छ्या! कस्तो प्यारीको वैँशभन्दा पनि उखर्माउँलो गर्मी आज! साँच्ची…मोरीले बिहानै फोटो राखेकी थिई। कारखाना जान ढिला हुनाले प्रोफाईल हेर्न पनि पाईएन! मेरो साहुँ एकदमै किचकिचे छ…।
सधैँ मोटिका फोटोसँगै आँखा जुधाँएर बस्ने भएर हुनुपर्छ, मोटिको टाईमलाईनको नक्शा निकै प्रष्ट छ मलाई। उसको ‘विईसिङ्ग फर चेन्ज’ वाला पोष्ट पछाडि हामी एस्तै गर्मी छेल्न भद्रकाली जाँदाको फोटो थियो, आजैँ हटाईछे…सिधैँ उसको नत्थीवाला फोटो देखियो। नत्थि लगाएका यूवतीले मलाई पगालीहाल्छन्। मोरीले त नत्थि नलागाँउदै पगालेकी हो!
मलाई झल्झलि याद छ उसको ‘विईसिङ्ग फर चेन्ज’मा ‘अल द बेष्ट’ लेखेको र धेरै कुरा चेन्ज भएको। धेरै…धेरै कुरा! ऊ आँफैसमेत त चेन्ज भई! छ्या…आँशु नि एसै झर्छन्…रुखो त हुन्छु भनेर नि हुन नसकिँदो रहेछ!! साँच्ची मोटी कस्ति बलवान! उसले छुरा रोप्या देखेरै हो मैले नारीलाई कोमलताकी प्रतिक देख्न नसकेको। नत्र दु:ख साटेर सगैँ रुने साथिहरु त थुप्रै भेट्या छु नि!
मोटिको बिहानको फोटोमाथि प्रष्टै लेख्या छ – “आई वान्ट माई वल्ड लाईफ विथ न्यूँ मेमोरिज!”
मैले बुझ्न नसकेर भएजति शब्दकोष पल्टाईसकेँ, नजिकका साथिहरुलाई सोधिसकेँ। मोटीको अङ्ग्रेजी साँच्चीकै कडा छ।
नबुझेपनि झिनो आशामा लेखिदिएँ – “अल द बेष्ट!”
तलपट्टि उसकि नखरमाउली साथिको कमेन्ट आयो – “कङ्ग्राच फर योर न्यू लाईफ एण्ड बिग डे!”
निम्ता आएछ भने उसका एक-एक यादहरु गर्दुवा दिन मन् छ मलाई, उजस्तै फेरी कहिल्यै नफर्कने गरी !!
