गाउँघरलाई फेरि एक वर्षका लागि फुङ्ग र रित्ता बनाउँदै सहरमा काम गर्ने लाखौंलाख मानिसहरू धमाधम सहर पसिरहेका छन् । सडक यातायातका दुई, चार र छ पाङ्ग्रे लावालश्करमय साधनले सडक खचाखच देखिएका छन् । नेपाली हिन्दूहरूको महान् चाड दसैँ लगभग सकिएको अवस्थामा छ । दसैँका सन्दर्भमा जहिल्यै पनि गाउँ र सहरको उल्टो अंकगणीतीय सम्बन्ध रहेको पाइन्छ । दसैँमा सहरहरू सुनसान हुन्छन् भने गाउँघरहरू गुल्जार । कहिल्यै भेट नभएका साथीभाइ, माइती, मावली, ससुराली, जोरीपारी र पुराना दयाँलीहरू पनि दसैँको माहोलमै गाउँघरमा टुप्लुक्क भेटिँदा जो कोहीमा असीम आनन्दको सञ्चार हुने गर्छ । चउर वा बारीका कान्लामा हालिएका लिङ्गे र रोटे पिङ, ढिकीमा कुटिएका ‘भर्जिन’ चिउरा, आँगनमा खाडल खनेर अग्र्यानिक शैलीमा पकाएका मालभोग र चिनियाँ चम्पा केराका घरीहरू, दारको ठेकीबाट झिकेर चम्चाले काट्दै दिँदै गरिएको बाक्लो दही, जंगल चराएर किर्नाजस्ता बलिया भएका तथा खोरमा दाना ख्वाएर पालिएका घोर्ले र सिँगारे खसीका कबाब, दसैँलाई भनेरै कोठे बारीमा साँचिने भुइँ घाँस, बालीघरे दमाईले बालिका लागि सिएका ससाना केटाकेटीहरूका रंगीचंगी लुगा र तिनीहरूबाट आउने आला बास्ना एव म चिया पसलहरूमा गुरुप्प भएर देशको राजनीतिदेखि विदेशका विभिन्न घटनाहरूसम्मलाई आफ्नै शैली र ज्ञानका कटारीमा हालेर कसैप्रति गरिने अन्ध समर्थन र सत्तोसरापमय विश्लेषण कुनै पनि सहरमा नदेखिने ‘रियल लाइफ’का चित्रहरू हुन् । भलै यी कुराहरू अहिले सहरीया मानिसले यु ट्युबमा सर्च गरेर भने हेर्न सक्छन् ।
तर अहिले नेपाली समाजशास्त्रीहरू मुखमा अमिलो पानी ल्याएर भन्दैछन् –‘यतिखेर दसैँको मौलिकता न गाउँमा छ न सहरमा । नेपाली समाजमा आएको अक्कासिँदो परिवर्तनले माथि गरिएको चित्रण नेपाली गाउँघरमा विगत् दुईतीन दसकसम्म त भलिभाँती देखिन्थे तर अब क्रमशः घट्दा क्रममा रहेका छन् । नेपाली समाज यतिखेर संक्रमणमा छ – न पूरै आधुनिक न पूरै पुरातन । नेपाली मौलिक संस्कृतिको परिचय प्रदान गर्ने दसैँ जतिजति नेपालीहरू आधुनिक रहनसहन र विकसित शैलीमा जीविकोपार्जन गरिरहेका छन् उतिउति ओरालो लागिरहेको छ । यो आउँदो नयाँ पुस्ताका लागि कुनै पनि दिन किम्बदन्ती समेत बन्न सक्छ ।’
दसैँमा जसै हिसाबले सहरहरू रित्ता हुन्छन् सोही हिसाबले गाउँघरहरू भरिन्छन् । घरदेश र परदेशमा विभिन्न शारीरिक र मानसिक काममा लागेकाहरू औ घरकै लागि रगत पसिना चुहाउने नेपाली दाजुभाइ र दिदीबहिनीहरू दसैँको माहोलमा छोटो र लामो छुट्टी लिएर आआफ्ना गाउँघर आउँछन् । दसैँमा निःशुल्क प्राप्त हुने ग्राम्य जीवनका राम रमाइलाहरूलाई दुईचार शब्दमा वर्णन गरेर कहिल्यै सकिन्नँ । सो व्यहोर्न गाउँघर नै पुग्नु पर्छ ।
पत्रपत्रिकाहरूले लेखेका छन् – ‘नेपाल राष्ट्र बैँकले यसवर्ष दसैँ अघिसम्म मात्रै करिब ७९ करोड रूपैयाँ खर्च गरेर ६१ अर्ब रूपैयाँ बढीका नयाँ नोट छपाइ कार्य गर्यो ।’ सबै नेपालीलाई दसैँमा नयाँ नोट चलाउने अतीव मन हुन्छ । राष्ट्र बैँकले अर्को कुरा पनि बाहिर ल्याएको छ –‘अब नोट कुच्याउने, नोटमा अवीर लगाउने, फोहर गर्ने र केर्ने व्यक्तिलाई कारबाही हुन्छ । नोट सुरक्षाका सबालमा यसो भनिएको हो । हामी विकास र समृद्धितिर लाग्ने एउटा संकेत नोटको सुरक्षा पनि हो । विदेशमा कहीँ कसैले नोटलाई नेपालमा झैँ बिगार्न र फोहर गर्न पाउँदैनन् । यदि त्यसो गरिएमा त्यहाँ ठाउँका ठाउँ जरिवाना हुन्छ । हामी नेपालीहरू चाहिँ जबसम्म जरिवाना हुँदैन या सरकारले कारबाही गर्छु भन्दैन तबसम्म जेसुकै कुरा पनि नसुनेझैँ गर्दर्छौं । यो राम्रो बानी पक्कै होइन ।
हरेक दसैँमा लाखौंको संख्यामा संसारभरि छरिएर रहेका नेपालीहरूले स्वेदशमा रहेका आफ्ना पारिवारिक सदस्य, नातागोता, गाउँघर, बाल्यजीवन र विगत्लाई एकैपल्ट सम्झन्छन् र ‘नोष्टाल्जिक’ हुन्छन् । ‘डायोस्पोरा’मा बसेर उनीहरू आफूले घर र देशमा ‘मिस’ गरेका अनेकौं भोगाइका गुत्थीहरू कथा, कहानी, निबन्ध र गीतमा कल्पिरहेका हुन्छन् । घर सम्झेर उनीहरू आउन पाउँदा भने तामझामका साथ स्वदेश आउँछन् । नपाउँदाका क्षणमा नेपालीहरूसँग मिलेर जो जहाँ छ त्यहीँ राम रमाइलो गर्छन् । अहिले नेपालीहरू नपुगेका देश र ठाउँ छैनन् । अँझ विगत् केही वर्षदेखि एन्आरएन्ले विदेशमा छरिएर रहेका नेपालीहरूलाई जोड्ने काम सुकाम पनि गरेको छ । खाडीका केही देशहरू, मलेसिया, कोरिया र मध्यपूर्वका केही देशमा गएका नेपालीले पाएका दुःखका कहिरनहरू बेलाबखत नेपाली सञ्चार माध्यममा समाचारहरू समेत बन्ने गरेका छन् । अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियामा बसोबास गर्ने, राम्रो काम र कुस्त दाम कमाउने नेपालीहरूको तरक्की भने अलि राम्रो देखिएको/सुनिएको छ ।
यता देशमा दसैँको मैझारो सँगसँगै नेपाली राजनीति क्रमशः तात्ने केही परिघटनाहरू पनि देखिन थालेका छन् । बहालवाला मन्त्रीहरूको विगत् ७ महिनाको कार्यशैली मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले आउँदो महिनादेखि प्रत्येक महिनाको ७ गते मन्त्रालयको प्रगतिविवरण बुझ्ने कार्यको घोषणा सरकारले नै गरेको छ । यो राम्रो कामको सुरूआत हो र रोकावट आएन भने यसले राम्रो परिणामलाई निम्त्याउँछ । सरकारको साखलाई यस्तै कार्यहरूले जनताका बीचमा लोकप्रिय समेत बनाउँछन् । यसैबीच कार्य सम्पादनका आधारमा केही मन्त्रीहरूलाई प्रधानमन्त्रीले ‘रातो कार्ड’ देखाउने गाइँगुइँ दसैँ अघिकै अखबारहरूले समाचारका रूपमा चुहाइसकेका छन् । नेकपाका प्रभावशाली नेता वामदेव गौतमको ‘चोरबाटो’बाट संसद सदस्य हुने ‘लालसा’लाई सामाजिक सञ्जालमा भएको उनको कार्यको अत्यधिक विरोध र नेकपाकै सचिवालय बैठकले हाललाई रोकिदिएको छ ।
