कुमारीको घरबाट पारी डाँडामा मोटर कुदेको प्रष्ट देखिन्छ । कुमारीलाई भने त्यो मोटरमा चढेर टाढा कता कता जान मन नलागेको होइन, तर खै ! घर खेती र बस्तुभाउ यी सबै थोक त्यो मोटरमा अटाउन सक्तैनन् ।
उनका पति छोरो गर्भमै हुँदा मुंलान पसेको । मुंलान पनि के भन्नु र गाउँमा मान्छे कुटेर भागेको अँझैसम्म अत्तो पत्तो छैन । अस्ति नै एक पटक त बीर्खे कान्छाले बिराटनगरमा मोटरको डाइबर भएको छ भन्थ्यो । मोटर कुदाउँदै त्यो पारीको डाँडामा आएर पुँ पुँ बजाए पनि त हुने नि । कि उसलाई घरको छेउसम्म बाटो पुगेको थाहै छैन कि ! उसलाई घर आउन मन नभएर पो हो कि ! खै, के हो ! के हो ! !
अरुका बुडाले बिदेश गएर कत्ती धन कमाएर ल्याउँछन् । तल्ला गाउँको जसेले सदरमुकाममा घर बनायो । कत्रो धाक रवाफका साथ बोल्छन् यनीहरू । आफ्नु चैं भने ; उही पुरानै चाला । बिहान बेलुकाको छाक टार्न पनि धौ धौ हुन्छ । यसरी कुमारीको मनमा अनेकानेक कुरा खेलिरहन्छन् । घरकोपिंढीमा एकछिन् थकाई मार्न बसेकी, पारीको डाँडामा धुलो उडाउँदै गाडी कुदेको देखिन् । त्यही हेर्दा हेर्दै उनी त टोलाउन पो थालिछिन् ।
कुमारीको माइती गाउँ पनि नजिकै थियो । उनका आमाबाबु आफू सानै हुँदा मरेका र काका काकीले पालेर हुर्काएर १७ वर्षको उमेरमा बिहे गरेर त्यो घरमा पठाएका थिए । माइतमा पनि घाँस, दाउरा, पानी पँधेरो र डोको नाम्लोसँग परिचित भएकी कुमारी हाँसी खुसी घरजम गरेरै बसेकी थिइन् । पेटमा भर्खर तीन महिनाको बच्चा थियो उनका पति गाउँका साथीभाइसँग फिर्के बजार गएका उतै बस्सरी झगडा गरेछन् र मान्छे कुटीराखेर भागेका अहिलेसम्म पनि आएका हैनन् । कुमारी जहिले पनि दुखको दुखैमा बाध्य; उनले कहिल्यै पनि राम्रो नाना र मिठो खानाको सपना देख्न भ्याइनन् । जहिले पनि कामको हतार यही हतारोको चटारोले गर्दा कुनैबेला बिरामी हुन समेत भ्याउने अवस्था भएन ।
ससुराले जहिले पनि जाँड खाएर घर आउने । मातेपछि घरमा झगडै गर्नु पर्ने । जहिले पनि सासू र ससुराको झगडा भैरहन्थ्यो । कयौ चोटी त उनले सासू ससुराको झगडा छुट्याउँदा आफूले पनि ससुराको कुटाइ नखाएकि होइनन् । सधैं सधैं यस्तै त हो नि भनेर उनी घरको काममा व्यस्त थिइन् ससुरा बाजेले त सासूलाई घरको भित्तामा चेप्ट्याएर घाँटी निचार्दै मार्छु आज चैं भन्दै गरेको अवस्थामा देखिन् । हतार आत्तिएर छुट्याउँन गएकी उनलाई नै ससुराले लात्तले हानेर पर उछिट्याइदिए । हुर्रिएर उनी दैलाको ठेलामा पछारिन पुगिन् । टाउको ठोक्िएर टुटुल्को उठेछ । पेटको बच्चाको बरेमा त उनको सोचै भएन । धन्न कुमारी जुरुक्कै उठिन् तर पनि उनको शरीर सन्तुलनमा आएन र घर भित्र पसेर मझेरीमा ओछ्याइ राखेको सुकुलमा सुतिन् । रिगटा लागेर उनको शरीर घुमिरहेको जस्तो भयो । ससुरा फतफतउँदै तघारो नाघेर बाहिरतिर लागे । सासू भुतभुताउँदै घर भित्र पसिन् । हो त्यही दिन देखि उनले ससुराको मुख देख्न पाइनन् ।
अलिपर्तिर घर नजिकै ठुलो भीर थियो । बाबै त ऐरिएछन् त्यहीँबाट । त्यो ठाउँबाट झरेको जो कोही पनि बाँच्ने सम्भावना कमै हुन्थ्यो । गाउँलेहरूले बोकेर त ल्याए तर बुढा अघि नै परमधाम भैसकेका । गर्भवती महिलाले लाश हेर्नु हुदैन भनेर कुमारीलाई ससुराको लाश समेत हेर्न दिएनन् । बेहारा जे जस्तो भए पनि एकाघरको परिवार कुमारीलाई ससुराको माया खुब लाग्यो तैपनि अन्तिम समयमा अनुहार समेत हेर्न नहुने हाम्रो अन्धसमाजले उनलाई ससुराको पर्थिब शरीरमा एकथोपो आँशु झार्नबाट समेत बन्चित गर्यो । उनलाई ससुराको अनुहार हेर्न मन पनि नलागेको होइन, तर पनि उनको पेट भित्र बच्चा थियो । त्यो अबोध शिशुलाई केही भैहाल्यो भने………. ? जति मात्रामा ससुराको माया थियो, त्योभन्दा बढी माया पेट भित्रको बच्चाको हुँदो रहेछ । त्यही भएर उनले ससुराको लाश हेर्न सकिनन् ।
आँगनमा मलामीहरू भेला भैसकेका थिए । धेरैजना मान्छेको कल्याङ कुलुङ हल्लखल्ल निकै हुदै थियो, कोही रुन खोज्दै थिए त कोही सम्झउाने कोसिश गर्दै थिए । बुढी आमै सकिुवामा कंकलाशब्द गर्दै थिइन् । बुहारी मझेरी सुतेकी त्यहीँ भक्कानिन थालिन् । महिलाहरू बुढीमाउतिर सम्झाउन लागे । उता कुमारीको भने पेट दुख्न थाल्यो । पहिले त उनलाई सामान्य जस्तो लागेको थियो । बिस्तारै बिस्तारै दुखाई बढ्न थाल्यो उनलाई खपिनसक्नुभयो । बाहिर आँगनमा ससुराको लाश बाँधिदै थियो भित्र बुहारीलाई बेथाले चाप्तै लान थाल्यो । केही महिलाहरू कुमारीको स्याहार सुसारमा लागे कोही चैं बुढीमाउलाई सम्झाइबुझाई गर्न थाले । ससुराको लाश पनि उठाइयो बुहारीको पनि पेटको बच्चाले उखर्माउलो गर्न थाल्यो । सबै मलामीहरू लाश लिएर घाटतिर लागे यता कुमारीलाई झन् झन् सारो पर्न थाल्यो । घरमा सासू बुहारी नै आलसतालस भएकाछन् । कोही सासूलाई पानी छ्याप्तै छन् भने कोही बुहारीलाई अस्पताल लाने कुरा गर्दे थिए, यस्तै अवस्थामा कुमा रीले छोरो जन्माइन् ।
घाटमा बाजेको दह संस्कार हुदैछ । यता घरमा भने नाति जन्मियो । यस्तो घटना त संसारमा बिरलै घट्ने गर्छ । यता सुत्केरीको स्याहार सुसार पनि गर्नु पर्ने उता जुठो पनि बार्नु पर्ने । सबै दाजुभई आफन्त आफ्नु जात परम्पराले गर्ने कृत्य गरे । अब चलन अनुसार बच्चाको न्वरान गर्नु पर्यो । बाजे मरेर जुठो परेको अवस्थामा जन्मेको हुनाले बच्चाको नम जुठे राखियो ।
