मान्छे ! हिजोसम्म ‘तिमी’भित्र ‘हामी’ हराएको आभास हुन्थ्यो
‘तिमी’ले ‘हामी’लाई त सोच्नै भ्याएनौ
‘तिमी’भित्रको ‘म’ले तिम्रा आँखामा पट्टी बाँधिदिएको थियो
हामीले कल्पना गर्यौं, तिमीले पट्टी खोल्छौ कि भनेर
अहं तर तिमीले खोल्नै चाहेनौ
हामीलाई थाहा थियो,
किनकि ‘तिमी’ ‘मेरो’को दास भइसकेका थियौ ।
तिमी चिल्लाचिल्ला कारमा हुँइकिन्थ्यौ
हामी खालीखुट्टा पाइला चाल्थ्यौं
तिमी महङ्गामहङ्गा कपडाले जीउ ढाक्दा आफ्नो शान सम्झिन्थ्यौ
हामी झुत्रेझाम्रे फाटेका टालेका लुगा नभेटेर नाङ्गैभुतुङ्गै हुनुपर्थ्यो
तिमीले चौरासी व्यञ्जन मन नपरेर दिनदिन रेष्टुरेण्ट फेर्दा
हामी घुटुकघुटुक थुक निल्दै हेरेर चित्त बुझाउँथ्यौं ।
तिमी सामान्य विराममा पनि विदेशका महङ्गा अस्पताल धाउँथ्यौ
हामी ज्वरो आउँदा सिटामोल नभेटेर तडपिन्थ्यौं
तिमी महङ्गा बोर्डिङमा ठाँटिएर पढ्नजाँदा
हामी धुले पाठशालामा भाँडाकुटी खेल्दै गरेका हुन्थ्यौं
तिमी शहरका चिल्ला आलिशानमा अर्धनग्न भएर छिल्लिरहँदा
हामी गाउँको ढुङ्गा–माटोमा तप्पतप्प पसीना चुहाउँदैगरेका हुन्थ्यौं
मान्छे ! आफूले आफैंलाई सोध त एकपल्ट,
‘तिमी’ र ‘हामी’बीचमा कत्रो ठुलो खाडल थियो !
तिमी माथि हुँदा हामी तल
तिमी ठुलो हुँदा हामी सानो
तिमी धनी हुँदा हामी गरीब
तिमी सुखी हुँदा हामी दुःखी
तिमी शहरिया हुँदा हामी गाउँले
तिमी आधुनिक हुँदा हामी सभ्यताहिन्
मान्छे ! तर एकपल्ट सोच त
कोरोनाले विभेद गर्दोर’छ ?
उसको तराजूमा घटीबढी कोही हुँदोर’छ ?
उसको परिभाषामा शहरिया र गाउँले
धनी र गरीब खै यस्ता खाडल ?
मान्छे ! अब सोच्न ढिलो गर्नुहुन्न है
मानव जातिको अस्तित्वमा कोरोनाले धावा बोल्दैछ
‘तिमी’ र ‘हामी’बीचका अस्थायी सीमारेखाहरू मेटाएर
जीवनमाथि नै बाघेझप्पु हान्दैछ
के थाहा ? हामीसँगै तिमीलाई पनि गुल्ट्याउँदैन भन्ने
आँखा च्यातेर हेर त विश्वलाई
लासका थुप्रा र बाँच्नेहरुका चित्कारलाई !
मान्छे ! अब हामीले सोच्नैपर्छ
मानव जाति एकै हौं
हामीबीचमा कुनै विभेद छैन
हामी मात्र मानव हौं
मानव जातिरहे मात्र संसार सुन्दर हुन्छ
तिमी–हामी मानव नै नरहे
यो माटोको के काम ?
यी बङ्गाला, चिल्ला कार, धन सम्पत्ति, सुखसयलको के काम ?
‘हामी’लाई त्यागेर ‘मेरो’, ‘मेरो’भित्र पनि ‘म’को के काम ?
मान्छे !
फालौं रीसराग मैलो हटाऊँ तुच्छ भावना
खोलेर मानवताको ढोका गरौं विश्वशान्तिको कामना
खोलेर मानवताको ढोका गरौं विश्वशान्तिको कामना ।
-नारायणप्रसाद चँदारा
नयाँबजार, इलाम
२०७६/०१/०२
