रातभरि खुट्टा दुखेर निदाउनै सकिन । बेलुका डिउटीबाट फर्किदा प्रहरी अफिसमा गएर हस्पिटलबारे जानाकारी लिएको थिएँ । जापानी प्रहरीले म्याप हेरेर एदोगावा सस्पिटलसम्म जानको लागि बाटो, बस सेवा, बस कहाँ कुन नम्वरमा लाग्छ भन्नेसम्म लेखेर एउटा नोट दिएका थिए ।
आज छुट्टीको दिन बिहानै उठेर म्याप राम्रोसँग हेरें, न्वाईध्वाई गरेर बाथकोठाबाट निष्कदा बुढी डिउटी हिडेकी रहिछन् । मेरो बाथरुमको ढोका बाहिरतिर खुल्ने भएकोले बुढीको बाटो छेकेको रहेछ । उनी कालो पाइन्ट फुलबुट्टे कालो टिसट र सानो झोला बोकेर डिउटी हिडेको देखें । बेलुका केही ठाकठुक परेकोले उनी बोलिनन् म पनि बोलिन । कोठामा पुगेर उता हेरें बुढी गैसकेकी रहिछन् ।
बेलुका म पनि स्टेसनसम्म जाने कुरा सुनाएको थिएँ । तर उनी मलाई नपर्खी लागिन् । म भने सबै कुरा मिलाएर निस्कँदा उनी त टाढा पुगिसकेकी होलिन् । खुट्टामा एक खालको जलन थियो । छिटो छिटो हिंड्न नसक्ने म उनलाई ढिला भैसकेको होला, मन बुझाउदै बाटो लागें । म यही खुट्टाको पीडाले अबुधावीको जागिर छाडेर नेपाल गएको थिएँ । मेरो समस्या भनेको निरन्तर जुत्ता लगाउदा खुट्टाको तल्लो भागमा पसिना आउने पसिना र ब्याक्टेरियाका कारण घाउ बन्ने, दुख्ने, पोल्ने, गन्दआउने समस्या हो । नेटमा मेरो समस्या के होला भनेर खोजें । मलाई लाग्छ यही तल लेखिएको कुरा नै मेरो खुट्टाको समस्या होला भन्नेमा विश्वस्त छु ।
हाम्रो शरीरमा दुर्गन्ध ल्याउने भनेको पसिनाले नभएर, छालामा भएका ब्याक्टेरियाहरूले हो । हामी कहिल्यै पनि एक्लै बाँच्न सक्दैनौँ, हामी सँगसँगै हजारौँ सूक्ष्मजीवाणुहरू पनि बाँचिरहेका हुन्छन्। हाम्रो छालामा पनि अनगिन्ती ब्याक्टेरियाहरू बसिरहेका हुन्छन्। त्यस्तै अवस्था नहुञ्जेलसम्म अथवा दुर्गन्ध नआउञ्जेलसम्म हामीले त्यसको बारेमा मतलब गर्ने गर्दैनौँ ।
सामान्यतयाः ‘स्टेफिलोकोकस एपिडर्माइडिस’ र ‘ब्यासिलस सब्टाइलिस’ नामक दुई ब्याक्टेरियाहरू हाम्रो खुट्टाको छालामा बस्ने गर्दछन्। किनभने यी ब्याक्टेरियाहरूलाई न्यानो र ओशिलो ठाउँ मनपर्दछ, जुन वातावरण हामीले मोजा लगाउँदा पैदा हुन्छ। यिनीहरूले हाम्रो खुट्टाको एक्राइन ग्रन्थिबाट निस्केको पसिनामा पाइने ‘एमिनो एसिड’ र ‘ल्युसाइन’ रसायनिक पदार्थ खान्छन्। यी ब्याक्टेरियाहरूले ल्युसाइन खाएपछि, ‘आइसोभ्यालेरिक एसिड’ नामक ग्याँसपदार्थ विसर्जन गर्ने गर्दछन्। यही ग्याँसले गर्दा नै हाम्रो खुट्टाबाट नराम्रो गन्ध आउने गर्दछ।
तर, ब्यासिलस सब्टाइलिस ब्याक्टेरियाले भने पसिना खाँदैन, यसले हाम्रो पाइतालाको नरम छालालाई खाने गर्दछ, र पछि सल्फर ग्याँस विसर्जन गर्दछ, जसले एकदमै नराम्रो दुर्गन्ध निकाल्दछ।
आखिरमा के निश्कर्ष निस्कियो भन्दा, पसिनाले गर्दा खुट्टा गन्हाउने होइन रहेछ, खुट्टाको छालामा भएका ब्याक्टेरियाहरूले त्यहाँबाट निस्केको पसिनालाई पचाएपछि विसर्जन गरेको ग्याँसपदार्थले गर्दा नै खुट्टाबाट दुर्गन्ध निस्कने रहेछ।
म निकै दुखका साथ रेलस्टेसनअगाडिको बस स्टपमा पुगें, बस लागिरेको रहेछ । जापानमा बसको अगाडिबाट सबै मानिस भित्र छिर्ने सिष्टम हुन्छ, ड्राइभरको देब्रेभागमा एउटा मसिन हुन्छ त्यस मसिनले बैंकको एटिएमले जस्तै काम गर्छ, जस्तो कि पैसा साट्ने, भाडा लिने, बढी भएको फर्काइदिने, इलेक्ट्रोनिक सुइकाबाट पनि पैसा लिने आदि काम गर्छ । मैले पनि सुइका मसिनमा देखाएँ २२० ऐन काट्यो अनि म बसमा गएर बसें । मलाई डर थियो कि म जाने एदोगावा हस्पिटल कतै उत्रन सक्दिन कि, बसले परअन्तै कतै पो लैजाने हो कि ? मनमा डर त्रास र कौतुहल सबै छचल्किन थाले ।
ड्राइभरको देब्रेभागका माथि एउटा बोर्ड रहेछ । त्यहाँ त बसले गति लिएपछि कुन स्टेसन आउछ अनि त्यसपछि कुन स्टेसन आउछ भनेर ठूलाठूला अंग्रेजी अक्षरमा देखाउने र एनाउन्स पनि गर्ने रहेछ । म त्यो देखेर निकै खुसी भएँ र निधारित समयमा म हस्पिटलको अगाडि पुगें । म दिल खोलेर जापानी भाषामा भावना व्यक्त गर्न सक्दिन । जापानीहरू अंग्रेजी त्यतिको प्रखर हुदैनन् । कसरी म उपचार गराउने होला भनेर चिन्तित थिएँ ।
बसबाट झरेर केही पर पुगेपछि एउटी साधारण भेषमा रहेकी बुढी आमा भेटें । उनले मलाई अग्रेजीमा कहाँ जादै हुनुहुन्छ भनेर सोध्नुभयो । मैले म यही हस्पिटलमा आएको हुँ तर पहिलो पटक भएकोले केही थाहा छैन के गर्ने होला चिन्तामा छु भने । बुढी आमैले चिन्ता नगर्नुस म सबै सक्दो सहयोग गर्छु भन्नुभयो ।
हस्पिटल बहिरङग र अन्तरङग गरी दुईभागमा विभाजित रहेछ उहाँले मलाई सबै देखाउदै र बताउदै अलि परको बहिरङग बिभागमा लगेर जानुभयो । बाटोमा मेरो जापानी भाषा, मेरो देशका बारेमा सोध्नुभयो र एकपटक नेपाल जाने इच्छा जाहेर गर्नुभयो मैले हजुरलाई नेपालमा स्वागत छ भने । मलाई बुढीआमाले बहिरङगको काउन्टरमा लगेर जानुभयो संयोगबस त्यो दिन स्किन सम्वन्धी उपचार गर्ने विभाग बन्द रहेछ । मलाई अर्को दिन आउने कुरा गर्नुभयो । तर मैले सक्दिन आज पो बिदा थियो र आएको थिएँ अब त बिदा मिलाएर अर्को हप्ता मात्र आउन सक्छु भने । त्यसपछि मैले उहाँलाई के गर्नुहुन्छ यहाँ हजुरले भनेर सोधें । उहाँले म यहाँको डक्टर हुँ भन्नुभयो । म त अलि नतमस्तक भएँ किनभने कति सहयोगी, कति साधारण भेषमा सामान्य मान्छेको बीचमा उहाँलाई कसैले पनि नचिन्ने उहाँ डक्टर हो भनेर ।
मलाई एकछिन उता बस्न लगाइयो र उहाँ आफै भित्र जानु भयो र आउनुभयो ।अनि मलाई भन्नुभयो हामी तपाईको लागि डक्टर बोलाएका छौं चिन्ता नगर्नुस, सबै ठिक हन्छ । त्यहाँ निकै छोटो समयमा मैले एक फर्म भरें, उहाँले मलाई फर्म भर्न पनि सहयोग गर्नुभयो, मेरो लागि हष्पिटलकार्ड बन्यो । एकै छिनमा मलाई उहाँ बुढी आमाले नै चार तलाको उतापट्टि लगेर जानुभयो डक्टर आउनुभएको रहेछ ।
मेरो खुट्टाको चेक जाँच भयो । हामीले यो समस्या छिटै समधान गर्छौ चिन्ता नर्गुस भन्नेर मलाई लगाउने औधषी लेखिदिनुभयो । मैले कार्डबाट औषधीको बिल तिरें र बल्ल डक्टर बुढीआमाले निको नभएमा फेरि आउनुहोला जानेर आफ्नो कार्यकक्षतिर लाग्नुभयो ।
मैले औषधी किनें, त्यहाँ भवनको बीचमा कृतिम चट्टान बनाइएको थियो, पहराको बीचबीचमा रुखहरू उम्रेका थिए । एकजना बुढी आमाले तिनै रुखबाट झरेका पातहरू बढार्दै हुनुहुन्थ्यो । मैले एकपटक हाम्रो गाउँघर सम्झें भीरपाखा, पखेरा सम्झें, पहरामा लुकामारी गरेको सम्झेर टोलाइरहें ।
क्या सुन्दर जापान अनि जापानीहरू !
–देवेन्द्र बस्याल, जापान