सासू बुहारी भएर जुठेको लालनपालन राम्ररी नै गरे । महिना नपुगी जन्मिएको बच्चा खिनौटे र दुब्लो थियो । जस्तै दुख भए पनि, राम्रो स्याहर सुसार गरेर कुमारीले आफ्नो छोरालाई हुर्काइन् । दिन प्रतिदिन कुमारीकी सासू पनि थलिन थालिन् । कुमारीको काँधमा अझै ठुलो जिम्मेवारी थपिन पुग्यो । खेतीपाती र बस्तु भाउ त छँदै छन् । साथै अब सासूको र आफ्नु छोराको पनि स्याहार सुसार गर्नु पर्यो कुमारीले । जग्गा जमिन थोरै भए पनि मनग्गे खान पुग्थ्यो । अब चैं आफूले खेती गर्न सम्भब थिएन सबै जग्गा अधियाँ लगाउनु पर्यो । बिहान देखि बेलुकासम्म एकछिन पनि टुसुक्क नबसीकन गरेको गर्यै गर्दा पनि सुसे धन्दा कहिल्यै सकिन्दैन । कोक्रामा नाम्लो लाएर पिठ्यँमा बोकीबोकी गाठालो खेतालो गर्दै घर व्यवहार चलाइरहेकी कुमारीको जीवनमा फेरि अर्को बज्रपात पर्यो । कुमारीकी सासू साह्रै बिरामी भइन् । धामी झाँक्रीले पनि पार लागेन र स्वास्थ्य चौकी पुर्याइयो । त्यहाँबाट पनि पार नलागेर जिल्ला सदरमुकामको अस्पतालमा लाने कुरा भयो । एकजना दरो मान्छे भरिया खोजेर डोकामा बोकेर लाने कुरा भयो । भरियाले बिरामीलाई डोकामा बोक्यो, कुमारीले छोरालाई कोक्रामा नम्लोलाएर बोकिन् । दिनभरिको बाटो हिडेपछि साँझमा बास बसेका थिए; त्यहीँ नै बास बसेको ठाउँमा बुढी आमैको चोला उठ्यो ।
समयको चक्रले कयौं फन्को मारिसक्यो, अब त जुठे पनि एघार वर्ष लाग्यो । जुठेको बाउको अझैसम्म पनि अत्तो पत्तो छैन । कुमारीको पनि पहिचान फेरिइसक्यो । गाउँ भरिमा सबैले जुठेकी आमाभन्दा मात्र चिन्छन् । जुठेले बाउबाजेको अनुहारै देख्न पाएन । आफू गर्भमै हुँदा बाउ बेपत्ता भएको र बाजे मरेकै दिन आफू जन्मेको भन्ने कुरा चै उसलाई सबैले भन्दै आएका हुनाले उसले पनि कण्ठै पारेको छ । आफू कोक्रामै हुदा बोजु पनि परमधाम गएकी बीचरा जुठे कस्तो भाग्य लिएर आएको रहेछ । जुठेकी आमाले दुखै गरेर भए पनि जुठेलाई सुखैसाथ राखेकी थिइन् ।
गाउँका दाजुभई भनाउँदाहरू चैंं, जुठेकी आमालाई त्यहाबाट हटाउँन चाहन्थे । उनको जग्गा जमिन हडप्न कोसिशमा लागेका थिए । जुठेकी आमालाई पन्छाउन पाए त जुठेको लालन पालन गर्ने निहुमा आफू ढलिमली गर्न पाइन्छ भनेर अनेक षडयन्त्र बुन्न लगेका थिए । सधैं जसो जुठेकी आमालाई शंकालु दुष्टि मात्र लाएका हुन्थे । कुनै लोग्ने मान्छेसँग बोल्नु नहुने । एचोटी त पल्ला गाउँको झाँक्री साइलासित बात लगाउँन पनि खोजे । कहाँ जान्छे कोसित बोल्छे खुब चियो र चर्चो मात्र गरिरहन्थे ।
एक दिनको कुरा हो, पँधेरबाट पानी लिएर आउँदै गर्दा जुठेकी आमाको र मास्टर बाजेको जम्का भेट भएकोथियो । पानीको गाग्री बोकि बोकि जुठेको पढाईको बारेमा थोरै मात्र कुरा भएको थियो । कसैले त्यही कुरालाई प्रचार गरिदिएछ । उनीलाई अब मास्टर बाजेसित एकान्तमा बसेर बातमारेको आरोप आइलागि हाल्यो । भोलिपल्टै गाउँलेहरूका एक ग्रुप गएर मास्टर बाजेलाई हप्काई हालेछन् । जुठेकी आमालाई पनि आफन्तहरूबाट चेतावनीका शब्दहरू आउन थाले ।
जुठेकी आमाको घरमा एक दिन धेरै मान्छे भेला भएका थिए । त्यहाँ मास्टर बाजेलाई पनि ल्याइएको थियो ।
“ ऐ ! मास्टर ! ! लु भन् त ? तैंले जुठेकी आमालाई के के गरिस् ? ” – एउटाले भन्यो ।
“ मैले कसैलाई पनि केही गरेको छैन । ”– मास्टर बाजे कड्किए ।
“अरु कसैको कुरा हैन, जुठेकी आमा सितको कुरा हो भन्छस् भने भन् ; नत्र भने तेरो चिन्ता हुन्छ याहाँ । ”– अर्को कस्सिएर अघि सर्दै थियो ।
“पँधेराको जङ्गलमा दुईजना मात्र किन एकान्तमा बस्यौ ?”– कैलेले पनि झम्टियो मास्टर बाजेलाई ।
मास्टरलाई आज नखाएको बीष लाग्यो । उनले त्यहाँबाट उम्किने कोशिस गरे तर उनलाई भागेर जितिन्छ जस्तो लागेन । अब भने उनले त्यो समाजको बिरुद्ध, सत्यको पक्षमा लड्नु पर्ने भयो । त्यहाँबाट उम्किने मात्र उपाय सोच्दै थिए उनलाई ओरिपरिबाट घेरेर बसेका युवाहरू लछार पछार गर्न थाले । अर्कोतिर जुठेकी आमालाई महिलाहरूको समुहले जगल्ट्याउन थाले भने उनी रुन र कराउँन थालिन् । उनले जाने जति सुने जति सबै देवी देताको नाम पुकारेर हार गुहार माग्दै थिइन् । यस्तो कारुणिक पुकार सुन्ने खालको त्यो समाज कहाँ थियो र ? यतिकैमा एउटाले भन्यो –“ अब यी दुईजनालाई चार पाटा मुडेर यो गाउँबाट खेद्नु पर्छ, ” ।
“त्यतिले मात्र कहाँ पुग्छ र ? इनेरुलाई त जुत्ताको माला लगाएर डाँडापारीसम्म पुर्याउनु पर्छ ”– अर्काले भन्दै थियो ।
मास्टर बाजेले आफू दोषी नभएको कुरा बारम्बर भनिरहे । तर पनि ती पिसाचहरूले सुन्दै सुनेन् । जुठेकी आमालाई झन् बोल्नै दिदैनथे । समय बित्तै गयो मान्छेहरू थपिन्दै गए । हुदाहदै त्यहाँ अझै ठुलो भीड भयो । धेरै महिलाहरू पनि भेला भैसकेका थिए ता पनि जुठेकी आमाका पक्षमा कोही पनि बोलेनन् । एकजना महिलाले त जुठेकी आमालाई झम्टिन पुगि । अर्कीले जगल्ट्याउन थाली । सबै होहल्ला गर्न थाले । बीचरा ! जुठेकी आमालाई थिल(थिलो पारे । उनी डाँको छाडेर रोइरहेकी थिइन् । आइमाईहरू गाली गरिनै रहेका थिए । अर्कोतिर मास्टरलाई पनि केटाहरूले अघि नै पाता कसिसकेका थिए । कसैले लात्तले हान्ने त कसैले मुक्काले हान्ने गर्न थाले त्यसरी मास्टरलाई पनि नराम्रोसित थला पारे ।
“यो त अत्ती नै भयो ”– भन्दै मास्टरले के बल गरेका थिए बाँधेको डोरी चट्टै छिन्यो । आफ्ना अघिल्तिर भएका दुईजना तिघ्रेलाई ढालेर उनी त्यो अत्याचारी समाजको बिरुद्ध लडेर न्याय प्राप्त गर्ने उद्घोष गरेर सबैको अघाडिबाटै बाहिरतिर लागे । मास्टर बाजे हिडिसकेपछि त्यहाँका सबै जना बाटो लागे । मास्टर साँझमा छिमेकी गाउँको मास्टरको डेराम पुगेर बास बसे । आफू माथि भएको त्यो अन्यायको बारेमा सबै कुरा सुनाए । भोलिपलट बिहान मास्टरहरू दुवैजना प्रधानपञ्चको घरमा पुगे । प्रधान पञ्चले पनि घुमाउरो पाराले मास्टर नै दोषी भएको कुरा गरेको हाँदा त्यहाँबाट पार नलाग्ने ठानेर दुवैजना ठानातिर लागे । अर्को दिन बिहान सबेरै देखि प्रधानपञ्चको घरमा मान्छे भेला हुँदै थिए । सबैजना मास्टर र जुठेकी आमाकै बारेमा कुरा गर्थे । त्यही बोला एकजनाले जुठेकी आमालाई लिएर आइपुग्यो । जुठेकी आमा आफू निर्दोष भएको र कैले लगायत केही आफ्नै मान्छेहरूले आरोप मात्र लगाएका हुन् भनेर भन्दै थिइन् । प्रधानपञ्च उनैलाई हप्काउँदै थियो । अभद्र व्यवहार गर्दै नराम्रा शब्दहरू निकालेर उनैलाई दोषी बनाउँदै प्रधानपञ्च फैसला गर्न तयार हुदै थियो । अब जुठेकी आमालाई मास्टरको जिम्मा लगाउँने कैलेको तर्फबाट भोज को आयाजना गर्ने भन्दै सबै जना भोज खान हतारिइरहेका बेला, दुईजना पुलिसका साथमा मास्टर पनि टुप्लुक्क आइपुगे ।
“खबरदार ! यहाँ के हुँदैछ …… ? ”– पुलिसको हवल्दार कड्कियो । पुलिस देख्ने साथ कैलेका सहयोगीहरू अलिअलि गर्दै पछाडि हट्तै भाग्दै गर्न थालिहाले । कैलेलाई प्रहरीले लिएर गयो । प्रधान पञ्च पनि हेरेको हेर्यै भयो ।
प्रहरी चौकीमा धेरैजना मानिस भेला भएका थिए । प्रधान पञ्च लगायत गाउँका सबै भद्र भलाद्मीको अघिल्तिर जुठेकी आमालाई उभ्याइएको थियो । उनी आफू निर्दोष भएको कुरा व्यक्त गरिरहेकी थिइन् । मास्टर बाजे र आफ्नु कुनै प्रकारको सम्बन्ध नरहेको कुरा प्रष्ट पार्दै थिइन् । प्रहरीहरू पनि निक्कै कडाइका साथ केरकार गर्दै थिए । बाहिर पटि भेलाभएका अन्य मान्छेहरू आ–आफ्ना कुरा गरिरहेका थिए, मास्टर बाजेलाई जुठेकी आमा जिम्मा लगाएरै छाड्ने मनस्थिति लिएर बसेका हुनाले; भरे बेलुका कैलेका तर्फबाट भोज खाने सुरमा थिए ।
दुईजना अरु पनि साथीहरूका साथमा मास्टर बाजे पनि टुप्लुक्क आइपुगे । तिनीहरू सरासर चौकी भित्र पसे । असइले जुठेकी आमालाई अर्को कोठातिर पठाएर अब मास्टरको बयान लिन सुरु गरे । कैलेले सिधै जुठेकी आमाको घरबारी लगायत सम्पूर्ण सम्पत्ती हडप्न गरेको सडयन्त्रलाई बेलिबिस्तार लाउँदै आफू निर्दोष भएको कुरा व्यक्त गरे। र आफू र जुठेकी आमाको भेट बाटामा भएको र उभिइ उभिइ नै एकछिन बात मारेको मात्र भने । यता मास्टर को बयान र जुठेकी आमाको बयानमा कुनै किसिमको फरक थिएन ।
प्रहरी चौकिमा भेला भएका मान्छेहरू प्रधान पञ्च समेत लागेर मास्टर बाजे र जुठेकी आमाको बिहे गराई दिने र कैलेको तर्फबाट भोजको आयोजना गर्ने तर्खरमा लाग्दै थिए । चौकीका इन्चार्जले बाहिर निस्केर सबैलाई साम्य पार्दै के निर्णय भो भन्ने कुरा सुनाउन अघि सर्दै गर्दा प्रधान पञ्चले प्याच्च बोले बेहुला बेहुलीलाई मालाको व्यवस्था पनि गर्न पर्ला नि हौ असई साब भनेका मात्र थिए । असईले कड्केर जवाफ दिए प्रधानपञ्चज्यू तपाईंहरू जस्ता मान्छे यो ठाउँमा भएर नै यहाँको विकाश हुन नसकेको रहेछ । तपाईंहरू निर्दोष मान्छेलाई दोषी बनाएर भुडि भर्दै आउनु भएको रहेछ । कुमारी र मास्टरको कुनै किसिमको गल्ती भेटिएन । योभन्दा पहिले पनि कैलेले कुमारीको बारेमा अनेक अफबाह फैलाएको रहेछ । हाम्रो अनुसन्धानमा कतै पनि कुमारीको चरित्रमा कुनै प्रकारको खोट पाउन सकिएन र मास्टरको पनि नियत कहिल्यै खराब भएको थाहा भएन । मास्टर त सेवाको भावना भएको सबै गरिब दुखी तथा निशहाय प्रति सहानुभूति राख्ने र परिआएको अवश्थामा जे जसरी भएपनि सबैलाई सेवा गर्ने मान्छे भन्ने कुरा हाम्रो अनुसन्धानबाट प्राप्त गरेका प्रमाणहरू हुन । अब भने यहाँ कारबाही कसलाई हुने भन्ने बारेमा आएको कुरा हो । अब नेपालको कानून अनुसार कैलेलाई गाली बेइजती र कुटपिट गरेको कसुरमा अदालतमा मुद्धा चल्छ । कि चै भने कुमारी र मास्टर समक्ष कैलेले माफि माग्नु पर्छ । अब देखी म यस्तो गर्दिन भनेर माफि माग्नु पर्छ । प्रधान पञ्च जिल्ल परेर उभिरहे । कैलेले पनि आफ्नो भनाई राख्न पाउनुपर्छ भन्दै प्रधान पञ्च अघि बढे ।
धेरै जना मान्छेमा कल्याङकुलुङ हल्लखल्ल हुदै थियो कोही रमिता हेर्न मात्र भेला भएका थिए । ती आ—आफ्ना घर फर्किन थाले । घर फर्किने क्रममा बाटाको छेउमा बसेको जुठेसँग एउटा मान्छे पनि थियो जसले झोला बोकेको थियो । ऊ जुठेलाई सोध्दै थियो, “यो माथिको घरमा मान्छे छैनन्” ?
“छन” जुठेले छोटो उत्तर दियो ।
“अनि खै त ?” आमा त चौकी गइन त्यहाँ गाउँका सबै मान्छे भेला भएका छन ।” जुठेले भन्यो ।
बटुवा के भएछ हँ भन्दै चौकीतिर लाग्ने भयो उसले बाटोमा धेरै जना मान्छे भेट्टायो । गाउँका साथीभाइ, काका, दाजु, सबैले उसलाई भएभरको कुरा बताइहाले । उसले भेटेका जति सबैलाई चौकीतिर फर्किएर जाने आग्रह गर्यो । सबै जना फर्केर उही पुगे ।
चौकीमा मिलापत्र गर्ने भनेर प्रधानपञ्चको रोहवरमा कागज लेखिदै थियो । कैलेले माफ मागिसकेकोले अब कागजमा सही छाप गर्न मात्र बाँकी थियो । असइले कागज लेखिसकेर; सबै उपस्थित जनसमुदाय समक्ष बाचन गरे । बाचन गरिसकेपछि कैलेलाई र जुठेकी आमालाई कागजमा सही छाप गराउने क्रममा कैलेले सही गरिसकेर जुठेकी आमाको सही गर्ने बेलामा बाहिरतिर भीडबाट कसैले कराएर भन्यो पख अहिले सहिछाप गर्ने होइन । जुठेकी आमालाई कताकता चिनेको जस्तो आवाज लाग्यो । ऊ झसङ्ग भएर जुरुक्क उठि । भीड पन्छाउँदै एक जना नौलो मान्छे भित्र पसेर कैलेको कठालो समात्न पुग्यो । हत्तपत्त प्रहरीहरूले छुट्याइहाले । सबै भद्रभलाद्मीहरू छक्क पर्दै पछि सरे ।
यो त त्यै जुठेको बाउ हो, सबैले भने । कुमारीले आफ्नो पतिलाई चिनिहालिन् अब उनी उसको गोडामा छाँद हाल्न पुगिन् । दुवै जनाको आँखामा आँसुको भेल बग्न थाल्यो । सबै गाउँलेहरू आपसमा मुखामुख गर्न थाले । प्रहरीहरू पनि अचम्म मान्दै बसिरहेका थिए । उता प्रधानपञ्चको इशारामा कैले अघि नै भागिसकेको थियो ।
चौकीबाट सबै मान्छे तितरवितर भैसकेका थिए । जुठेकी आमा र जुठेको बाउको मिलन भैसकेको अवस्थामा प्रहरीहरू उनीहरूलाई घरसम्म पुर्याउन गए । जुठेको बाउले आफू पनि दोषी भएको र त्यै कैलेको उक्साहटमा लागेर फिर्के बजारमा मान्छे कुटियो अब त्यो कुटाइखानेले बाँकी राख्दैन भनेर हिँडेको १२ वर्ष पछि घर आउँदा पनि त्यही कैलेको मनपरी म कसरी सहन सक्छु त अब यसलाई । कि तपाईंहरूले यसलाई सजाय दिलाउनुपर्छ यदि सक्नुहुन्न भने म आफैँ तहमा ल्याएर टुङ्गो लगाउँछु,। जुठेको बाउले भन्यो । राष्ट्रको कानूनले जे भनेको छ त्यही अनुसारको कार्बाही गर्न हामी कटिबद्ध छौँ । तपाईंले केही गर्नुपर्दैन बरु कुनै बेला तपाईंको सहयोग चाहिएमा खबर गर्ने छौँ भन्दै प्रहरीहरू बिदा भए ।
उता मास्टरले जिल्लामा गएर कैले लगायत सबै उसका मतियार बिरुद्ध जाहेरी दिइसकेछन । जिल्लाको टोलि पनि चौकीमा आइपुग्यो । धुइपत्ताल खोज्दा पनि प्रहरीले कैलेलाई फेला पार्न सकेन । कैले कतै टाढा भागिसकेछ । हामीले यहाँ भेट्टाएनौँ कतै तपाईंको सहयोगले फेला परिहाल्थ्यो कि । चौकीका इन्चार्जले जुठेको बाउलाई सुनाए । जुठेको बाउले गाउँका दुई चार जना साथी लिएर सबैलाई टुङ्गा टुङ्गामा चियो गर्न पठाएका थिए । कैले गाउँमै कतै लुकेर बसेको कुरा विश्वस्त सुत्रबाट थाहा भयो । तर कहाँ छ ?
संकास्पद स्थानमा प्रहरीले खानतलास गर्दा प्रधानपञ्चकै घरमा कैले फेला पर्यो । कैलेलाई संरक्षण गरेको अभियोगमा प्रधानपञ्चलाई पनि प्रहरीले छाडेन । कैले र प्रधानपञ्च दुवैलाई जिल्ला पुर्याइयो । जिल्लाबाट प्रधानपञ्च छुटेर आइहाले, कैलेलाई भने अदालत हाजिर गराइयो ।
जुठेकी आमालाई पनि फटाहाले सजाय पाएकोमा ढुक्क लाग्यो । जुठेको बाउ अब गाउँमा सबैको हाइहाइ भयो । सबैले स्याबासी दिए । ठिक्क बेलामा आइपुगेर एउटा बदमासलाई मिलापत्र गराई कानूनबाट छुटकारा दिलाउन आँटेकोमा उसले त्यसलाई रोकी कानूनको बाटोमा पुर्याएकोमा सबैले धन्यवाद दिए ।
समाप्त
