म तरूल खन्दै छु आमा
हाडीकोटको घना वनमा
बाख्रा पनि हेर्दैछु आमा
बौसाफूलको पाखामा
तरूल त ठूलै भेटेको छु आमा
तर निकै अप्ठेरोमा
तरूल त मिठो हो आमा
तर दुई ढुङ्गाको अन्तरमा
थुप्रै माटो र ढुङ्गा फालें
खन्दा खन्दै थाके आमा
बल्ल २/३ छाक फलेछ
अरू छोड्न मन छैन आमा
मलेया र गुराँसको रूखमा चडेर
पारी बाख्रा पनि हेर्दै छु आमा
खनेको तरूल खास्टोमा बेरेर
घरतिर लिएर आउदैछु आमा
कोदो मकै आँटीमा नहुँदा
२/४ छाक टारौंला आमा
कति खोज्नु बेसाहा गाउँमा
कन्दमुल खाएर बाँचौला आमा
कति कष्ट र पार हजुरलाई आमा
साँझबिहान के पकाउने चुलोमा
दिनदिनै बढ्दैछन पेट हाम्रा
के खुवाएर पाल्नुहुन्छ आमा
सधैं तरूल र कन्दमूल खनौ कि
गरिबको मुक्तिको लागि लड्न जाऊ आमा
सधैं बेसहारा निरिह बनौ कि
राईफल बोकी हिडौ म रणमा आमा
