Skip to content


प्रसंग १
केही दिनअघि एक जना मान्छे माघको जाडोमा पनि बिहान सखारै उठेर भर्खर ढलान गरेको घरमा चिसो पानीको फोहोरा हाल्दै थिए । सँगै घरको छिमेकीलाई उनी गर्वका साथ आफूले बिहान ४ बजे उठेर पानी भरेको बताउँदै पनि थिए । वर्षौं मिहिनेत-पसिना बगाएर उनले बल्लबल्ल त्यो सानो घर ठड्याएका रहेछन् । आफ्नो बचेखुचेको जिन्दगी बित्ने, छोरा-नाति जन्मने र हुर्कने त्यो घर बलियो होस्, छाना नचुहियोस् भन्ने उनको सोच हुनु स्वाभाविक हो । त्यसैले त उनले त्यो घर बनाउन जग खन्ने बेलादेखि नै विशेष रेखदेख गरेको हुनुपर्छ, दुःख पनि पाएको हुनुपर्छ । राम्रो लगाउने, मीठो खाने कतिपय इच्छाहरूमा मन मारेर उनले घरका लागि जोहो गरेको हुनुपर्छ । केही नगुमाइ केही पाइँदैन भन्ने कुरामा शंका गर्ने ठाउँ छैन । हुन त यो कुनै नौलो घटना होइन किनभने हामीमध्ये थुप्रैले त्यसरी नै घर बनाएका छौँ अथवा बनाउने योजनामा छौँ । आममानिसको एउटा यस्तै सपना हुन्छ र त्यसलाई पूरा गर्ने क्रममा उसले आफ्नो जीवनका सक्रिय क्षणहरू समर्पण गरेको हुन्छ । त्यसैले यस्ता दृश्यहरू हामी आफ्ना वरपिर िथुप्रै देखिरहेका हुन्छौँ ।

प्रसंग २
पुख्र्यौली घरमा बसेको एउटा ठूलो परविार थियो । धेरै दाजुभाइ थिए त्यो परविारमा । सबैको आफ्नै चाहना र सोच थियो । लामो समय त त्यत्तिकै बित्यो तर रहँदाबस्दा उनीहरूलाई अब आ-आफ्नै हिसाबले बाँच्न मन लाग्यो, कुरा पनि मिल्न छाड्यो । कसैलाई कोठा पुगेन, कसैलाई बारी पुगेन, कसैलाई कुन तल्ला चाहियो र कसैलाई कुन दिशा । अन्ततः त्यो घरलाई भत्काएर नयाँ घर बनाउने सहमतिमा पुगे उनीहरू । त्यसपछि सबैको इच्छा र चाहना पूरा हुने गरी नयाँ ढाँचामा त्यो घरलाई पुनःनिर्माण गर्ने निक्र्योल भयो । बनाउन पो समय लाग्छ, भत्काउन केको आइतबार, डाङडुङ पारेर भत्काए त्यसलाई ।
तर, अब नयाँ घर बनाउने जिम्मा कसको त ? पहिलोको कुरामा दोस्रोले शंका गर्ने, दोस्रोलेे खोजेको ठेकेदारलाई तेस्रोले विश्वास नगर्ने अनि तेस्रोले बोलाएको डकर्मीलाई पहिलोले शंकाले हेर्ने स्थति आयो । निकै लामो विवादपछि आपसी सहमतिमा अहिले उनीहरूले एउटा ठेकेदारलाई त्यो काम जिम्मा लगाएका छन् । तर, नयाँ गारो लगाउने बेलामा ती दाजुभाइहरूले बेल्चा, साबेल र डकर्मीको औजारै लुकाइदिने गर्न थाले भने त घर कसरी बन्ला त ? आफूले छानिसकेको ठेकेदारलाई कामै गर्न नदिई ‘यसले बनाएर बन्दैन’ भन्दै सातैपिच्छे अर्को ठेकेदार खोज्न थाल्यो भने घर कहिल्यै पनि तयार हुँदैन । बरु ठेकेदारले काम गर्न थालेपछि दाजुभाइ मिलेर रेखदेख गर्ने, जग खन्दा बांगोटिंगो नहोस् भनेर ध्यान दिने, भित्ता उठाउँदा इँटा मिल्यो कि मिलेन हेर्ने, ढलान गर्दा सिमेन्ट, बालुवा र रोडाको मात्रा मिलाउने, परेका बेला राती उठेर पानीको जोहो गर्ने र बलियो बनाउन गारोमा सिँच्ने काम गर्दा घर छिटो तयार हुन्छ । त्यसपछि बाँकी रहेका सानातिना कुराहरू कसरी सजाउने, मिलाउने भन्ने त घर बनेको निकै समयसम्म पनि गररिहनुपर्ने नै हुन्छ ।

प्रसंग ३
भक्तपुरको दत्तात्रय मन्दिरबाट अलिकति पश्चिमतिर एउटा पुरानो, जर्जर भइसकेको घर थियो । कहिले कुखुरा पाल्ने खोरका रूपमा त कहिले त्यसै बेवारसिे अवस्थामा रहेको त्यो घरमा मान्छे बस्ने त परै जाओस्, छिर्ने पनि कल्पना गर्न सक्दैनथ्ो । रवीन्द्र पुरी नामका एक जना युवा इन्जिनियरको त्यसमा आँखा पर्‍यो । साधारण मान्छेको आँखाले देख्नेभन्दा अलिकति पृथक् आँखाले उनले त्यसलाई हेरे । र, त्यो घर किनेर नेपाली परम्परागत शैलीमा त्यसको जीर्णोद्धार गरे । कल्पना नै गर्न नसकिने गरी त्यस घरको कायापलट भयो । त्यति मात्र होइन, उनले युनेस्कोको पुरस्कार पनि हात पारे । कुखुरा घर र भुताहा घरबाट त्यो घरको नाम अहिले नमुना घर भएको छ । स्वदेशी तथा विदेशीहरू पनि अचेल त्यो घर हेर्न पुगिरहन्छन् ।

सोच
एक जनाको प्रयासले एउटा जीर्ण घर नमुना घरमा परण्िात हुन सक्छ भने सबै जनाको प्रयासले सिंगो देश नमुना देश बन्न सक्छ । किनभने, एउटा र अर्को गर्दै त्यस्तै घरहरूले टोल बन्छ । टोलहरू मिलेर वडा बन्छन्, वडाहरू मिलेर नगर, नगरहरू मिलेर जिल्ला अनि अञ्चलहरू गर्दै सिंगो देश बन्छ । तर, हामीले आफ्नो घर बनाउने बेलामा गर्ने जति दुःख र त्याग पनि नगरी देश बनोस् भन्ने चाहना राख्न थाल्यौँ भने हाम्रो सपना पूरा कहिले होला र  ? त्यसैले हामीले अहिले आफ्नो दायित्व, कर्तव्य र आचरणबारे गहिरएिर सोच्ने बेला भएको छ ।
१५ दिन फोहोर उठेन भनेर हामी कुर्लन्छौँ तर साँझ परेपछि चारैतिर हेर्दै आफ्नो घरको फोहोर लगेर बाटोमा मिल्काएर आउँछौँ । दुई-चार दिन ल्यान्डफिल साइटमा जायज वा नाजायज मागहरूका कारण फोहोर पुर्‍याउन नसकेका बेला सम्बन्धित निकायहरूको भत्र्सना गर्नु सँगसँगै आफ्नो घरको मात्र फोहोर खाल्डोमा हाल्ने वा आगो लगाउने काम हामीमध्ये कतिले गर्‍यौँ ?
आत्मा साक्षी राखेर एकैछिन हामी सोचौँ, हामीमध्ये कतिले नछलीकन कर तिरेका छौँ, कतिले घरमा बिजुलीको मिटरमा कैफियत नगरी तिर्नुपर्ने जति तिरेका छौँ, कतिले सार्वजनिक सम्पत्तिको संरक्षण गरेका छौँ, कतिले पद र सुविधाको दुरुपयोग नगरी इमानदारी देखाएका छौँ ? अनि, पद र जिम्मेवारी सम्हालेकाहरूले पनि कृत्रिम अभावहरू खडा नगरेर, जनताको आँखामा छारो नहालेर, सत्यतथ्य नलुकाएर, अनावश्यक मोल नबढाएर, धेरैलाई गरबि बनाएर थोरैको ढुकुटी भर्ने क्रियाकलापहरूलाई नियन्त्रण गर्न के प्रयास मात्र भए पनि गरेका छौँ त ?
हामी त मन्दिरमा गएर समेत लाइन पेलेर अर्कोले भन्दा पहिले पुण्य कमाएर आफ्नो बाटो तताउन हतार गर्छौं । आफ्नो सुविधा खोज्ने बेला अरूलाई असुविधा भए भर्सेला परोस् भन्छौँ । बाटो ढाकेर निर्माण सामग्री थुपार्छौं । ट्राफिक नियम मान्ने भनेको त लाइसेन्स खोसियो भने छुटाउनका लागि प्रहरीमा मान्छे नभएकाहरूले मात्र हो भन्ने सोच राख्छौँ । हरेक समस्याको समाधान टायर बालेर हुन्छ भन्नेमा विश्वास गर्छौं । बाटो रोकेर प्रदर्शन गर्दै अप्ठ्यारोमा चेपेर माग पूरा गराउने दबाबको राजनीतिलाई मूल मन्त्र मान्छौँ । आफ्नो विरोध गर्नेहरूलाई साम्य पार्न उसको गुनासो सुन्नुभन्दा पिटपाट पारेर चुप लगाउनुलाई समाधान ठान्छौँ । हरेक कुरामा शीघ्र परण्िाामका लागि ‘सर्ट कट्’ मात्र हान्न खोज्छौँ । हरेक समस्याको क्षणिक समाधान मात्रै खोजेर त्यसलाई पन्छाएर अघि बढ्न खोज्छौँ ।
हाम्रा आधारभूत सोचाइ र आचरणमा परविर्तन ल्याउनका लागि अलिअलि त्याग अनि अलि धेरै संयमको खाँचो छ । किनभने, स-साना कुराहरूबाट सुरु नगरी ठूलो फड्को मार्ने प्रयासमा मान्छे खुर्मुरएिर गुल्टिन सक्छ । तर, त्यति थाहा हुँदाहुँदै पनि हामीले सामूहिक प्रयासबिना चमत्कार हुन्छ भन्ने सोच्न थाल्यौँ भने भोलिको इतिहासले हाम्रो पुस्तालाई कुन रूपमा मूल्यांकन गर्ला ? अहिले नै होस पुर्‍याउनु बुद्धिमानी हो ।

नेपाल साप्ताहिक ३४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *