आऊ कलाकार छिनो समाऊ
आई घरैमा पसिना चुहाऊ
विश्वासमा कत्ति नधर्मराऊ
सम्मानको स्वेद यतै चुहाऊ ।।
छन् बाबु आमा घरमा रुएका
छानाहरु छन् घरमा चुहेका
भोभो उताको अब लोभ छोड
धेरै भएको छ यहाँ बिछोड ।।
तिम्रा चुनौती कति छन् अगाडि
बाटो र त्यो लक्ष कतै नछाडी
हे शिल्पका साधक माथि जाऊ
गन्तव्यमा पुग्न नडग्मगाऊ ।।
तिम्रो छिनोले जब कर्म गर्छ
त्यो कर्मको मूल्य उचो ठहर्छ
हेरेर मात्रै अघि पाउ चाल
सद्कर्म गर्नैतिर हात हाल ।।
नेपालमा धेर जमेर मैलो
भो सभ्यताको अझ बन्द दैलो
आएर दैलो अहिल्यै उघार
यो देशको क्लेष सबै निखार ।।