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्न अभियुक्तहरूलाई सरकारले अँझै पक्रन सकेको छैन भने अर्कातिर सरकारकै गृहमन्त्रीले ‘बलात्कार’का घटनालाई ‘पुँजीवादी जामा’ पहिर्याई दिएर पानी माथिको ओभानो हुने काम गरे पनि सो घटनामा संलग्न भनेर आरोपित एसएसपी डिल्लीराज विष्ट लगायत अर्का एकजना इन्सपेक्टरलाई प्रहरी प्रधान कार्यालयले सेवाबाट बर्खास्त गर्ने सिफारिस सरकार समक्ष गरेको कुरा समेत बाहिर आएको छ । पाँच वर्षका लागि दुई तिहाई मतबाट अनुमोदित सरकारका केही काम भने विगत् ७ महिनामा लर्खराएका देखिन्छन् । दसैँको मुखमै आएर स्वय म सरकारले नै ‘सिण्डीकेट’ खडा गरेर चिनी तीतो तुल्याउने काम गर्यो । यातायात क्षेत्रमा लामो समयदेखिरहेको मिलीभगत (सिण्डीकेट) अन्त्य गर्ने सरकारको गुलियो वचनलाई सत्तोसराप गर्दै राजधानीबाटै मात्र करिब २६ लाख यात्रुहरू बाहिरिए तर यातायात क्षेत्रको ‘माखे साङ्लो’ भने सरकारले तोड्न सकेन ।
तरकारी व्यापारमा देखिएको सिण्डीकेट अन्त्यका लागि पाइला चाल्न नपाउँदै अनुगमनमा गएका सरकारी अधिकारीहरूलाई नै बीचौलियाहरूले कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा थुनेर आफूहरू दहृलो भएको धमास देखाए । सडक, पुल, बिजुली र ठूल्ठूला आयोजनाहरूमा समयमा काम गर्न नसक्ने ‘कामचोर’ ठेकेदारहरूलाई वचनका ठिँगुरामा हाल्ने र कायदा कानूनको घेरामा ल्याउने भन्ने सरकारको आश्वासनले हावा खायो । पप्पु कन्ट्रक्सनका मालिक भनिएका सांसद हरिनारायण रजौरियालाई निलम्बन मात्र गरेर जनताका आँखामा छारो हाल्ने काम भयो । उनीमाथि थप के कारबाही भयो ? सो भने बेखबर छ । डा.गोविन्द्र केसी आफूसँग सरकारले गरेको प्रतिबद्धता पूरा नगरी संसदको वर्षेकालीन सत्र अन्त्य गरिएकोमा पुनः सत्याग्रहमा बस्ने चेतावनी दिँदै छन् । होनहार युवा भनिएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र नेवानिका कार्यकारी निर्देशक सुगतरत्न कंसाकार तोकिएको मध्यस्थभन्दा बाहिर गएर कमिसनका चक्करमा परी खरिद गरिएको नेवानिको वाइड बडी जहाज खरिद प्रकरणमा सार्वजनिक लेखा समितिमा तानिए । महालेखाले सो खरिद प्रकरणका सबै फाइलहरू झिकाएको छ । अर्का होनहार सञ्चार मन्त्री दूर सञ्चार प्राधिकरणमा दिगम्बर झाको पुनर्नियुक्ति प्रकरणमा सर्वथा आलोचित बनेका छन् ।
प्रदेश स्तरीय कानूनहरू नबन्दा मुख्य मन्त्रीहरू आफूहरूलाई केन्द्र सरकारले ‘सिडिओको जति पनि अधिकार नदिएको’ भन्दै एकातिर रुष्ट बनेका छन् भने अर्कातिर केन्द्र सरकार र प्रदेश सरकारका बीच क्रमशः दूरी बढ्दै जाँदो छ । पोखरामा प्रदेश मुख्य मन्त्रीहरूको डाकिएको भेलाबाट रिसाएर प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री अध्यक्ष हुने प्रदेश समन्वय परिषद्को मुखैमा आएको बैठक पनि अनिश्चित कालका लागि पछि धकेलिएका छन् । सो बैठक अँझै बस्न सकिरहेको छैन । हुँदाहुँदा प्रदेश नं. २ले ‘प्रहरी भर्ना सम्बन्धी विधेयक’ सत्तारुढ दल, नेकपा प्रदेश नं.