
मान्छेको जातमा यौटा यस्तो हुन्छ विशेषता
पशु गर्दैन अन्याय मान्छे गर्छ जता तता ।।
अन्याय गर्न के चुक्थ्यो बटुल्दा धनका बिटा
उसैको मुखमा पर्छन् उसैका पापका छिटा ।।
संसारै निलूँला जस्तो गरेर मुख बाउँछ
पहिले गल्ती त्यो गर्छ अनि त्यो पछुताउँछ ।।
पापका बोझले एक्लै लत्रेर सुँक्सुकाउँछ
लुकी मन्दिरमा एक्लै अनि त्यो गिड्गिडाउँछ ।।
मुखमा रामको नाम कोखमा धारिलो छुरा
दैवले पनि जान्दैनन् मान्छेको मनका कुरा ।।
होम सुवेदी
