Skip to content


लकडाउनका राम्रा पक्षहरू थुप्रै छन् । यसलाई मैले धेरै राम्रो अवसरको रुपमा पाएको छु । हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बाहिर जाँदा चुरोटको धुवाँ, गाडीको धुवाँ, धुलोमुलोले गाल पार्थ्यो, अब त स्वच्छ हावा सित्तैमा महसुस पाइएको छ । पशुपञ्छी, बोटविरुवा पहिलेभन्दा आनन्दित छन् । यसले गर्दा जीवजन्तुहरू अरु समयभन्दा हलक्क बढ्न पाएको छ । सबै बालबालिका प्रफुल्लित मुद्रामा छन् । वातावरण प्रदुषण मुक्त देश भएको छ । शरीरलाई स्वच्छ वातावरणमा आरामतुल्य पार्दा एक किसिमको मीठासपूर्ण जीवनको सुरुवात भएको छ । कोही व्यक्ति जस्तोसुकै विरामी भए पनि यस्तो वातावरणमा स्वच्छ हुन सक्छन् ।

श्रमिक वर्गहरुले पनि कत्ति अर्काका लागि काम गरी मरिहत्ते गर्ने ? आफ्नो घरपरिवारमा बसी आत्मीयता बढाउने सुअवसर हो । देश विदेशका समाचार सुन्ने पनि यो मौका हो । पढ्नेहरुका लागि किताबहरू पढ्न जत्ति पनि समय छ । “आहा ! कत्ति राम्रो लकडाउन” भन्ने मनन गरी वौद्धिक विकासका हरेक क्रियाकलाप गर्ने अवसर जुरेको छ ।

घरमा एक नजर लगाउँ त ? खेतवारीमा, बगैँचामा काम गरी केही न केही रोपाईं गरी बाँझो धर्तीलाई उपयोग गर्न पाइन्छ । खेतवारी नभएकाहरुको पनि घरको चारैतिर तरकारीहरू रोप्ने, कौसीमा पनि खेती गर्ने सुअवसर आएको छ । डलर मात्र सबैकुरा होइन, हामीले विदेशमा काम गर्ने धुनमा खेतीपाती विर्सियौँ । यसलाई सुधार्ने अवसर आएको छ । हामीले आफ्नो खुट्टामा उभिने अवसर अब नचुकाऔँ ।

हामीजस्ता लेखक, साहित्यकारहरुका लागि त यो ठुलो दशैँ नै भएको छ । हाम्रा लागि त यो सुनौलोभन्दा पनि हीराको समय आएको छ । मैले यो समयमा थाँती राखेको २ पुस्तक लेखी सकाइसकेको छुँ ।

स्वस्थ्यताका लागि विभिन्न खेलहरू खेल्न सकिन्छ । चेस खेलेर आफ्नो बुद्धि विकास वौद्धिकरुपमा गर्न सकिन्छ । कम्प्युटरमा नेपाली टाइपको अभ्यास गर्न सकिन्छ । आफूलाई मनपरेको भाषा तथा पढाइको अभ्यास गर्न सकिन्छ । ग्राफिक डिजाइन, वेभपेज डिजाइन, एकाउन्ट सफ्टवेएर आदि थुप्रै कम्प्युटरका कोर्षहरू गोगल, युट्युबमा हेरी अभ्यास गर्न सकिन्छ ।

मनोरञ्जनमा आफूलाई मनपरेको फिल्म हेर्न सकिन्छ । मनपरेका गीतहरू सुन्न सकिन्छ । गीत गाउने अभ्यास गर्न सकिन्छ । भिडियोका थुप्रै सफ्टवेयरहरू गुगुलमा सर्च गरेर डाउनलोड गरी चलाउन सकिन्छ र यसबाट भिडियो इडिट सम्बन्धी कार्य गरी आफूलाई पारङ्गत पार्न सकिन्छ । यस्ता कम्प्युटरका अनि प्रविधिका कामहरुमा पारङ्गत हुन सकिन्छ ।

कथा, कविता, लेख आदि लेख्न आउँदैन भने त्यसको अभ्यास गर्न सकिन्छ । यो अवसरमा आफूलाई पनि स्थापित लेखकहरुको नजिकसम्म पुर्याउन सकिन्छ । आफूलाई पनि लेखक, साहित्यकार बनाउन सकिन्छ ।

हामी नेपालीहरुका लागि यो सुअवसर हो । हामीसँग एन्टी कोरोना इम्युनिटी पावर धेरै छन् । हामीसँग विदेशीसँग नभएको सभ्य परम्परा जुठो नखाने, चोख्याएर आउने, सरसफाइ गर्ने आदि थुप्रै परम्पराहरू छन् । यसलाई अब हामीले विदेशीहरुलाई पनि सिकाउने बेला आएको छ । लसुन, अदुवा, नून, बेसार, जीरा, मरिच, हिङ्ग, दालचिनी, ल्वाङ्ग, सुकुमेल, अलैँची देखि लिएर हर्रो, बर्रो, टर्रो आदि तरकारीमा राखी खाने गरम मसलाहरू यो रोगसँग लड्ने अचूक औषधी सावित भइरहेको छ ।

हामीले पचाउने पानी विदेशीले पचाउन सक्दैनन् । यसको मतलब हामीले शरीरलाई त्यस्तै बनायौँ । यो अहिले आएर हाम्रा लागि फाइदाजनक भइरहेको छ । प्रायः गरीब मुलुकहरू यसको चपेटामा नपरेको कारण पनि के भने उनीहरुमा पचाउने वानी भएकोले पनि हो । त्यत्ति भएर पनि हामी नेपालीको इम्युनिटी पावर बढी हुनुमा पूर्वीय सँस्कृतिलाई नै लिनुपर्छ, मान्नुपर्छ । खानेकुरा खाँदा तात्तातो खाने गरौँ, मनतातो हुँदै गएपछि व्याक्टेरियाहरू खानामा आउन सुरु हु्न थाल्छ, यो जानौँ ।

आज नेपालमा लकडाउनको २४औँ दिन हो । जे होस् ! यो लकडाउन अरु कसैका लागि होइन, हामी आफ्नै लागि हो । यसलाई अन्यथा नसम्झौँ । सबैको जीवन रक्षाका लागि नै हो । सामाजिक दूरी कायम गरौँ । मास्क प्रयोग गरौँ । बाहिर निस्कँदा पञ्जा पनि प्रयोग गरौँ । बाहिरबाट आएपछि कपडा फेरौँ, नुहाऔँ, नयाँ लुगा लगाऔँ, पुरानो लुगालाई धोऔँ । बाहिरबाट ल्याएका पत्रिका, तरकारी, राशन आदिलाई घाममा एकछिन सुकाएर मात्र प्रयोग गरौँ । आफूलाई अत्त्यावश्यक परेका कुराहरू मात्र किन्नलाई बाहिर निस्कौँ । अनावश्यक गफमा नअल्मलिउँ । गफै गर्नु परे भर्चुअल रुपमा गरौँ । अग्रजहरुसँग सिकौँ, अनुजहरुलाई सिकाऔँ । यो लक डाउन हाम्रै सुरक्षाका लागि हो, लकडाउनको पूर्ण पालना गरौँ । समयको सदुपयोग गरौँ ।

२०७७ बैशख ४
बिजु सुवेदी विजय
कलेश्वर, काठमाण्डौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *