ्गा भुतुङ्गा बच्चाहरू कुदिरहँदा वास्ता थिएन मलाई, अब त नाङ्गा मान्छेहरू पनि देखिनथाले । उसमाथि चर्को घाम खनिइरहेथ्यो टाउकैमा ।

एउटा नहर पछ्याएर कुदिरहेछ गाडी । पाकेको धान, फुलेको काँस र बाँसघारी हेरेर मन बहाउन खोज्छु म ।

मेरो आँखामा परेको तराई मधेशको जनजीवनमा सन्तोषको सास फेर्न मिल्ने केही नदेख्दा आहत भएको छ मन । खजुर र ताडीका एकाध आकृतिसँग क्षणिक राहत सापट लिनखोज्छु ।

नहरछेउको सुख्खा बाटो छोइँदा घाँटी सुकिरहेछ । ठूल्ठूला खाल्डा खोपिल्टामा थचारिँदा ढाड दुखिरहेछ ।

चर्को घामबाट जोगिन शीतलमा सियाँलिएका छन् मान्छे । तिनको नाङ्गो शरिरसँग डढिरहेछ मन । तिनको झुत्रे आवरणसँग दुखिरहेछ छाती । नेपाली दाजुभाइको ममताले बिझाइरहेछ आँखा ।

हरियाली खसेका ताल र तालका मसिना छाल हेरेर भुल्नखोज्छु एकछिन । पाक्न थालेको धानका झुलिरहेका सुनकेस्रे बाला हेरिरहन मन लाग्छ मलाई । शारदीय सुन्दरताको सुगन्ध भएर फैलिइरहेथ्यो धानको वास्ना । धानको वास्नासँगै मग्मगाइरहेथ्यो माटो र परिश्रमको वास्ना ।

म सोच्छु, माटो र परिश्रमको वास्ना जस्तो सुगन्धित अरु के होला यो दुनियाँमा ?

पोखरीको लस्कर देखेर रमाइरहेथेँ, गुरुजीको आवाजले शून्यमा झरेँ– माछा जति बाढीले बगायो यसपाली । हरेकवर्ष बाढी पस्ने बस्तीका कथाले मेरो मनका खुसीहरू पनि बढार्‍यो सोत्तर पारेर ।

बाढीले बिगारेको बाटोमा उफ्रिरहेथ्यो गाडी । मनमा पनि पसिरहेथ्यो बाढी । बर्खामा पानीको प्राकृतिक निकास थुनिँदा अधिकांश मधेशी घरआँगन डुब्छन् भन्ने सहयात्रीको भनाइ मुटुमा छिर्‍यो बाणसरि । छिमेकीले सीमानामा बाँध बाँध्दा निकास थुनिएको भन्ने सुनेरभन्दा आफ्नो मुलुकको राज्य–संयन्त्र कमजोर भएको देखेर भित्री मन बेस्सरी दुखेको छ यतिबेला ।

गरिबीको दुचक्रबाट सजिलै फुत्कन सक्दैन मान्छे । यही सम्झेर वरपरको हरियाली छिर्न सकेको छैन मनमा । चुपचाप ठडिइरहेछन् इटाभट्टा पनि अलिपल्तिरै ।

एकाध साइकल सरेर जान्छन् छेउबाट तर झुप्रे घरहरू सर्किएर टाढा जान सक्दैनन् मनबाट । ती मेरै आँखाबाट छिरेर मनमा बिझिरहेछन् चसचसी ।

निशब्द छन् बस्ती । स्तब्ध यो मनसँग चुइँक्क बोल्न खोज्दैनन् ती । शायद समथर फाँट सबै मेरै हो भनेजसरी मस्तले कुदेको चिल्लो गाडी देखेर कुँडिएको होला तिनको मन ।

दुखेको छातीमा सहानुभूतिका भावनाहरू थुपारेर हाइसञ्चो खोज्छु म । तर भावनाहरू सम्वेदनाका अन्तरकुन्तरभित्र छिरेर मनै डुबाउन खोज्छन् । म गहिरो सोचमा पर्छु, बाढीमा आफन्त र निर्वाह गुमाएका नेपालीहरूको मन झन् कति डुबेको होला आँसुको नीर दहमा ?

होचा घर र विशाल फाँटको आकार जति नापे पनि मिलाउन सक्दैन मनले । सम्पन्न फाँटमाथिका झुप्राहरूको हरिबिजोग हेर्न मुस्किल भइरहेछ आँखालाई ।

कुखरा फार्मको भत्केको बार देख्दा पनि बाढीको प्रलय उर्लिरहेछ आँखामा । बाढीले रित्याएको बस्तीमा कहाँ जानु ? के हेर्नु ? निरस छ मन । उत्साह खोसिएको यात्रामा घिस्रिरहेछु त्यसैत्यसै ।

बाढी पसेको मनभरि गरिबीको कुरुपता छिरेको छ । क्षितिजसम्म फैलिएको हरियालीलाई डढाउलाजसरी गरिबीले निचोरेको मनमा दन्किएको छ ज्वाला ।

पैदल यात्रीको धमिलो अनुहारसँग धमिलिन्छु एकछिन । सम्पन्न जति सबै शहरतिर सरेर गरिबहरू मात्र मेरो आँखाको डिलैडिल सल्बलाए जस्तो लाग्छ । म दुविधामा पर्छु, यत्रो सम्पन्न फाँटमा न्यूनतम पूर्वाधार पनि विकास नभएका बाढी पस्ने झुप्रे बस्ती मात्र किन भेटिएको होला ?

बनौलीको घुम्तीमा घुम्न लाग्दा आफ्नो मावली घर रौतहटको कटहरिया गाउँ सम्झनुहुन्छ प्रमोदजी । रक्सौलबाट घोडासन हुँदै कटहरिया जाने ऐतिहासिक मानचित्र मेरो मनमा पनि कोरिदिनुभयो उहाँले । जसरी गढीमाईदेखि करैयामाइसम्म पुग्दा कोरिएथ्यो एउटा कालजयी चित्र मनमा । जसरी पथलैया, जीतपुर सिमरा, निजगढ, वीरगञ्ज, प्रसौनी, कलैयालगायतका भूभाग टेक्दा सजिएथे अनेक चित्र हृदयमा । जसरी विजयनारायण मानन्धर, रितेन्द्र थापा, राजकुमार वैदवार, ज्ञानेन्द्र पराजुली, महेन्द्र चौधरी, भरत ढुङ्गाना, नरेश सर्राफ आदि सरकारी अधिकारीका सहयोग र सद्भावका छाप परेथे मनमा ।

चुनावी प्रचारप्रसारमा निस्किएका पोष्टर र झण्डाहरूसँग जम्काभेट हुन्छ धेरैचोटी । नेपालीको विश्वास, आस्था, प्रतिज्ञा र प्रतिबद्धता बोक्न सुझाउँछु नेपाली राजनीतिलाई मैले । भोक, रोग, अज्ञानतामाथि होइन, पूर्वाधारयुक्त सम्पन्न गाउँ शहर बनाएर नयाँ इतिहास रच्न सुझाउँछु । निम्न वर्गीय मधेशी समुदायको उत्थान गर्ने पूर्वाधारको जग थाप्न सुझाउँछु ।

‘राजनीतिमा क्रान्तिकारिता चाहिएला । असल नियतको क्रान्तिमा जनसमर्थन रहला । राजनीतिले नै हो मुलुकको उँभोगति लगाउने । असल नेतृत्व निर्वाचित भएर गर्ला नि राष्ट्र निर्माण एकदिन !’

‘तर, मुलुक निर्माणको सोच बोक्न नसक्ने फोहोरी खेललाई के को राजनीति मान्ने ?’

राजनीतिशास्त्रको विद्यार्थी हुँ भन्ने मेरा साथीहरूले चर्काचर्की बहस गरिरहेथे कुनै कलेजमा । म तन्द्राबाट व्युँझिएँ झल्यास्स ।

व्युँझिए पनि साथीले तेस्र्याएको प्रश्नले पारिरह्यो मर्माहत– ‘के मुलुक निर्माणको सोच बोक्न नसक्ने फोहोरी खेल नै भएर रहन्छ त नेपाली राजनीति सधैँ ?’

कलिलो उमेरको मान्छेले हाँकेको एकघोडे टाँगा देखेर पनि विषयान्तर हुनसकेको छैन मनमा । धेरैबेरसम्म घुमिरह्यो मनमा– संस्कारबद्ध हुन नसकेको मुलुकको राजनीतिको दर्दनाक अवस्था ।

पिपरपातीको विद्यालयमा रोकियौँ हामी एकछिन । विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूसँग भेटघाट भयो । वीर बहादुर नेपालीले चियापानीको व्यवस्था गर्नुभयो र मतदान तथा मतगणनाको तयारीसम्बन्धी जानकारी गराउनुभयो ।

एककिलोमीटरको दूरीमा भारतको जनमुक्तिनगर पर्छ रे भन्दै थिए कसैले । हामीलाई भने नेपालकै गाउँबस्ती नियाल्ने जब्बर चासो थियो ।

आदर्शकोटवालतर्फ गइरहँदा गुरुजी बोले, सिम्रौनगढ नजिकै पर्छ । सिम्रौनगढ जान नपाएको अपूरो इच्छाले बेस्सरी घोच्यो मलाई । सिम्रौनगढ जाने बाटोमा ठूल्ठूला अपहरण भएका छन् भन्दै कसैले मेरो इच्छामा तगारो हाल्न खोजेजस्तो लागेर झन् विरक्तियो मन ।

टाउकोमा ढक्की बोकेकी महिला छोडिई । ढक्कीमा उसको जीवन निर्वाहको सामल होला भन्ने कल्पेर धेरैबेरसम्म पछ्याएँ मैले । अनन्तमा एउटा बिन्दू जसरी उसको ढक्की खिइँदै खिइँदै बिलायो मेरो आँखाको तलाउमा । आँखा बिझायो । शायद, त्यो ढक्कीको धमिलो आकृति छिर्‍यो आँखामा । रुमालले आँखा पुछेँ । तर, जतिगरे पनि मन पुछ्‍न सकिन । आँखाको चिसो मनमा पस्यो ।

थाहा पाएँ, परिस्थितिको वेगिलो प्रवाह हेर्न नसक्दा धमिलिँदोरहेछ नजर, चिसिँदोरहेछ मन ।

झुप्रेघर, ख्याउटे मान्छे, रूञ्चेलागेका बच्चा, दुब्लापातला गाईवस्तु र कुखुराका चिचिले चल्लाहरू छरिएका छन् बाटोभरि । खाल्डाखुल्डी, धुलो र प्लास्टिकको फोहोर छ असरल्ल । मधेशमा जे छ बाटोमै छ सर्लक्क । तर यो सब देख्न दृष्टि चाहियो । दृष्टि भ्रम भए कहाँ देखिएला यो गरिबी र यी रित्ता रित्ता बस्तीहरू ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको अघिल्लोदिन उघ्रेको देखिन्थ्यो आकास । गाउँलेको चहलपहलभित्र खुलेका एकाध मुहारमा पनि देखिन्थ्यो चमक ।

मतदान अधिकृत दामोदर प्रसाद साहसँगै पटेर्वा गाउँको मतदानकेन्द्रमा पुग्यौँ हामी ।

ओहो कसरी हेर्नु पटेर्वाको अनुहार । युगौँदेखि भोकै नाङ्गै रहेर बिरामी जस्तो देखियो पटेर्वा । मान्छेहरूले केही खोजिरहेजस्तो । केही हराएजस्तो । समृद्धि हराएको गाउँमा जे खोजे पनि गरिबी नै भेटिइरहेथ्यो ।

गाउँमा खसी कुखुराको रगतको आहाल र मासुमा भन्केका झिँगा देख्दा लाग्थ्यो, कुनै पर्वमा मात्र हुन्छ त्यहाँ माछा मासुको व्यापार । कुनै दिवसको वर्षगाँठ मनाउन पकाइन्छ त्यहाँ मिठाइँ । कुनै उत्सव मनाउन निस्कन्छन् मान्छे उदासी अनुहारमै हतार हतार । इतिहासमा कतै नभेटिएको बस्तिरहेछ पटेर्वा । आदिम देशको हजारौँ वर्ष पहिलेको त्यो बस्तीमा अचानक पुग्दा निस्सासिएँ म । मान्छेको अनुहारको भाव प्रष्ट नबुझी कहाँ सकिन्छ र सन्तोषको सास फेर्न ?

जति नियाले पनि मान्छेहरूको रुञ्चे उदासी र अनभिज्ञ जिज्ञासा खुट्याउन सकिन मैले ।

दामोदरले चिया खाजा खुवाउन पटेर्वाका पसलहरू चहार्दै थिए । झुप्रा पसलमा सजिएका खाद्यवस्तु र मान्छेको उपस्थितिले विरक्तियो मन । झिँगा भन्केका खानेकुरा देख्दा लाग्थ्यो मैले भोक अन्यत्रै छोडेर आएको छु ।

स्नेही आदरभावप्रति कृतज्ञ हुँदै पटेर्वाबासी र दामोदरसँग बिदा भएथ्यौँ हामी ।

नाङ्गै घर फर्किरहेथे केही मान्छेहरू । आफ्नो उदासी लुकाउन खोज्दैथिए उनीहरू । ती नाङ्गा मान्छेको शरीरमा कहिले पर्ला उज्यालोको रङ ? मेरो मनमा बिझेको प्रश्नका तिखा काँढा कसले झिकिदेला खोई ? शायद नजिकिँदो निर्वाचनबाट छानिएर आउने युग प्रतिनिधिले । निर्वाचनसँग समस्त नेपालीका जस्तै अपेक्षा छन् मसँग पनि खातका खात ।

मुलुकमा समृद्धिको लहर ल्याउने असल जनप्रतिनिधिले जितुन् । मुलुकमा लोकतन्त्र सुदृढ होस् । राजनीतिक संस्कारको विकास होस् । राजनीतिक दलहरूभित्र पनि लोकतान्त्रिक परिपाटी बसोस् । स्रोतसाधनले सम्पन्न नेपालमा शान्ति, समृद्धि र सुशासन आवोस् । कुनैदिन मुलुक बन्नेमा आस पालेर बसेको छु म हरेक नेपालीजस्तै ।

हुलाकी मार्गको धुलाम्मे अनुहारमा पर्छन् नजर । ठूल्ठूला खोल्टा खोपिल्टाहरूमा भासिएर गन्तव्यहीन जस्तै बनिरहेथ्यो हुलाकी मार्ग । बाटोभर छरिएका पसिना छारो बनेर बिझिरहेथ्यो नेपाली आँखामा । युगौँदेखिका सपना छुरा बनेर कटकटी काटिरहेथ्यो नेपाली मनमुटुलाई । अपेक्षाहरूको बिस्कुन पोखिँदा आशातित मनहरू रोएका होलान् बेस्सरी । निर्वाहको पटुकी कसेर असहज पथमा दिनहुँ घिस्रिनुपर्दा कम्ती होला र पीडा ती मनमा ? मधेशका गरिब बस्ती जोड्ने हुलाकी राजमार्ग अलपत्र परेको देखेर धेरैबेर अल्मलिएथेँ म पनि । अँध्यारिँदै गएको क्षितिजतिर हेरेर लामो सुस्केरा हालेथेँ मैले ।

जमुनी नदी पार भयो । जमुनीको किनारमा जमेको धुलोको पत्रले फेरि धमिल्यायो बाटो ।

घाँस काटिरहेका मान्छेहरू भेटिए । ती मान्छेका गाईवस्तु र केटाकेटीप्रति मनमनै सद्भाव राखेँ मैले ।

आइपुग्यो अमरपट्टि, लगडा चोक । असरल्ल देखिन्थे खानपिनका सामानहरू । झिँगा र धुलोको त के प्रवाह गरिरहनु, उत्साहले धुरिइरहेथे मान्छेहरू । यही सोचेर चित्त बुझाएथेँ– मान्छेको खुसीमा बेखुसी किन हुने ?

बजारमा गरिबी नै किनमेल भइरहेजस्तो ठानेर उदेक लाग्यो मलाई । महामारीले सजिलै छोएर छटपटीनेहरू निरीह र निमुखा मधेशीबाहेक अरू छन् छैन मधेशमा, खुल्दुली भयो मलाई । छुवाछुत, भेदभाव बाँचिरहेका दलित र निम्न वर्गीय समुदायको पीडा अरू नेपालीको छातीमा दुख्छ दुख्दैन, छटपटी भयो मलाई ।

केहीदिन पहिले बाटो किनारमा कसैले लडाएर छोडेको झिँगा भन्केको बोल्न नसक्ने बिरामी मान्छे सम्झेर बिथोलिइरहेछ मन घरिघरि । उसलाई अस्पताल पुर्‍याएको जानकारी पाए पनि घाइते मानवीय सम्वेदना चस्किरहेछ घरिघरि ।

तिएर खोलो पार भए पनि मन छुटिरहेछ पछाडितिरै ।

गोरु गाडामा चढेर राम्ररी हिँड्न सकिरहेको छैन समय । अरूलाई पनि राम्ररी हिँड्न दिएको छैन लङ्गडो समयले । धुलाम्मे गोरु गाडाको चक्कामाथि बल्ड्याङ खाइरहेको छ गति । सुस्त गतिको पिछलग्गु हुनुपर्दा चस्किरहेछ छाती ।

साइकलका चक्कामा देख्छु युगल भार । चोक चोकमा सुन्छु युगीन चित्कार । तैपनि अँध्यारोले निल्न नसकेको रङ्गीन आकास नियाल्दै खजुरसँग खिचिन्छौँ प्रमोदजी र म । मधेशका गाउँबस्तीमा बक्र चालमा फैलिनखोज्ने आतङ्कका काला छायाँले भने तर्साउँछ हामीलाई ।

निर्माणाधीन पुलछेउको खोलाको मझधारमा स्टार्ट बन्द भएर अड्किएको रहेछ एम्बुलेन्स ।

एम्बुलेन्सलाई पाखा उतारेर कलैयाको बाटो समात्दा म सोच्छु, बिरामी समयलाई यसैगरी उद्दार गर्न सकियोस् हरेक खोलाखोल्सा, पाखापखेरा र गाउँबस्तीबाट । शान्ति, समृद्धि र विकासले निको पार्न सकियोस् डुबेको मधेशका गढेका दर्दहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *