Skip to content

वातावरण

अस्तिसम्म एसएलसी भनिएको र अहिले खै के भनिएको कुरा छोरीले राम्रो ग्रेटमा उत्तीर्ण गरेको हुँदा घरमा विद्यालयबाट छोरी माग्नेको लस्कर लाग्नु अघि नै एक नामी उच्च विद्यालयमा छोरीलाई लिएर गए प्रेमबहादुरजी । स्कूलको कम्पाउन्डमा पुग्दा बाहिरैको दोकानमा केटाकेटीहरुको भिड रहेछ । सबै हेर्दा स्मार्ट नै छन् । टाइ लगाएका छन् । राम्रो परिधानमा छन् । घुँडा च्यातिएको लुगा पनि लगाएको छैन । स्कुल ठिकै लाग्यो ।
अनि वातावरण यसो विचार गरे । दोकानमा कोही गुट्खा खाने, कोही सिग्रेट तान्ने, कोही चिया खानेमा मस्त छन् । दोकानमा सबैथोकको सुविधा रहेछ । चिया भने चिया, चुरोट भने चुरोट…….। हुनत अचेल तरकारी दोकानमा रक्सी र दबाइ पनि पाइन्छ । लुकाएर बेच्ने कुरा कताबाट देखाऊन् त दोकानेले पनि । तबैतारे । फेन्सिडिल, भोट्का, वाइनहरु पनि यस्ता दोकानमा देखिने गरी राखेर भो त ! लुकाएको होला नि ! बिचरा प्रेमजीले के देखून् त ! झुटो बोल्नु हुन्न ब्यारे !!
विद्यालयबाहिरको यो दृश्य देखेर उनलाई झस्का प-यो । छोरी हलक्क बढेकी छे, सुडौल छे, राम्री छे, पिता भए पनि उनी पनि ढल्किहालेका छैनन् ।
मोटरसाइकिलबाट ओर्लिएर गेटमा पालेको अनुमति मात्र लिंदै थिए नजिकैका झुन्डबाट आवाज आयो—
“क्या च्वाँक छे है, पट्याएछ मोराले…..!!”
“यसो उमेर ता हेरेर लभ गर्नु पर्छ नि…….हामी मरेका थिएनौ केरे…..”
“आहा हिप… आहा…. ! ! !ू
यो आवाज सुनेपछि पिता प्रेमजीले यहाँबाट फिर्ने नै मनमा सम्झौता गरे ।
“फिरौ छोरी यहाँ ठिक देखिएन ।”
“किन बुबा ?”
“सुनिनौ ?”
“अहिलेसम्म यस्तै वातावरणबाट हुर्किएकी छु । हिजोको स्कुल पनि यही हो । आज फरक कसरी होस् त । मैले जुडो र कराँते यसै सिकेकी हो त बुबा ? मलाई थाहा छ निर्मलाप्रकरणहरु……”
छोरीको हिम्मत देखेर गदगद हुँदै प्रेममजी यसै विद्यालयमा छोरी भर्ना गर्न भित्र पस्न लाग्दा छोरी चाहिं ती दुर्वाच्य बोल्नेहरुको अनुहार चिनिराख्ने गरी हेरेर पिताका पछि लागिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *