मरेको विश्वास किन जन्मिन्छ अचेल
ढलान जस्तो मुटु किन पग्लिन्छ अचेल ।
सपनाहरू बुन्दा बुन्दै भत्किएको थियो
नयाँ सपना आँखामा किन राखिन्छ अचेल ।
किन ? कहाँ ? कसरी ? आशा पलाउँछ
झर्न आँटेको फूल किन फुलाइन्छ अचेल ।
जिन्दगी शायद यसैको नाम हो
सोच्न छाडें भन्दै किन सोचिन्छ अचेल ।
– डा. संगीता स्वेच्छा
स्रोतः ‘सन्ध्या’ साहित्यिक प्रकाशनमा प्रकाशित
