१.
सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ
यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ
सिटामोल नपाएर मर्नु पर्छ जनताले
दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ
२.
सर्प पाल युवा फाल चमत्कार हुन्छ
यस्तै यस्तै कदम चाल चमत्कार हुन्छ
जनताले बिरोध गर्न सक्छन् भ्रष्ट बन्यौ
घाँस हाल मुख टाल चमत्कार हुन्छ
३.
राम्रा होइन हाम्रालाई छानिन्छ र पो त
यहाँ गलतलाई सही मानिन्छ र पो त
देशका लागि केही गर्न खोज्नेलाई पनि
समर्थन होइन खुट्टा तानिन्छ र पो त
४.
सरकार भन्छ कतै पनि भ्रष्टाचार छैन
समृद्धिको लहर छ कतै हार छैन
बिपत्तिमा मौन सत्ता जोगाउनमै ब्यस्त
देख्दा लाग्छ यो देशमा सरकार छैन
५.
गुजारा चलाउन मृत्युसँग खेलिरहनु परेको छ
हेर्नुस् निमुखाले समस्या झेलिरहनु परेको छ
गन्तव्यहीन बन्दै छ जिन्दगीरुपी रथ तैपनि
मन नलागे नि भ्रम साँचेर ठेलिरहनु परेको छ
खनालगाउँ नुवाकोट, हाल पोखरा ११
