बोल्ने इच्छा झटपट भयो, साथ खोज्छु म तिम्रो
किन एक्लोपन हुन गयो, दिक्क लाग्दैछ कस्तो
कोरोनाको कहर बढ्यो बढ्दै त्रासमैं मानिस छन्
सारा हाँस्दा खै अभयसित पोल्छ छाती झन झन
टिलपिल भो आँखामा अश्रु याद आयो सतायो
प्रिया तिम्रो नजिक हुन खै! कस्तो बार लगायो
प्रिया कैल्यै छटपटी नहोस्,शान्ति छाओस् तिमीमा
आशा गर्छु मुसुमुसु खुसी, कान्ति छाओस् तिमीमा
धैर्यता राखेर मनभरी हृदयमा खुसी अपार भर
कर्मै भोग्दैछौं यस्तो जे लेखिएको छ भोग्दै गर
साथी हाँस्छन् खितखित सधैँ साथ मिल्ने सबैको
प्रिया समिप नहुँदा किन यो स्वाद खल्लो भएको
प्रिया झट्टै सब बुझ तिमी, हुन्न सोचेर मात्रै
प्रिया देख्यौ अब सब जना, रैछ सारा विचित्रै
तिम्रो हाँसो झलमल भए, पुग्छ सारा मलाई
तिम्रो खाँचो पलपल भई, दुख्छ थाहै नपाई
प्रिया हेर है मेरो तनमन छ माया सजेको
कस्ले देख्छ धिपधिप दियो, कष्ट खप्दै बलेको
बल्छन् जल्छन् रहर सपना छैन आशा मरेको
हट्छ कहर यो दुनियाँबाट मात्रै सुख छलेको
भोग्दै जाँदा कष्ट कहर धरामा धाएर एक्लै
सुत्दा उठ्दा हर समयमा हुन्छ आभास बेग्लै
अझै छ रहर कर्म गर्ने छैन यो आत्मा गलेको
खुल्छ भेटघाट हुनेछ प्रिया! माया छ है बढेको
