Skip to content


लेख्ने पढ्ने सबै बानी हराएर अतीत भो
हाम्रा पुस्तकको चर्चा अहिले एक गीत भो ।।

जहाँ ज्ञान र विज्ञान धर्म दर्शन टम्म छन्
भाग जोड गुणा जस्ता अङ्कका ज्ञानसम्म छन् ।।

तिनै पुस्तकका पाना पल्टाई हामी घोक्तथ्यौं
तिनै पुस्तकमा हामी शिर राखेर ढोग्दथ्यौं ।।

जहाँ छ ज्ञानको ज्योति जहाँ धर्म पुराण छ
वाग्देवीको त्यहाँ बास उनको अझ प्राण छ ।।

आरोग्य शास्त्रको ज्ञान यहाँ छ इतिहास छ
यहाँ संसारको बोध सिर्जना र विनास छ ।।

यसैमा नीतिका लाखौं श्लोक छन् अर्थशास्त्र छ
शौर्यमण्डलको ज्ञान साथै भूगर्भशास्त्र छ ।।

जसको क्षमता हुन्न उस्का निम्ति अगम्य छ
क्षमतायुक्त जो हुन्छ सर्वत्र बोधगम्य छ ।।

भाषा साहित्यका कोश कलाको कुञ्ज पुस्तक
तिनै पुस्तमा मेरो रहोस् यो नित्य मस्तक ।।

यिनै पुस्तकमा हुन्छन् हाम्रा मानव सभ्यता
राम्रा पुस्तक त्यागेर हामी भाग्यौं कता कता ।।

प्रार्थना नित्य यो गर्थ्यौं अज्ञानतम हारिणी
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।।

विश्व पुस्तक दिवसको आजको सन्दर्भमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *