लघुकथा ः राहत
“आमा आज चामल र दाल ल्याउने हो नि ?” राजनले आमालाई सोध्यो ।
“खै बाट्ने भनेका हुन् क्या र मालतीले जवाफ फर्काइन् ।”
राजनलाई दाल र भात औधी मन पर्छ । दश बज्नै लागेको थियो, मालती छिमेकीले हिजो छाक टार्नलाई दिएको चामल पकाउने तयारी गर्दै थिइन् । वडा कार्यालयले राहत स्वरुप केही खाद्यान्न दिने भनेपछि उनीलाई आज वडा कार्यालयतिर जान हतार थियो ।
श्रीमाङ्को मृत्यु पछि मालतीका सुखका दिनहरू कहिल्यै फर्किएनन् । घरको छाक टार्न उनी मजदुरी गर्दथिन् तर सरकारले गरेको लकडाउनले सबै काम ठप्प थिए । अब त सबै घरका भाडाहरू खाली छन् । साँझ खाए बिहान के खाने भन्ने कुराले पिरोल्छ उनलाई ।
उनले एक तमासले छोरालाई हेरिन् । छोराका अनुहारमा खुशीका भावहरू दौडिरहेका थिए । उनको मनमा सन्नाटा छायो । हुन त संसार नै स्तब्ध र मौन छ । हाहाकार मच्चिएको छ । लाग्छ त्यो राप्तिको किनार पनि मौन छ आजभोलि । सहारा दिने कोही छैन् । भगवान पनि लकडाउनमा बसेछन् क्या हो ! यस्तै कुरा मनमा खेल्दै थियो मालतीको ।
“आमा कति बजे जाने हो चामल र दाल ल्याउन ?”
“दश बजे बोलाका हुन् क्या र ? अब जाने हो ।”
“घर हेर्नु है म पुगेर आउछु”
“हुञ्छ आमा छिटो लिएर आउनु होला है”
दाङ, देउखुरी
