Skip to content


संसारका धेरै शाश्वत चिजमध्ये प्रेम शाश्वत हो । यसले मानिसलाई जीवन जिउने ऊर्जा दिन्छ । यो यस्तो आयाम हो जसबाट मानिसको जीवन आदि र अन्त्य दुवै हुन सक्छ । मानिसले सही र असल मानेमा प्रेम गर्न जानेको छ भने उसले लिन होइन दिन चाहन्छ । प्रेमका बारेमा भनिएको पनि छ –‘साँचो प्रेमले त्याग दिन्छ बदलामा केही चाहँदैन ।’ इतिहासमा हामीले कैयौँ प्रेमीप्रेमिकाका बारे कालजयी कृतिमा कथा र गाथाहरू भलिभाँती पढेका छौं ।

प्रेमको प्रसँग जहाँबाट उठाए नि हुन्छ जसरी सुरू गरे नि हुन्छ । यसको कुनै विद्यालय र विश्वविद्यालय अहिलेसम्म संसारमा खोलिएको थाहा छैन रैपनि करोडौं मानिसहरूलाई सभ्यताको प्राचीन, मध्यकालीन या आधुनिक जुनसुकै कालमा कुनै आचार्य, गुरु या शिक्षकले प्रेम गर्न सिकाउनु परेन । न त सैद्धान्तिक रूपमा न त व्यवहारिक रूपमा । यो हृदयको मूलबाट आफैँ निसृत हुने वेगवाहिनी त्यस्तो नदी हो जो जस्तोसुकै वाधाअवरोध या सिकन्जाहरू पनि तोड्न सफल हुँन्छ । जहाँ यसलाई हटक गरिन्छ त्यहाँ यो विष्फोट हुन खोज्छ । धनीकी पुत्री र गरिबको मेधवी पुत्रको प्रेम त फिल्मी कहानीका रूपमा कथाका प्लट पनि बनिसके हजारौँहजार कथाहरूमा । अनि कुलीनको छोरो र दीनदुखीकी छोरीको कथा पनि अब प्रेमको उत्तरआधुनिक परिभाषा भित्र नपर्ला ।

समयले प्रेमलाई प्रेक्षालयमा राखिसक्यो । यो त अब समवयी, समलिङ्गी, विसमविङ्गी, समधर्मी, समकर्मी, समजाति, समरूपि, समविचारी आदि अनेक आवरणमा रङ्गीन र रङ्गहीन भएर तिर्यक रूपले लहरिएको छ । जोगी र भोगी दुवै प्रेमका भिटामिनले बनाउने कृत्रिम मोटाइ हुन् । विज्ञानले यति मुख नमिठ्याएको भए सायद् संसारका सबै विषयवस्तुमा झैँ प्रेममा यति उतारचढाव आउने थिएन । त्यसैले यसको सेयरबजारमा सेएर पनि निष्कासन गरिँदैन – आजका मितिसम्म ।

प्रेम सेएर दलालहरूको बाजारी सरहद्को विषय होइन ।

यसले अनेक महारोगहरूमा अचुक ओखतीको काम गरेको छ –प्राप्तिमा । अनि कस्ताकस्ता घघडान चिकित्सकहरूले पनि प्रेम रोगीहरूलाई उपचार गर्न नसकेर तिनीहरूको अकालमै ज्यान गएको छ – अप्राप्तिमा । यसको रोग के अनि ओखती के त्यसको अहिलेसम्म सन्धान भएको पाइएको छैन ।

वाह ! प्रेमको त पाठ्यक्रम र शिक्षक पनि हुँदैन । जसले आफूले प्रेम गर्छ उसले स्वय म आफैँले आफ्नो बाटो बनाउँदै स्वयम्मा आफ्नो विषयवस्तु र पाठ्यक्रम छान्दै निरन्तर अगाडि बढ्नुपर्छ । आफूखुसीको स्वविवेक या स्वमार्गदर्शनले अनुभूतिको स्वप्रेम पथमा आफैँलाई गमन गराउँदछ । यो प्रेमको निवृत्त मार्ग पनि हो । प्रवृत्त मार्गका कुराहरू अरू नै छन् ।

सबैका प्रेमपथहरू चौडा र चिल्ला हुँदैनन् । सबै उही स्तर र शैलीमा प्रेमपथहरूमा सफर गर्न पनि जान्दैनन् । नादानीका बीचमा स्वार्थले अनावश्यक रूपमा फाइदा उठाउँदछ । दुईमा एकजना चतुरो पर्यो भने प्रेममा धाँजा फाट्छ । त्यसो नहुन त प्रेम चाहने दुवैका हृदय शुष्क हुनु भएन । दुईमा एउटाको हृदयपनि शुष्क भयो भने त्यहाँ चाहनाको मृगतृष्णा मरुभूमिमा बुँद पानीका खातिर भौँतिरिइरहेको शावक झैँ हुन्छ । त्यसैले प्रेमिल व्यवहारमा दुवैको उही सोच र स्तर हुनु पर्दछ ।

यो त भयो व्यक्ति व्यक्तिको प्रेमको फेहरिस्त । मानिसले भगवान्लाई गर्ने प्रेम त अँझ अर्कै किसिमको छ । न त भगवान् देखिनुहुन्छ न त मानिसले नै वहाँलाई साक्षात्कार नै गर्न सक्छ तर पनि मानिसहरू अहोरात्र भगवान्को प्राप्तिका लागि अँझ भनौ एक झुल्को दर्शनका लागि जीवनपर्यन्त लालयित भैरहन्छन् । यसो किन हुन्छ ? दार्शनिकहरू यस मामलामा पनि चुप छन् ।
सबै जिज्ञासाले प्रश्न बन्ने हैसियत राख्दैनन । संसारमा सबै प्रश्नको उत्तर हुँदैन र आउँदैन पनि । सबै नदी तर्न नसकिएझैँ, सबै फूल टिप्न नपाएझैँ, सबै रस आस्वादन गर्न नमिलेझैँ, सबै पुस्तक पढ्ने सौभाग्य नभएझैँ जीवनमा केही न केही मानिसका लागि तुस रहिरहेको हुन्छ । हो, त्यही तुसका कारणले मानिस आफू मरेपछि पनि बाँच्नका लागि जिउँदो हुँदैमा केही न केही अजरअमर कार्य गरेर जान चाहन्छ । यो उसको जिन्दगीप्रतिको जिजीविषा हो ।

उदाहरणका लागि त रोमियो जुलियट हुन् या चाहे वैरनेस इलोइजा हुन् अँझ भनौं शाहजहाँ र मुमताज नै किन नहुन् ? तिनीहरूमा दुनियाँले निस्वार्थ प्रेमका पउल उदाहरणहरू पायो र गद्गद् हुँदै तिनीहरूलाई अमर प्रेमीप्रेमिकाका रूपमा आदर गरेर राख्यो । मुनामदनकै नेपाली उदाहरण पनि प्रेमका लागि कम छैन । अँझ त्यो त गार्हस्थ प्रेम हो । प्रेमका कित्ताकाट गरिए र गार्हस्थ प्रेमलाई जानीजानीकन ओझेलमा पारियो । टटोल्न सक्यो भने गार्हस्थ प्रेममा पनि स्वर्गको अवर्णनीय सुखानुभूति पाइन्छ ।

मलाई त के लाग्छ भने प्रेमको सोझो सम्बन्ध मनसँग हुने भएकाले यसको फ्रिक्वेन्सी ज्यादा छ । यो यति सूक्ष्म तत्व हो कि यसको रसानुभूति र व्यवहारले एकर्कालाई जुनीजुनीसम्म जुटाउन र पलभरमै फुटाउन पनि सक्छ । अहिलेको जमानामा ‘कुखुरे प्रेम’का बग्रेल्ती उदाहरणहरू पाइन्छन् । जब बजारमा ‘ब्रोइलर संस्कृति’ को उहापोह भयो तब नै समाजमा कुखुरे प्रेमको ‘प्रोमो’ बनाइयो ।

हो,, त्यही कुखुरे प्रेमले मायालाई जनाउँछ । माया र प्रेममा आकास पातालको अन्तर छ । माया स्वार्थी हुन्छ । कुखुरे प्रेमको सूर्य मुस्कानको छटासँगै उदाउँछ भने निरशाको खुइइयसँगै अस्ताउँछ । जहाँ जुनसुकै प्रकारले शरीर लिप्साको अनुरोध भैरहेको हुन्छ । एकत्वको चाहनाले कुनै न कुनै विन्दुमा पुर्याएपछि मानिसलाई उपयोगिताको ह्रासनियम लागू हुन्छ । मायाको सकाम भेदमा यो आकर्षित हुन्छ भने प्रेमको निष्काम भेदमा यो आकर्षित हुँदैन ।

संसारमा माया र प्रेमका पछि लाग्ने खालखालका मानिसहरू पाइन्छन् । विचारमा विविधता छ जसरी फूलका नाम र सुगन्धमा पृथकता भेटिन्छ । आआफ्नो मर्जिका मालिक सबै भएकाले उनीहरूलाई त्यो छनोटको सुविधा पनि छ । आफैँ त हो –उम्रिने, फैलने, फुल्ने र फल्ने । माटो त सबैका लागि उही नै हो तर किन उखु गुलियो र खोर्सानी पिरो हुन्छ । कुनै वृक्षका जरामा अमृत र कुनै लहराका पातमा गरल प्रकृतिले किन घोलेको होला ? अनुत्तरित छ प्रश्न ।

मायाको वृत्त प्रेमको वृत्तभन्दा सानो हुन्छ । यसका कणकणमा घातका बुँदहरू तप्किन्छन् । अनि हुन्छन् स्वार्थका घिनौना यायावरीय खेलहरू । प्रेम वियोगमा आफू र आफ्ना सबै स्वजनहरूलाई परजनको तिक्ततामा चटक्क संसारलाई छाड्ने या नकार्नेवालाहरू पनि नभएका होइनन् ।

घनत्वका हिसाबले माया शारीरिक हुने र प्रेमचाहिँ आत्मिक हुने कुरा दार्शनिकहरूले बताएका छन् । संसार हल्लाउने लेखकहरूले पनि अनेकानेक प्रसङ्गमा जायज वा नाजायज प्रेम गरेका छन् । कोहीकोही त महान् प्रेमी नै कहलिएका छन् भने कसैकसैले जीवनमा आफ्ना प्रेमी या प्रेमिकाबाट नराम्रोसँग धोका खाएका छन् । यस्तो प्रकारको धोका र सम्बन्धलाई ऊर्जामा अनुवाद गरेर संसारका महान् लेखकहरूले कैँयौँ कालजयी कृतिहरू लेखेका छन् । नेपालमै पनि साहित्यकार सरुभक्त कुनै जमानामा ‘सरू’ नाम गरेकी केटीसँग प्रेम गर्थे रे जब उनी प्रेमबाट विमुख भए अनि सरुभक्तका नामबाट लेख्न थाले । अलिअलि गर्दै उनी विख्यात अहंवादी र विसंगतिवादी साहित्यकारका रूपमा स्थापित भएका छन् । प्रेमका आयामहरू यामभन्दा शक्तिशाली हुन्छन् । यसमा विवाद छैन ।

मायाको पनि सकाम र निस्काम दुई प्रकार छ । आमाले आफ्ना सन्ततिलाई गर्ने मायामा निस्वार्थ भाव भेटिने या प्राकृतिक तत्वको निर्वाहका लागि मात्र आमा तत्व मातृवात्सल्यताका लागि चलायमान हुने कुरा विभिन्न संहिता र शास्त्रमा पाइन्छ । त्यसैले संसारको सबैभन्दा महान् सन्तुष्टि नै आमा बन्दा हुने कुरा बताइएको छ । यो त भयो निस्वार्थ मायाको कुरा । समकालीन मायाको कुरामा स्वार्थ नै सबैभन्दा बढी भेटिन्छ । शरीर सुखका लागि निवेदन गर्ने प्रेमले पनि सोझो या घुमाउरो दुवै पारामा यौनकै अपिल गरिरहेको हुन्छ भने त्यो पनि केवल प्रेमकै आवरणमा मायाको छनक हो । भनिन्छ नि –बाघको छाला ओढेर पनि स्याल आफ्नो बोली बोलिहाल्छ ।

यसरी माया र प्रेमलाई एउटै तराजुका दुईवटा पल्लामा राख्दा अवश्य पनि त्यो प्रेमकै पल्ला भारी हुन्छ । वातावरण र पर्यावरणका हिसाबले पनि प्रेमको आकाशगंगा धेरै नै उँचो छ । यसको वृत्त या परावृत्तमा माया कुनै पनि अर्थ या प्रसङ्गमा आउन सक्दैन । यसर्थ माया माया नै हो भने प्रेम, प्रेम नै हो ।

स्व प्रेम, पर प्रेम, देश प्रेम, विश्व प्रेम, जाति प्रेम, भाषा प्रेम, संस्कृति प्रेम, युद्ध प्रेम, शान्ति प्रेम, पेसा प्रेम, पैसा प्रेम, वातावरण प्रेम, पर्यावरण प्रेम, कला प्रेम, अभिनय प्रेम, अध्ययन प्रेम, उमेर प्रेम, इच्छा प्रेम आदि अनेकौं उदाहरण प्रस्तुत गर्न सकिन्छ । हुन त निस्वार्थ मायाका पनि उदाहरणहरू छन् ती विभिन्न शैली, प्रसङ्ग, हाउभाउ, कटाक्षमा देखिएका छन् । भनिएको पनि छ –‘हामीलाई कसै न कसैको माया कुनै न कुनै कोणप्रतिकोणबाट व्यक्त भैरहेको हुन्छ रे ! हामीलाई प्रत्येक्ष या अप्रत्यक्ष रूपले माया गर्नेहरूले जीवनमा एकैचोटी माया गर्न छाडिदिए भने हाम्रो जीवन समाप्त हुन्छ रे !’ यी र यस्ता अभिव्यक्तिहरू पनि हामीले समयसमयमा पढेका छौं, सुनेका छौं ।

अहिलेका युवा युवतीहरू पनि आफ्नो घरव्यवहार चलाउन अरब र भारत अनि कोरियाका विभिन्न स्थानमा आफूलाई विभिन्न प्रकारका मजदुरका रूपमा स्थापित गराएर कुनै न कुनै हिसाबले घरखर्च जुटाइरहेका छन् ।

एकजना प्राध्याक मित्र थिए । बडो मजाले भन्थे –‘घरकै लागि घरबाट टाढा भएको छु ।’ हो, हामी जो घरबाट टाढा भएका छौं ती सबै घरकै लागि टाढिएका हौँ । जसले पनि आफ्नो दायित्व स्वीकारेर जीवनमा अघि बढ्न खोज्छ उसले केही न केही सीप या काम गर्नु पर्ने बाध्यता रहेको हुन्छ । त्यो काम उसलाई आफ्नै घरकरेँसामा उपलब्ध नहुन पनि सक्छ । त्यसैले उसमा घरदेखि टाढा हुँदा अनेकानेक पीडा, चिन्ता र अभावले सताउन सक्छ । यस परिस्थितिमा मानिसले आफूमा भएका अनेक सोख र सीपहरूको प्रयोगले आफू बाँचेको परिवेशमा उभिएर अनेक किसिमका रचनात्मक काम गर्न सक्छ । लेखन पनि त्यसैको उपज हो । मानिसले आफूभित्रको प्रतिभालाई बाहिर ल्याउन वा उजागर गर्न धेरै प्रकारका मानिसको संगत गर्नु पर्ने रहेछ । जीवनमा अनेक प्रकारका सौदा र साथी बनाउँदै अघि बढ्ने मानिस मात्र सफल हुन्छ । आफूले गर्न नसकेका कामहरू अरूबाट सिकेर वा तालिम लिएर पनि उसले जान्नु पर्छ । जीवनमा मानिसले अनेक प्रकारका सीपमा आफूलाई क्रियाशील बनाउन सक्यो भने उसको सन्तुष्टिले उसलाई मात्र होइन समाजका अन्य मानिसहरूलाई पनि आनन्द दिन सक्छ । यो समाजमा बसेपछि मानिसको सामाजिक उत्तरदायित्व पनि हो ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *