Skip to content


ढिण्डो रोटो सधैं हुन्थ्यो अलेलि माम सम्झन्छु
तिमीलाई मेरी आमा उज्यालो घाम सम्झन्छु ।।

कुनै दिन सिर्कना हान्थ्यौ तथापि भित्रको माया
निकाली तेल घस्दिन्थ्यौ कुटेका डाम सम्झन्छु ।

नुहाई काखमा राखी दुवै हातले मुसारेको
मुटुकै स्नेह बर्साउँने सताक्षी धाम सम्झन्छु ।

पीडाको जिन्दगी तिम्रो कहाँ भुल्थें म हे आमा
अनेकौं यामका दग्धी भरीका काम सम्झन्छु ।।

सुनौलो यामका मेरा बितेछन् काखमा खेल्दै
कहाँ पाऊँ म त्यो माया बितेको याम सम्झन्छु ।।

बिहानै काम धन्दाको महासङ्घर्षमा भीड्दै
बितेको जिन्दगी तिम्रो सधैं धुमधाम सम्झन्छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *