Skip to content


खानै पर्दछ रे म खान्न जनको पैसा भने तापनि
आफ्नै भाषणमा रमाउनु अरे साँचो नबोले पनि ।
आफ्नै मात्र दुनो सिधा बनिरहोस् संसार जेजे हुँदा
स्वार्थी दानवझैँ कुकर्म मतिको नेता नबन्ने म ता ।।

सारा देश म हाँक्छु लौ सकल हो नारा लगाओ भनी
आफू साँठ र गाँठ गर्नु जहिले विश्वास घाती बनी ।
यस्तो घातक कर्म मग्न मनले गर्दो छ हर्दम् उता
पैसा खातिर धर्मकर्म मिचुवा नेता नबन्ने म ता ।।

कैले बस्नु अरे खुला सडकमा कैले सभा गोष्ठीमा
आफ्नै स्वार्थ बढाउने तरहले पार्नु अरे मुष्ठिमा ।
के हो देश ? कहाँ छ दुःख जनको ? छोडेर अन्तै सदा
ठूलो ठालु हुने, विदेश डुलुवा नेता नबन्ने म ता ।।

आफ्नै मात्र चलोस् सुनाम जगमा मेरै गरुन् चाकरी
भन्दै माथि बसेर भाटमतिको गर्ने कुरा मनपरी ।
जालीका जगमा र भ्रष्टसँगमा सामिप्य राखी सदा
भोभो घातक, दुष्ट, मूढमतिको नेता नबन्ने म ता ।।

-जुरोपानी-४, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *