सडकको एउटा पेटीमा
रुन्दै थिए कयौं अपाङ्गहरू
सडकको त्यही पेटीमा
कुट्दै थिए गिटी बालकहरू
अनि,
म बेरोजगार युवक –
डुलिरहेको थिएँ त्यही सडकको
पेटी-पेटीहरुमा ।।१।।
एक्कासि माइकिङ् हुन्छ
कतै म भाषणको आवाज सुन्छु
अनि त्यही भावुक्तामा रम्न
म दौडिन्दै कार्यक्रमस्थल पुग्छु
तर विचरा !
ती अपाङ्ग र बालकहरू
अव्यस्थ हुन्छन् त्यही सडकको
पेटी र कुइनेटाहरुमा ।।२।।
कार्यक्रम भव्यताकासाथ सुरु हुन्छ
नेताहरूले उदघाटन गर्छन्
टूलाठूला अक्षरहरुमा
अपाङ्ग र बालविकासका नारा हुन्छन् ।
पत्रकारले क्यामेरामा कैद गर्छन् –
तिनै उत्घाट्नका झलकहरू
म केबल हेरिरहन्छु
एउटा इमान्दार दर्शक
अनि
श्रोताको हैसियतले
एउटा बेरोजगार युवक
अनि
इच्छा र आकाङ्क्षा जस्ता स्वभावले ।
पौषको त्यो ठण्डी जाडोमा पनि
म हेरिरहेको छु कार्यक्रम –
जाडोनै नमानी ।
र, हृदयदेखिनै खुशी हुन्छु –
अपाङ्ग र बालविकासको नारा देखेर
भाषणका कर्णप्रिय आवाज सुनेर
बस्तुत: सिङ्गो कार्यक्रम देखेर ।।३।।
तर विडम्बना !
कार्यक्रमको अस्तित्व नभए पनि
र, भाषणको सार्थकता नरहे पनि
पृष्ठ नै भरिने गरी नेताको फोटो राखेर
अपाङ्ग र बालविकासकै शीर्षकमा
पत्रिकाहरू पुरै रँगिएका हुन्छन् ।
आफू त बेरोजगार युवक !
भोलिपल्ट बिहानै त्यही सञ्चार पढ्दै
म हिंडिरहेको थिएँ – सडकको पेटीपेटीमा
पौषको बिहानी त्यो ठण्डी जाडोमा
सुतिरहेको थियो एक अपाङ्ग नाङ्गै सडकमा
अनि,
मलाई अत्यन्तै मायां लाग्यो उसप्रति
मैले त्यही पत्रिका ओढाइदिएँ उसमाथि ।।४।।
पौषको ठण्डी त्यो बिहानी जाडोमा
सडकमा नाङ्गै पल्टेको त्यो घाइते अपाङ्गलाई
हो, मैले ओढाइदिएँ त्यही पत्रिका
जुन पत्रिका भित्र –
तिनै अपाङ्ग र बाल-कार्यक्रमहरुका
उद-घाटनका रङ्गिन झलकहरू थिए
विचारका विकासवादी शब्दहरू थिए
सत्य हो,
त्यही विचार ओढिरहेको थियो अपाङ्गले
विचारप्रेषक नेताको फोटोसहित ।।५।।
अनि म भन्दै थिएँ –
सुत बाबा सुत
सुत राजा सुत
सुत ज्ञानी सुत ।
सायद त्यसैले होला –
त्यहाँ दर्शकको भीड हुन्थ्यो
नाटकमै अभिनय गरे जस्तो –
मलाई पनि भान हुन्थ्यो
बिल्कुलै नयाँ रोजगार पाए जस्तो
सडकको एउटा पेटीमा ।।६।।
मिनेन्द्र भण्डारी (दर्शन यात्री )
minendrabhandari@gmail.com
दोरम्बा -६, रामेछाप ।
