शादीशुदा थाहा पाएपछि लाइक हराएको छ ।
पैसा नभएको थाहाएपछि आफन्त हराएको छ ।
त्यसैले होला दुःखको भारी विसाउँदा,
गोहीको आँसुले सम्वेदनशीलता नाप्न कठीन भएको छ ।
वर्षको एकदिन मनाउने प्रेम दिवसमा पनि प्रेम हराएको छ ।
पाप धुरीबाट कराएको छ ।
वास्तबमा प्रेम दिनेका लागि हो,
दिएर विर्सनेका लागि झन् हो ,
तथापि
गगनभेदी नारा लगाएर के गर्ने ?
प्रेमदिवस उच्छवास दिवस भएको छ ।
‘मेरो योसँग यत्ति लिन बाँकी’ आदि सम्झनामा बाहेक,
अरु केही खाँटीहरु भेट्टाउन पनि मुस्किल छ ।
खुर्पेठ्याक लाउना खोज्नेहरु धेरै भएर होला,
यो दुनियाँ प्रेम प्रेमनगरीबाट विस्थापित भएर,
पैसाका पछि हारालुछ लाग्दा,
नबुझ्नेका लागि वास्तवमा प्रेमको खडेरी परेको छ ।
सिञ्चन गर्न ज्वालामुखी होइन,
एउटा मनकारी मन चाहिएको छ ।
टपरटुइँयाहरु धेरै छन् ,
सबैलाई लख्खरगिन्नी नै चाहिएको छ ।
बुझ्यौँ यदि भने आज प्रेमको आँधी आएको छ जताततै,
यसको फौहार गुजुल्ट्याए सङ्कुचित पार्नु हुन्न ।
छाउनु दिनुपर्छ यस पवित्रलाई सर्वत्र !
प्रेमदेव अव चूप लाग्नुहुन्न ।
पवित्र यो हो प्रेम,
सम्पुर्ण धर्महरुको मजबून ।
सबैले जानून्
तेत्तीसकोटी देवतामा पनि प्रेमबहार ल्याउनुपर्छ तिमीले ।
सबैलाई प्रेम आतङ्क नलागोस् ।
गुमनाम प्रेम होइन,
सबै सारा व्रह्माण्ड प्रेममय होस् ।
सबैलाई अमृत तुल्य बहार छरोस् ।
प्रेम प्रेम प्रेम सदा प्रेमील प्रेमदिवस होस् ।
अमृत सिञ्चनको यो प्रणय दिवस,
सबैमा सधैँ छाओस् ,
सबैमा उमङ्ग ल्याओस् ,
सबैमा आपसी भाइचारा ल्याओस् ,
बहारै बहार होस् ,
सर्वत्र ! सर्वत्र !! सर्वत्र !!!
हर्षको आँसुले प्रेमको अमृत बर्साओस् ।
हर्षको आँसुले प्रेमको अमृत बर्साओस् ।
२०७६ फागुन २ FEB 14, 2020
बिजु सुवेदी ‘विजय’
भकतजन मार्ग, कुलेश्वर, काठमाण्डौँ
bijusubedi@gmail.com
