नेपालका स्वदेशका २० लाख मजदूरहरु बेरोजगार भएको ६ महिना भइसक्यो । उनीहरुले यही कमाइले छोराछोरीको फिस तिर्ने र परिवारको छाक टार्ने गर्दै आएका थिए । आज विहान टुडिँखेलमा देखेको थिएँ कि कोही ४ दिन, कोही ७ दिन, कोही ८ दिन भो खाना पेटमा नपठाएको भनी भोकले ढल्लाजस्तो भई थररर काँपी भनिरहँदा कसको मन नरोला ? त्यहाँ युवाहरुले स्वतस्फुर्त रुपमा दैनिक २०० जनालाई लकडाउनको समयदेखि खाना खुवाउँदै थिए ।
ती युवाहरुले भनिरहेका थिए “भोलि पनि खाना ल्याइदिनुस् न है बाबु ? भनी आफुले अभिभावक भन्नुपर्ने व्यक्तिले गुहार्दा कसको मन विक्षिप्त नहोला ? कस्तो ! आत्मा, मनमुटु नभएको सरकार ! गरिवको पार्टी भनी यिनै जनताको भोटले २ तिहाइको सरकार बनाए । उनै सरकारले पेटमा लात हाने । कान्तिपुर, नयाँपत्रिका, अन्नपुर्णपोस्ट आदि तथा टिभीहरुमा पनि यस्ता समाचारहरु आइएसके । सरकारको कानको आँखाको उपचार गर्नुपर्यो ।”
लकडाउन खोल्दा पनि अब त मजदूरको रोजगारको ग्यारेन्टी हुने कुनै छाँट छैंन । अफिस सञ्चालन गर्ने साहूहरु भित्रभित्रको सस्तो कोठामा अफिसका सबै समानहरु थन्क्याएर बेपत्ता भइसके । अनौपचारिक तथ्याङ्कअनुसार आजसम्म ८० जना खाना खान नपाई मरिसके । कोरोनाको तथ्याङ्कमा व्यस्त अनि सर्पलाई अवौँ रुपियाँ लगानी गरेर सरकार पुरै उदाङ्गिसकेको छ ।
मौलिक हक भनी संविधानमा स्पष्ट लेखिएको “नागरिकको बाँच्न पाउने हक” नै मौलिक हकअन्तर्गत पर्दछ । यसरी “अब जनताहरु कोही पनि भोकै पर्ने छैनन् । जनताको भोक समाधानको ग्यारेन्टी म दिन्छु ।” भन्ने प्रधानमन्त्रीको यो ठट्टाले सबै हाँस्यकलाकारहरुलाई धरै पछि पारिसक्यो ।
राजधानीको यस्तो हालत छ भने मोफसलको, दूरदराजको हालत झन् कस्तो होला ? अबको कुनै पनि काम यदि सरकारले गर्नु छ भने सबभन्दा पहिलो प्रथमिकता भोको पेटलाई दिऊँ । यसप्रति शीघ्रातिशीघ्र ध्यान दिइयोस् ।
२०७७ भदौ २६
बिजु सुवेदी विजय
प्रतिक्रियाका लागि bijusubedi@gmail.com