२का सदस्यको विरोधका बाबजुद पनि ‘बहुमतले पारित गरेर’ आफैँ आफ्नो प्रदेशका लागि प्रहरी भर्ना गर्न सक्ने कानून निर्माण गर्न लागेको छ । हुन त यो घटनाको केन्द्रका सम्बन्धित संसदीय मामला मन्त्रीले विरोध गरी त्यो कानून कार्यान्वयन हुन नसक्ने कुरा सार्वजनिक गरिसकेका छन् । भन्नलाई अहिले स्थानीय, प्रदेश र केन्द्र गरी कूल ७६१ (७५३ स्थानीय, ७ प्रदेश र १ केन्द्र) वटा सरकारहरू पूर्व मेचीदेखि पश्चिम महाकालीका जनतामा शासन गरिरहेका छन् । स्थानीय सरकार जसको नेतृत्वमा भए पनि ती स्थानमा पक्ष विपक्षको भावना नगरी विकास र निर्माणका कार्यलाई अघि बढाउने र जनताका दैनन्दिन कार्यमा सहयोग गर्ने हो भने जनतामा यति धेर निराशा आउने थिएन । करको दरले पनि अहिले जनता आत्तिएको अवस्था छ । अहिले ७५३ वटै स्थानीय तहमा आर्थिक विकासका लागि अपरिहार्य मानिने कालोपत्रे सडक, प्राविधिक शिक्षालय र बैँकहरू स्थापना भैसकेका छैनन् । जनताले आफ्नो बैँकिङ् कार्यहरू गर्नका लागि जिल्ला प्रशासनिक एकाई (पुरानो जिल्ला सदरमुकाम)सम्म आउनै पर्ने तीतो बाध्यता छ ।
दसैँमा यसपटक पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारण र कर्मचारीहरूलाई लगाइदिएको टीकाको परिचर्चा भैरहेको छ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘घुँडा टेकेर’ लगाएको टीकाको तस्वीर सामाजिक सञ्जालमा विरोध भैराखेको छ । गणतन्त्रकालीन राष्ट्रपति समक्षमा टीका ग्रहण गर्दा पूर्व उच्च पदस्थ अधिकारीले जुन असोभनीय पारामा आफूलाई प्रस्तुत गरे त्यसले हाम्रो संस्कार र चरित्रको सप्रसँग व्याख्या गरेको छ । यस्ता कुराहरूमा अब हाम्रा संवैधानिक प्रमुख र पूर्व प्रमुखहरूले ख्याल गर्नु पर्ने र समय अनुसार चल्न सिक्नु पर्ने नत्र सधैंभरि ‘बडाले जो गर्यो काम, हुन्छ त्यो सर्वसम्मत’ नहुने कुरा पनि बुझ्नु आवश्यक देखिएको छ ।
यतिखेर महिला हिंसाका घटना जसरी नेपाली प्रेसले प्राथमिकता दिएर वर्तमान परिस्थितिमा प्रकाशन र प्रशारण गरेका छन् त्यसले नेपालीहरूमा बौद्धिक चेतना वृद्धि भएको र अब गाउँ सहर सबै स्थानका महिलाहरू हिंसा सहेर बस्न नसक्ने चित्र पनि प्रस्तुत गरिरहेका बेला छिमेकी देश भारतमा समेत मिटु अभियानले भारतीय केन्द्रीय क्याविनेट राज्य मन्त्री एम्.जे.अकबरले राजीनामा गरेका छन् । त्यस्तै, भारतीय इन्डियन आइडलका जज अनु मलिकले राजीनामा दिएका छन् भने थुप्रै कलाकार, पत्रकार, लेखक र नेताले आआफ्नो पद गुमाउनु परेको घटनाहरू बाहिर आएका छन् । सञ्चारको यो अधिकत म विकास भएको समयमा सार्वजनिक जीवन बाँच्ने र ‘सोसियल प्रपर्टी’ मानिने नेता, मन्त्री, कलाकार, वकिल, पत्रकार र प्राध्यापकहरूले समेत आआफ्नो थात ठेगानमा बस्नु पर्ने देखिएको छ । नत्र के ठेगान जीवनभरि लगाएर कमाएको व्यक्तित्व केही घन्टामै चट हुने अवस्था आइनलागोस् ।
पेशल आचार्य
