तिमी सुतेकै थियौ छोरी
म झिसमिसेमै हिडिहालें
तिम्रो कलिलो अनुहार
मलाई हेरिरहेको थियो छोरी
तर तिमी निदाइरहेकी थियौ
मैले तिम्रा दुवै गाला
सुमसुमाए र म्वाई खाएँ
तिम्रो मायालाई मुटुभरि बोकेर
पछ्यौरीले आँसु पुछ्दै हिडिहालें
एकछिन ममी नछोड्ने तिमी
मेरी पुच्छर थियौ छोरी
म पनि तिमी बिना
बाँच्नै नसक्ने ममी थिएँ छोरी
तिम्रो मुहारको मुस्कानले
मलाई जिउने उर्जा मिल्थ्यो
तिम्रा आँसुका ढिकाले
मेरो मुटुमा प्वाल पार्थ्यो
ब्युँझेर नखोज्नु छोरी
म वैदेशिक रोजगारमा हिडें
नरूनु खोज्दै ममी छोरी
म पनि आँसु पिउदै हिडें
तिम्रो बुबु छैन छोरी
कचौरीमा माम खानु
ममी सम्झेर रोइरहँदा
कचौरीमा आँशु नपार्नु
म खुसीले हैन छोरी
तिमीलाई गुँडमै छोडी हिड्नु
बाध्यता र विवशताले छोरी
पर्यो मलाई घर छोडी हिड्न
देवेन्द्र बस्याल, जापान
