Skip to content

बाेर्डिङ विद्यालयका क्रियापुत्रि

बोर्डिङ् विद्यालयहरुका किरियापुत्रि
होम सुवेदी

कहिले झुत्रे कहिले पोके कहिले बाजे र केहिले मेची पारिको श्याल जस्ता जेभाँतीका नाम राखेर स्थानीय पत्रपत्रिकाहरुमा एकनाससँग बोर्डिङको खल्को काढिरहेका एक जना ठेट्टरले अब ता बोर्डिङ्को खल्को गरिसके कि त भनेर यसो लोकल पत्रिका हेरेको मात्र के थिएँ तालुमा लगाउँदा नाइटामा चिलाउने खाले भाषामा अझै पनि बोर्डिङको किरिया गरिरहेका रहेछन् । यिनले यो छोपो ओढ्न कहिले छाड्लान् त भनेर मलाई यिनको इतिहास उधिन्न र वर्तमान निफन्न कर लगायो । उहिले उहिले आमाबाबुको किरिया एक वर्षमा सकिन्थ्यो अरे । व्यासले पनि महाभारतका अठार पर्व केही वर्षमा लेखिसकेका थिए अरे तर यिनले बोर्डिङको किरिया गर्ने छोपो पन्ध्र विस वर्षदेखि ओढेका छन् ओढेका छन् । बोर्डिङको गरुडापुराण लेखेका छन् लेखेका छन् । कति निष्ठावान् छन् यी वोर्डिङका लागि । कति धेरै दिनसम्म कति लामो किरिया गरेका हुन् जानिनसक्नु छ । कति लेख्ने हुन् यिनले बोर्डिङ महाभारत । यसैले सकिन्छ भने यिनलाई देशका सबै बोर्डिङहरु मिलेर अभिनन्दन गर्नु पर्ने हो । किरिया बसेकै ठाउँमै गएर बोर्डिङहरुले सम्मान, समवेदना र अभिनन्दन गर्न हतार भइसक्यो । के हेरिरहेका छन् यी बोर्डिङ स्कुलहरु ।
ठ्याक्कै यही मितिदेखि यिनी बोर्डिङहरुको किरिया गर्न कोरामा पसे भनेर भन्न सकिन्न । त्यो बेला यिनले अलिकति ज्वाइँ चेला मलामीहरु लिएर बोर्डिङको सद्गति गरेको जस्तो झल्याक झुलुक सम्झन्छु । भुली पनि सकिएछ । त्यो कुरा भुले पनि र त्यसरी भन्न नसकिए पनि छोराछोरीलाई बोर्डिङमा नर्सरीमा भर्ना गरेपछि नै यिनले कपाल खौरेर बोर्डिङको किरिया गर्न कोरामा पसेका हुन् भन्ने कुरा भने म झलझली सम्झन्छु । अनि अहिले उनका तिनै बालबालिकाहरु उनले किरिया गर्ने तिनै बोर्डिङले पढाइलेखाइ गरेर हुर्काइदिए । सित्यैमा पढाइदिनु पथ्र्यो कोरामा बसेका क्रियापुत्रीका सन्तानलाई । तर यो काम बोर्डिङले गरिदिएन । यसैले उनी खौलो उतारिरहेका छन् क्रिया बारिहेका छन्, गँहुत खाएर चोखिएका छ्रैनन् । उनका सन्तानहरुका लागि शिक्षाको पनि सानोतिनो प्रबन्ध मात्र गरिदियो बोर्डिङले । ब्रतबन्ध, विवाह, क्षौर, गुन्यूचोली, विवाह आदि जातककर्म भने बोर्डिङले गरिदिएन । पढाइलेखाइ गरेर बोर्डिङले नै विवाह र अङ्शदान पनि गरिदिएको भए छोपो उतार्थे होला तर यो सब गरिदिएन । यसैले अझ पनि उनी किरिया गरिरहेका छन् । पिण्डपानी चढाइरहेका छन् ।
यति मात्र कहाँ हो र हरेक हप्ता हप्तामा पत्रपत्रिकाहरुबाट बोर्डिङ स्कुललाई तिलजौ चढाएर तर्पन गरिहरेका छन्, खल्को गरिरहेका छन् । घर नजिकै खिर्राको रुखमा चुङ्गे पनि झुन्डाएका छन् अरे भन्ने सुनिन्छ जसमा ढिकुरोबाट घरतिर जाँदा प्रेत घरमा नआओस् भनेर दुध पानी खन्याइन्छ र तलको मन्त्र पनि पढ्छन् भन्ने पनि सुनिन्छ—
अनादिनि धनो देवा शङ्खचक्र गधाधर
अक्षय पुण्डरीकाक्ष बोर्डिङमोक्षप्रदोभव ।।
यही मन्त्र पाठ गर्र्दै विहानविहान उनका घरनजिकै करसामै जोडिएको अर्काे बोर्डिङमा पढाउन जान्छन् र जानुअघि खल्को पनि गर्छन् अरे भन्नेसम्म सुनेको छु । कुरा कसो हो, यो भने नदेखेकोले वयान गर्न सक्ने अवस्था मसँग छैन ।
सुनेकै कुरा ता अरुअरु केही रमाइला पनि छन् । सुनिन्छ उनी अलिनो नै खान्छन् अरे । अब क्रिया नै बारेपछि हिन्दुविधानअनुसार नुन खानु भएन । नखाँदा हुन् । ओछिनमा सुत्नु भएन, पत्नीसँग रसबस गर्न मिलेन । जथाभावी क्रियापुत्रीले गर्न हुन्छ त ।
तिनै पुत्रपुत्रीहरुको विवाह पनि भयो । तिनबाट अहिले नातिनातिना पनि भए भनेपछि किरिया लामै गरेको बुझिन्छ । कहिलेसम्म यी ढँटुवारेले छोपो ओडिरहने हुन् पत्तो पाइएको छैन । सरकारी जागिर ता छँदैछ । त्यताको ता हाजिर गर्नु र घुस खानु न हो । काम भने उही किरिया बसेका बोर्डिङमा न हो । हेरम बोर्डिङले अलिक तलब बढाइदियो भने यिनले किरिया बार्न सकिहाल्छन् कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *