हेरी अघाइन्न भने भने झैं हुँदै थियो आफू कतै भुलेझैं
सौन्दर्यले मोहित नै गरायो बेनी पुगेको तब याद आयो ।।
लागें उकालो जब खाँचबाट आयो कताबाट मभित्र आँट
देखी हिमाच्छादित ठाँटबाँट, स्वर्गै पुगेको तब हुन्छ छाँट ।
त्यो दिव्यता जो कसरी म पाऊँ जो देवताको भरिपूर्ण ठाउँ
यतै बसी अन्त कतै जनाऊँ यो जोममा सोमसँगै रमाऊँ ।।
देखिन्न त्यो रोग र व्याधि औलो देखिन्छ जे जे सब हुन्छ नौलो
सुसभ्यताको छ मिठाे मुहान, भूस्वर्ग भन्ने पनि हुन्छ भान ।।
हिमालमा घाम खुली रहन्छन् मानौं यहाँ जून फुली रहन्छन्
जाडो जसै बढ्छ हिमाल आफैं पर्दा लगाएर भुली रहन्छन् ।।
उडेर स्वर्गैतिर जाऊँ जाऊँ उतैकतै जिन्दगी यो सजाऊँ
यो दृश्य हेर्दा मन हुन्छ यस्तो मार्फातिरै फेरि फिरेर आऊँ ।।
गौरीसँगै शङ्कर मुस्कुराई कैलास छाडेर सुटुक्क आई
बस्छन् भनेझैं तब हुन्छ भान सद्भावनाको यही हो मुहान ।।
झन् साँझमा हुन्छ सबै सुनौलो छाँगा सुनौलो छहरा सुनौलो
हिमालको आकृति झन् सुनौ मार्फा सुनौलो टुकुचे सुनौलो ।।
सौन्दर्यले मोहित मुक्तिनाथ बस्छन् सँगै शङ्कर गौरीसाथ
आऊ यतै आसिक दिन्छु भन्दै मानौं सधैं उठ्दछ एक हात ।।
ठान्थें म सौभाग्य सबै गएछ सौभाग्यता केही अझै रहेछ
सहस्रधाराहरुबाट झर्ने मुहान यो गण्डकीको रहेछ ।।
यहाँ छ हावा र यतै छ पानी यहाँ छ सन्ध्या र यतै बिहानी ।
सद्भावको बोध यतै रहेछ थाहै बिना होम बुढो भएछ ।।
