मेरा खुट्टा लम्कदा
लाहुर अर्थात् परदेश
त्यो सपनाको संसारमा
म कमाउन जाँदा
कमाएर पठाउछ भनी
रेमिट्यान्सको आशामा
अपार खुसीको सागर
मनमटुमा सजाउने मेरो देश
आज अनाकन्टार ठाउँमा
अोडारमा पाइने
हजुर आमाले सुनाउनु भएको
दन्त्यकथाको राक्षस जस्तो भएको छ
यस्तो आभास गरिरहदा
मन बिछिप्त भएको छ
आफ्नै मुलुक आउने
ढोकामा बार लगाइदियो
बिरानो मुलुकको नागरिक जसरी
पवित्र मातृभूमिमा
आफ्ना पाइला टेक्न नपाई
माटोको स्निग्ध सुगन्ध
बास्न लिन नपाई
फर्किएर जा भन्दै
मेरालागि सीमा खुलेन
न खुल्यो हृदय
न खुल्यो ममता
न त देखियो मानवता
न त मलाई म नागरिक भएको
आभाष दिलाइयो
फेरि जताबाट आएको उतै फर्काइयो
म आफ्नै मुलुकको लागि
अनागरिक भए
मेरो चित्कार सुन्ने कोशिस गरेन
दिनप्रतिदिन कोरोना संक्रमितको दर
बढ्दै गएका कारण मर्न परे पनि
आफ्नै मुलुकमा गएर मरौं भनेर
आफ्नै माटोमा विलिन हुँ भनेर
नेपाल आमाको काखमा खेल्न
न दिन न रात न अँध्यारो न उज्यालो
केही नभनी निरन्तर
कठिनपूर्ण यात्रा तय गरेको थिए
भोक प्यास थकान केही नभनी
तर
आफ्नै मुलुक पस्ने ढोका मेरा लागि
बन्द हुन्छ होला भनेर
मैंले सोचेका थिएन
जुन सोच्दै नसोचेको कुरा भोग्नु पर्यो
मसँग नागरिकता छ
तर विडम्बना
आफ्नै नागरिक चिन्न सकेन
म नागरिकता भएर पनि
अनागरिक भएं
अहो मेरो भाग्य
म अनागरिक भएं
