Skip to content


बर्खे भेल
उर्लेर गडगडाउँदै
उँधो-उँधो बग्दै आउँदा
संघर्षशीलहरुको
एउटा ठूलो दस्ता बनाएर
उभौलीमा
पहाड जत्रै विराट संघर्ष बोकेर
नदीको वेग,
पानीको उल्टो धार
केही नभनी
उकालै उकालो चढिजाने
संघर्षशील माछाहरु,
तिनीहरु
मानव सभ्यतामा पूजनीय हुन् ।

मुन्धुमले भन्छ,
मुन्धुमले भन्छ,
अक्वानामा
तिनीहरुले
पातालमुनी बसेर भुइचालो ल्याउँछन् ।
सृष्टिको बेला
पातालमुनीको विशाल चट्टानी प्लेटहरु
तिनिहरुले हल्लाउँदा
धर्ती फाटेर जल उम्रियो
जल सिचिएर
जीवन, वनस्पतिहरुको सृष्टि भयो
नदी बन्यो, माटो बन्यो ।

खै कुन अज्ञात चैतन्य हो त्यो
निरन्तर संघर्ष गर्न सिकेका तिनीहरुले
झन भेलबाढीमा
ठाडो पानीको बेगमा
उकालो पो चढ्न सिकेछन् ।

हामी,
उँधो बगाएर
उँभो खोज्ने मति भएकाहरु
हामी उकालो चढ्न कहालिनेहरु
प्रकृति विर्सेर
चन्द्रमा टेकेको फुर्ति लगाउनेहरु
चिप्ले ढुङ्गाको धारैधार
पल्र्टाई जाने पानीको बेग
त्यो सबै खेप्दै
उभौलीमा उँभोउँभो चढिजाने
तिनीहरुको संघर्षको कथाभन्दा
प्रविधिले सजिएर
चुचुरोमा पुग्नुमा गौरब गर्र्छौ ।

हामी,
प्रकृति विर्सनेहरु
पानीले बगाउँछ भन्नेहरु
छालले हुत्याउँछ भन्दै
त्यही भ्रममा रुमल्लिएकाहरु
खै त ?
तिनीहरुलाई आजसम्म नदीको कुन बेगले बगायो ?
खै,
कुन छालले हुत्यायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *