सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरिरहेका हुन्छन । पारि पातालमा कराइरहेको कोइलीको सुमधुर आवाज । शिशिर यामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ ।
ऊ निदमा छपछपी छाम्छे, एक्कासि ब्यूँझेर ममी, ममी ममी… भनेर रुन्छे । आँखाबाट बरबर आँसु झार्छे, बुबु खान्टु भन्छे । जब उसका कुनै पनि माग पुरा हुँदैनन्, अनि बोकेर डुलाउन भन्छे । कहिले रातको बाह्र बजेको हुन्छ त कहिले रातको बिहानीपख दुईतीन बजेको हुन्छ ।
यो अबोध बच्चा अँधेरी आधा रातमा रोइरहँदा मैले पनि मन थाम्नै सक्दिन । अनि हामी फुपूभतिजी संगसँगै रुन्छौं । मैले एकहातले आँसु पुछ्दै एक हातले भतिजी बोकेको पछ्यौरीको फुर्को पछाडि समातेर म मेरी ३ वर्षकी भतिजीलाई बोकेर बरण्डाको वरिपरि डुलिरहेकी हुन्छु ।
“हाहै नानु हाहै, नूनु बाबु नूनु, भोलि पाडीको बुबु खाउली है नानु नूनु गर ।”
म यस्तै यस्तै शब्दले भटाउदै भतिजीलाई भुलाउने र फकाउने कोशिस गर्छु । बिस्तारै घडीको सुई घुम्दै जान्छ पलपलमा रात छिपिंदै छ । एक दुई घण्टासम्म पनि ऊ भुल्दिन । कति सम्झना आउँछ उसलाई ममीको उसले कुनै शब्दमा अभिव्यक्त गर्न सक्दिन । तर उसको रुवाइ, कराइले बताउँछ कि ऊ रुँदा रुँदै थाक्छे । उस्को अवाज बदलिन्छ । तर पनि उसले ममी पाउँदिन न त पाउँछे बुबु केवल मेरो साथ, मेरो बुई ।
आज एक दिन होइन दुई दिन होइन । यस्ता कयौं रात हामी फुपूभतिजीले रोईरोई बिताइसकेका छौं ।
हिजै हो भाउजूले जापानबाट फेसबुक मेसेन्जरमा भिडियो कल गर्नुभएको थियो । मेरी भतिजी आत्तिदै फोनमा उसको ममीलाई देखेर,”ममी आउनु म बुबु खान्टु” भनी ।
उताबाट ममी चाहिंले “पाडीको बुबुखाऊ म भोलि पर्सी आउँछु” भन्नुहुन्छ । तर भतिजी भन्छे,”भो म हजुरकै बुबुखान्टु । ममी भोलि नआउनु आजै आउनु ।”
ऊ फोनको पछाडि हेर्छे छाम्छे तर उस्लाई यो सब झुट जस्तो लाग्छ होला । अनि बोल्दा बोल्दै बोल्न छोडेर खेल्न हिड्छे ।
दिनहरू त विचरा उसले जसो तसो संगीसाथीसँग बिताउछे । जब रात पर्छ अनि उसलाई ममीको साथ चाहिंदो रहेछ । विचरा कति रुन्छे, कराउँछे, छटपटीन्छे अनि उठेर हिड्छे । ऊ अघि म पछिपछि हिड्छौं रुदै रुदै गोठसम्म पुग्छे, भित्र हेर्छे, भैंसी देखेर डराउछे, अनि छिमेकीका घरघर जान्छे भित्र हेर्छे । ममी कतै देख्दिन, अनि निरास हुन्छे । “दिदी हाप्पा भन्छे”, मैले काखमा हालेर आँसु र सिंगान पुछिदिन्छु ।
मेरो मनमा प्रश्नहरू छचल्किन्छन्,”ऊ जान्ने बुझ्ने भएको भए त मेरो ममी कहाँ गएकी हो जोकसैलाई पनि सोध्थी होला बुझ्थी होला । यति सानो उमेरका नानी बाबु घरमा छोडेर परदेशी हुनुपर्ने हाम्रो बाध्यता ।”
मैले त भाउजूलाई भनेकै हुँ,”भो भाउजू, अरुको देखेर हुँदैन । बिदेश अहिलै नजानुस्, छोरी केही बुझ्ने भएपछि जानु होला ।”
उता दाजुले पनि बारम्बार भन्नुभएकै हो,”जुन समयमा बच्चाले आमाबाबुको माया पाउनु पर्ने हो त्यो समयमा हामी उनीहरुलाई छाडेर हिडियो भने बच्चाहरुको मानसपटलमा नकरात्मक असर पर्छ । उनीहरुले बाबुआमा बिर्सन्छन । प्यारेन्टसको बेवास्ता गर्ने, एकोहोरोपन, अटेरी, निष्ठुरी, अराजक हुन्छन ।”
यहाँ खोज्दैछ छोरी
ममीलाई रन र वन
फर्कि आउनु छिट्टै
परदेशी जन र मन ।
–देवेन्द्र बस्याल
जापान
