Skip to content

देउता रिसाउने डरले अरूलाई दूध नदिने चलन

  • by


तपाईं सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङको दहबगर पुग्नुभयो भने त्यहाँ दूध र दही खान पाउनु हुने छैन । गोजीमा पैसा भए पनि चाहेको खान नपाउँदा जो कसैलाइ पनि दिक्क लाग्नु स्वभाविकै हो तर कसै कसैलाई अनुमान हुन सक्छ- गाई-भैंसी नै हुँदैनन् होला तर वास्तविकता यो होइन, यस गाविसमा बढी नै गाई-भैंसी, भेडा-बाख्रा पाल्ने चलन छ । सम्भवतः बझाङको उत्तर पश्चिमी क्षेत्रको सबैभन्दा बढी घिउ बेच्ने गाविस पनि यही हो ।

दहबगर गोइचनका अमर ब. बोहराले पालेका गाई-भैसी बाहिरको अपरिचित व्यक्तिलाइ दूध र दही खान दिने चलन नै छैन । परम्परागतरूपमा चल्दै आएको यो चलन आजको एक्काइसौँ शताब्दीमा हाँस्यास्पद लागे पनि यो ठाउँमा यो प्रचलन विद्यमान छ । किम्वदन्तीअनुसार यस ठाउँमा पनि अन्यत्र जस्तै खाने चलन थियो तर इतिहासमा सीमित तत्कालिक शासक बोटे राजाका रजौटाहरूलाई सो दही, दूध, घिउ । मह बुझाउनु पर्थ्यो ।

मीठामीठा कुरा प्रजाबाट असुलेर खाई मात्तिएका शासकहरूले त्यसबेला दहबगरवासीका पहरौल देवताका धामीलाई हाल खिरातडी गाविसको साडीलकोट भन्ने ठाउँमा आइमाईहरू बिरामी भएकोले हेरिदिन आग्रह गर्दै बोलाए र पहरौल देवतालाई तथानाम भन्दै गिज्याउन थाले र एउटा बोक्नै नसक्ने ठूलो गाग्रीमा पानी ल्याउन लगाए । धामी इमान्दारी भई अह्राएको गरे तर गिज्याउन जम्मा भएका शासकहरूले ती धामीलाई सिस्नोमाथि राखे । गोबरको लिस्नो बनाई त्यसमा चढ्नसमेत लगाए । गोबरको लिस्नोबाट भुइँमा चिप्लिएर बेहाल भएका धामीलाई उद्धार गर्न पहरौल देवता झ्यालबाट प्रवेश गरी भित्र पुगे र मात्तिएका शासकहरूलाई माफी मगाउन खोजे तर अरूसँग झुक्नै नजानेका ठकुरी वंशी शासकहरू माफी माग्न नमानेपछि देवताले उपद्रो गर्नथाले । उनी जता ढल्यो तिनीहरूको घर त्यतै ढल्किन थाल्यो । यो घर तेरो कि मेरो भन्दै थर्काउन थालेपछि चाहिँ मत्तशासकहरू डराएर माफी माग्न तयार भए । माफी माग्दा शर्त थियो-अब आइन्दा ज्यावन क्षेत्र अर्थात् दहबगरको दूध र दही ठकुरी वंशका लागि चल्ने छैन । तत्कालिक ठकुरीहरू यस कुरामा सहमत भएदेखि यस ठाउँमा उत्पादित दूध र दही ठकुरीहरूलाई दिन निषेध गरियो । समय बित्दै जाँदा अपरिचित कोही आउँदा ठकुरीसमेत पर्न सक्ने सम्भावनाले गर्दा पछिपछि अपरिचित जो कोहीलाई पनि दूध-दही खान नदिने गरिएको कुरा बूढापाकाहरू बताउँछन् ।

विगतको अशिक्षित युगमा यो कुरा समय सापेक्ष भए पनि नयाँनयाँ व्यवसायहरूको सम्भावनाको ढोका खुलिरहेको वर्तमान समयमा यसले समुदायलाई उन्नतिमा लाग्न बाधा पुर्‍याइरहेको छ । दहबगर गाविस वडा नं ४ का दलबहादुर धामी भन्छन्- “पुरानो किम्वदन्ती नहटेकोले चार-पाँच माना दूध दिने भैंसी घरमा पालेर खानीडाँडामा पाउडर दूधमा चिया फेटिरहेको छु ।” सप्रोस नेपालका स्थानीय सामाजिक परिचालक हर्कबहादुर बोहरा भन्छन््- “दूध दही बेच्ने गरे पनि दुईर्-चार जनाको त राम्रै गुजारा हुन्थ्यो नि । यो रुढीवादी कुरा नै हाम्रो कार्यक्रमका लागि चुनौती भइरहेको छ ।”

तर दहबगर- १ सोलाँका युवा प्रेम बोहरा चाहिँ पहिले-पहिलेभन्दा यो अन्धविश्वास बिस्तारै कम हुँदै गएको कुरा ठोकुवा गर्छन् । त्यस्तै नेकपा माओवादीका युवा नेता पदमबहादुर धामी जीवन चाहिँ त्यस अन्धविश्वास तोड्न जनयुद्धका बेला आउने जो कोहीलाई पनि दूध र दही खान दिएको बताउँछन् तर दहबगर गाउँका स्थानीय व्यापारी जयबहादुर धामी चाहिँ जनयुद्धका बेला डर र करमा दूध दही दिने गरेको भए पनि जनयुद्धको समाप्तिपछि चाहिँ जस्ताको तस्तै भएको तर्क गर्छन् ।

यसका अतिरिक्त स्थानीय समाजसेवी धनजीत धामी भन्छन्- “पहिले-पहिले भैंसीको दूध अघिल्लो दिनमा तताएर राखी भोलिपल्ट खाने चलन थियो तर अहिले भैंसीको दूध तताएर तातै खाने चलन बसे पनि गाईको दूध तताउने चलन अहिले पनि छैन ।” यस अन्धविश्वासको कारण हो -गाईको दूध तताएर खाए गाई नै बैलिन्छ भन्ने रुढीवादी तर्क । यसले प्रत्यक्षरूपले स्थानीय व्यक्तिहरूको स्वास्थ्यमा समस्या भइरहेको छ । कडा परीश्रमले उकालीओराली गरेर पसिनाले निथ्रुक्क भिज्दै चुईचुई भारी बोकेर हिँड्ने स्थानीय व्यक्तिलाई प्रत्येक दिन पिइने एक गिलास दूधले निकै राहत दिन सक्थ्यो । अझ साना बालबच्चालाई समेत खुवाउने चलन नहुँदा स्थानीय बालबालिकाहरू बर्सेनि कुपोषणको शिकार भइरहेका छन् । हावापानीको विषमताले पर्याप्त मात्रामा तरकारी उत्पादन गर्न नसकिने यस दहबगरमा गाई-भैंसीको दूध र दही पौष्टिकता पाइने मुख्य स्थानीय खानाहरू हुन् । त्यसैले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने कर्मचारीहरूले यस सम्बन्धमा स्थानीय समुदायलाई उत्प्रेरित गर्न आवश्यक छ ।

दहबगर गोइचनका आधुनिक पुस्ताका युवा अमरबहादुर बोहरा भन्छन्- “अब हामीले पुराना रुढी त्याग्नु आवश्यक छ । स्थानीय चिया दोकानहरूमा दूध-दही बेच्ने गरेमा गरिब र विपन्न वर्गको आयस्तरमा वृद्धि हुन्छ । बरु आगामी दिनहरूमा दूध र दही प्रयोग गरी वस्तु विविधीकरण गरेर अग्रगामी बाटोमा लाग्न आवश्यक छ ।” भविष्यमा यातायातको सुविधा भएमा डेरीसमेत स्थापना गरी दूध बेच्न सकिने तर्क दहबगर-१ सोलाँका प्रताप बोहरा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *