Skip to content
ManiNepaliPaneru


मेरो एक सपना छ साथी
मरियाना खाइदेखि सगरमाथासम्म
चुलिएको सपना
ख्रिष्टको मनभरि उब्जेको सपना हो यो
बुद्धको आँखाले देखेको सपना
घाम झै उज्यालो, आमा झै न्यानो
प्रियसीको अँगालो हो मेरो सपना

छलकपटले लत्पतिएको विषालु
सकुनि पासा फ्याँक्नेहरुले
सपना देख्न रोक लाएका छन् मलाई
तर म सपना बिना बाँच्न सक्दिन
एक मात्र ऐश्वर्य सपनै हो मेरो
सपना आशा हो भरोशा हो
सपना उर्जा हो लाल पूर्जा हो

त्यसैले बाउन्न हन्डर त्रिपन्न ठक्कर खाए पनि
जताततै निराशा छाए पनि
सपनाका पाइलाहरू पछ्याइरहेको छु
म मरे पनि मेरो सपना मर्ने छैन
जीवित हुने छ मेरो सपना
तव म मरे पनि नेपाल र नेपाली
पुनर्जीवित हुने छ
आत्मा हाँसेको सपना हो साथी
मेरो यस्तै सपना छ

हो मेरो एक सपना छ
बोस्टन देखि भाद्गाउँसम्म
डलास देखि दाङसम्म फैलेको
हाकुचा र सुन्तलीको
आँखाभित्र पुलपुलिएको सपना

रगतका टाटा परेका बाटाहरू पखालिएका छन् आज
कान्तिपुरदेखि कालिकोटसम्म विकासको मूल फुटेको छ
अब लाली गुराँसमा बारुद गनाउँदैन
चारकोशे झाडीदेखि माइलाको मकैबारीसम्म
शान्ति हाँसेकीछे बल्ल

नालापानी देखी खुलेखानीसम्म
भक्ती बलभद्र र अमर सिंहहरू
नाङगा खुकुरी चम चम गर्दै
पुनर्त्थान भएको सपना
अनि नेपाल र नेपाली पनका सत्रुहरुलाई
मुला काटे झैँ काटेको सपना
जाती धर्म भाषाका कृतिम पर्खाल उभ्याउनेको
हात काटिएको सपना
भित्र बाहिर बसेका स्वाभिमानी नेपालीहरू
आफ्ना तिक्तता भुलेर
आमाको लागि एक भएको सपना

सधैंभरिको गाई जात्रा होइन
साँच्चिकै मिलन बिन्दुमा महाजात्रा भएको सपना
देवकोटाको कल्पना, अरनीकोको शिप
बुद्धको शान्ति र अमर बलभद्र भक्ती झैँ
महाविरहरुको पौरखले बनेको
महानेपाल नगरिमा
सिङ्गो अमेरिका ओइरिएको सपना

मम सुकुटी र सेकुवाको स्वादमा रम्दै
मादलको घिन्ताङ र बाँसुरीको धूनमा
नेपालीको लागि स्याबासी दिएको सपना
प्रसँशाको ताली पड्काएको सपना

खुट्टा तान्न छोडेर मायालु अँगालो हालेको सपना
एउटा असफल राष्ट्र शक्तिशाली भएको सपना
तिमीले जितेको सपना, मैले जितेको सपना
हो साथी मेरो यस्तै यस्तै सपना छ

जय मातृभूमि नेपाल!

San Francisco, California, USA

Leave a Reply

Your email address will not be published. Required fields are marked *